३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राजपाको वैधानिकता ‘संकटमा’

६ दल एकीकरण भएर बनेको राजपाले असारभित्रै महाधिवेशन गर्नुपर्छ
घनश्याम खड्का

काठमाडौँ — आफैंले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिति उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधान खोज्न गृहकार्य सुरु गरेको छ । मधेसकेन्द्रित ६ वटा दल एकीकृत भई बनेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो ।

राजपाको वैधानिकता ‘संकटमा’

दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्षमण्डलको बैठक मंगलबार बसेको थियो । ‘हामीले सबै समसामयिक विषयमा छलफल गर्‍यौं,’ अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले कान्तिपुरसँग भने, ‘भोलि (बुधबार) पनि बैठक बस्नेछ र आवश्यक निर्णय हुनेछ ।’ उनले आगामी महाधिवेशनसम्मका लागि पार्टीको विधान बनाउने मुख्य एजेन्डामा छलफल भइरहेको जानकारी दिए । विधान तयार पारेपछि बढीमा ६ महिनाभित्र महाधिवेशन गर्ने राजपाको तयारी छ ।


गत वर्ष असार २३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्तिक पार्टी (तमलोपा), राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकीकरण भई निर्वाचन आयोगमा राष्ट्रिय जनता पार्टी दर्ता भएको थियो । आयोगले असार ३० गते राजपालाई नयाँ दलका रूपमा मान्यता दिएको थियो ।


नयाँ दलमा अध्यक्ष को हुने भन्ने तय हुन नसक्दा एक वर्षभित्र महाधिवेशन गरेर टुंगो लगाउने र त्यतिन्जेल ६ दलकै नेताको संयुक्त अध्यक्षमण्डलले पार्टीको नेतृत्व गर्ने तय भएको थियो । ‘असार ३० गते त्यो मिति पुग्छ तर आफैंले दिएको समयभित्र महाधिवेशन गर्न सकेनौं,’ महतोले भने, ‘अब छिट्टै निकट भविष्यमै महाधिवेशन गर्ने र त्यो समयसम्मका लागि विधान बनाउने जिम्मेवारी आएको छ ।’


राजपा महासचिव केशव झाका अनुसार महाधिवेशन प्रयोजनका लागि विधान बनाउन बैठक बसेको हो । ‘नयाँ दलका रूपमा दर्ता हुँदा राजपाले केही पाना अन्तरिम विधान ल्याएको थियो,’ उनले भने, ‘त्यसमा महाधिवेशन गर्न आवश्यक पार्टीको क्षेत्रीय, जिल्लागत र स्थानीय समिति गठनका लागि व्यवस्था थिएन । त्यसैले अहिले नयाँ विधानको मस्यौदा बनेको छ र त्यसमाथि दफावार छलफल भइरहेको छ ।’


दलको विधानसँगै संसदीय दलको विधान बनाउने काम पनि बैठकले गर्नेछ । विधान बनेलगत्तै संसदीय दलको नेता चुनिनेछन् । राजपाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार यही २५ गते पार्टीको सचिवालय बैठक बसेर संसदीय दलको विधान पारित गर्नेछ ।


संघीय समाजवादी फोरम सरकारमा सामेल भएपछि र नेकपासँग एकीकरणसमेत हुने चर्चा चलेपछि प्रदेश २ मा सरकार परिवर्तन हुनसक्ने अडकलबाजीलाई भने राजपाले छलफलको विषय नबनाइएको जनाएको छ । ‘हाम्रो समर्थन रहिरहनेछ, फोरम सरकारमा जाँदैमा प्रदेश सरकार परिवर्तन हुँदैन,’ महतोले भने ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?