भन्सार नाका पार गरेर भारत लैजाँदै गरेकाे १२ टन मरिच बरामद

भूषण यादव

वीरगन्ज — मुलुकमा आयात निर्यात हुने प्रमुख नाका वीरगन्ज भन्सारबाटै मरिच भारत तस्करी भएको पाइएको छ । विशेष सुचनाको आधारमा पर्सा प्रहरीले सोमबार राति भन्सार गेट पार गरेर भारततर्फ गइरहेको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ठूलो परिमाणमा मरिच बरामद भएको हो । 

भन्सार नाका पार गरेर भारत लैजाँदै गरेकाे १२ टन मरिच बरामद

युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय र इनर्वा प्रहरी चौकीको टोलीले शंकराचार्य गेट नजिकैबाट नियन्त्रणमा लिएको थियो । ट्रकबाट १२ टन भन्दा बढी मरिच बरामद भएको छ ।


वीरगन्ज भन्सार गेट पार गरेर दक्षिणतर्फ गइरहेको उक्त ट्रकलाई वीरगन्ज र भारतको रक्सौल जोड्ने मितेरी पुल अगाडिबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक रेवती ढकालले भारतीय नम्बरको ट्रकमा मरिच लोड गरी मुख्य नाकाबाटै भारत लगिरहेको सूचना आएको बताए । सूचनाकै आधारमा प्रहरीले नाकामा प्रत्येक भारतीय गाडीको चेकजाँच गरेको थियो । उक्त ट्रकबाट १२ टन दुइ सय किलो मरिच बरामद भएको एसपी ढकालले बताए । ‘युपी र झारखण्ड नम्बरको १० चक्के ट्रकमा मरिच लोड भएर भारततर्फ गइरहेको सूचना आएको थियो,’ एसपी ढकालले भने, ‘मरिच लोड भएको ट्रक नियन्त्रणमा लिन नाकामा प्रहरीले विशेष निगरानी बढाएको थियो ।’ भारतको उत्तर प्रदेश कानपुर जिल्लाका बासिन्दा ट्रकचालक धर्मेन्द्र कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । एकदिन अगाडि आलु लिएर आएको ट्रकमा फर्कने बेला छाला भनेर मरिच लोड गरिएको चालकले बताएका छन् ।


वीरगन्जको बाइपास रोडमा अर्को ट्रकबाट मरिचको बोरा लोड गरिएको उनले प्रहरीलाई बयान दिएका छन् । ‘भारतको कुन सहरमा सामान अनलोड गर्ने कुनै जानकारी चालकलाई दिइएको थिएन्,’ चालकको भनाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘पारि रक्सौल पुग्ने बित्तिकै कुनै व्यक्तिले चालकलाई सम्पर्क गर्ने कुरा थियो ।’ नेपालबाट भारततर्फ जाने मालवाहक सवारी होस् वा कुनै खाली भारतीय गाडी भन्सार गेट पार हुनु अगाडिनै भन्सारका कर्मचारी र सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने गरेको छ । वीरगन्ज भन्सारका प्रवक्ता सन्तोष यादवले मरिच लोड भएको उक्त गाडी कसरी भन्सार गेट पार गर्‍यो भन्ने विषयमा छानबिन गर्न समिति बनाएको बताए । ‘समितिले छानबिन गर्दैछ,’ कान्तिपुरसँग उनले फोनमा भने, ‘अहिले नै केही भन्ने अवस्था छैन्, कहाँ कमजोरी भयो त्यो छानबिन पछि थाहा हुन्छ ।’


वीरगन्जबाट रक्सौलमात्र पुर्‍याइदिए तेब्बर बढी मूल्यमा मरिच बिक्री हुने भएकाले व्यापारीले तेस्रो मुलुकबाट मरिच नेपाल भित्र्याई खुल्ला नाकाबाट भारततर्फ पठाउँदै आएका छन् । सम्बद्ध कारोबारीका अनुसार वीरगन्जमा ६ सय रुपैयाँ पर्ने एक किलो मरिचको रक्सौलमा एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँ पर्छ । पछिल्लो १० महिनायता प्रहरीले १८ टन मरिच भारततर्फ तस्करी हुने क्रममा बरामद गरेको छ । मरिच ढुवानी गर्ने एक थान १० चक्के ट्रक, दुइवटा ट्रयाक्टर, एउटा मोटरसाइकलसहित ८ जनालाई नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?