कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दशअवतार मन्दिरमा मौलिकता मासिँदै

पुनर्निर्माण
दामोदर न्यौपाने

काठमाडौँ — संरक्षण सिद्धान्तले भन्छ, सम्पदा जस्ताको तस्तै आउँदो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । प्राचीन स्मारक ऐनले पनि संरक्षण भन्नाले ‘संरक्षित स्मारकलाई बार्ने, ढाक्ने, मर्मत गर्ने, सफा राख्ने समेतको प्रबन्ध गरेर स्मारकलाई मौलिक रूपमा दुरुस्त राख्ने काम सम्झनुपर्छ’ भनेर परिभाषित गरेको छ ।

दशअवतार मन्दिरमा मौलिकता मासिँदै

तर यही ऐन कार्यान्वयन गराउने सरकारी निकाय पुरातत्त्व विभागले बनाएका कतिपय स्मारक मौलिक रूपले दुरुस्त छैनन् ।


आधुनिक निर्माण सामग्रीको अन्धाधुन्ध प्रयोगका कारण प्राचीन सम्पदाका मौलिकता मासिएका हुन् । यसको पछिल्लो उदाहरण हो, वसन्तपुरको दशअवतार (त्रैलोक्य मोहन) मन्दिर । विभागले मन्दिरमा मापदण्डविपरीत माथिल्लो भागमा ढुंगा र सिमेन्ट प्रयोग गरेर गाह्रो लगाएको छ । ठेकेदारले गरेको यो कामको विभागले अनुगमन गरेको छैन ।


सम्पदाप्रेमी शैलेश राजभण्डारीले मन्दिरमा मापदण्डविपरीत ढुंगा र सिमेन्ट प्रयोग भएको जानकारी विभागलाई दिएको बताए । ‘मैंले यहींबाट पुरातत्त्व विभाग लगायतका निकायलाई मोबाइलबाट सन्देश पठाएँ,’ उनले भने, ‘यहाँ धमाधम सिमेन्टको जडान लगाएर ढुंगाको गाह्रो लगाइएको रहेछ ।’ मन्दिरमा पहिले ‘माँ–आप्पा’ प्रयोग भएकोमा अहिले ढुंगा प्रयोग भएको छ । वरिपरि ठूला ढुंगा राखिएका छन् ।


‘उनीहरूले ढुंगा राखेर प्लास्टर गर्न खोजेका छन्, यो त अति भयो,’ सम्पदाविज्ञ पद्मसुन्दर जोशी भन्छन्, ‘आवश्यकताअनुसार कतै कति जगमा त ढुंगा राख्नुपर्ने हुन सक्छ । माथि गाह्रोमै यसरी प्रयोग गर्न पाइँदैन । यो पुरातत्त्वको अति लापरबाही हो ।’ सम्पदा निर्माणमा प्राचीन समयदेखि नै इँटा प्रयोग हुँदै आएका छन् ।


हिमालीबाहेक मध्य पहाडी र तराई क्षेत्रमा मन्दिर बनाउँदा इँटाको प्रयोग अधिक भएको सम्पदाविद् विष्णु कार्की बताउँछन् । साधारणत: सम्पदामा काँचो र पोलेको गरेर दुई खालका इँटा प्रयोग भएका छन् । दशअवतार मन्दिरमा पोलेका इँटा प्रयोग भएका छन् । परम्परागत पद्धतिबाट इँटा पोल्ने प्रविधि निकै प्राचीन भएको कार्की बताउँछन् । पोलेका इँटा साधारण र कलात्मक गरेर दुई प्रकारका हुन्छन् । तीमध्ये यो मन्दिरको गाह्रो निर्माण गर्न साधारण इँटा प्रयोग भएका छन् ।


विभागले २०७३ भदौमा ३ करोड ७५ लाख ९ हजार रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । २०७५ असोज मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने गरी यसको ठेक्का प्राकृतिक सानो सुवाल (एसपी जेभी) ले पाएको छ । टेन्डर परेको ६ महिनासम्म पनि पुनर्निर्माण सुरु भएको थिएन । ढिला गरी गतवर्षमात्र पुनर्निर्माण सुुरु भयो । निर्माणका क्रममा पहिले चारैतिर घेरिएकोमा स्थानीयवासीको विरोधपछि काम रोकिएको थियो ।


ठेक्कामा काम दिन नहुने भन्दै मन्दिरका पुजारी दीपक श्रेष्ठलगायत मन्दिरमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । पहिला आन्दोलनमा उत्रिएका मन्दिरका पुजारीले अहिले मापदण्डविपरीत मन्दिर निर्माण भएपछि भने प्रतिक्रिया जनाएका छैनन् । ठेक्कामा दिँदा ठेकेदारले कमसल निर्माण सामग्री हालिदिने र सम्पदा नासिने संस्कृतिविद् तथा स्थानीयले बताउँदै आएका छन् । ‘दशअवतारको निर्माण ठेकेदारले सम्पदा बनाउन सक्दैनन् भन्ने उदाहरण फेरि दिएको छ,’ सेभ नेपाल भ्यालीका सुरज महर्जन भन्छन्, ‘मन्दिर बनाउन विज्ञ राख्नुपर्छ ।


विज्ञलाई मात्रै काम जिम्मा दिनुपर्छ भनेर हामीले राख्दै आएको माग फेरि पुष्टि भएको छ । ठेकेदार मन्दिरका विज्ञ होइनन् । उनीहरूले आकार मिलाउन मात्रै खोज्छन् । त्यसो गरेर मात्र
सम्पदा बन्दैनन् ।’


सांस्कृतिक महत्त्व

यो मन्दिर काठमाडौंको मुख्य पर्व इन्द्रजात्राका बेला ८ दिन मात्रै खुल्छ । त्यति बेला मन्दिरको डबलीमा देवगणले दशअवतार नृत्य देखाउँछन् । मन्दिरमा सबैले दर्शन गर्नु हुँदैन भन्ने मान्यता छ । ०७२ वैशाख १२ गतेको भुइँचालोले मन्दिर भत्काइदिएपछि यहाँभित्रको नारायण मूर्ति सबैका लागि खुला भएको छ । नारायणको प्रस्तर यो मूर्ति देशैभरका नारायणका मूर्तिमध्ये उत्कृष्ट मानिन्छ । नारायणबाहेक लक्ष्मी, हनुमान, महावीर तथा भगवतीको पनि मूर्ति छन् । यी सहायक मानिन्छन् ।


मन्दिरका तीन सिढीमा दशअवतार नाच देखाइन्छ । पार्थिवेन्द्र मल्लले पिता नृपेन्द्र मल्लको स्मृतिमा सन् १६८० मा यो बनाएका हुन् । राजमाता ऋद्धिलक्ष्मी मल्लले सन् १६८९ मा निर्माण गर्न लगाएको गरुडको मूर्ति मन्दिर पछाडि छ । दशअवतार मन्दिरको उत्तरपूर्वमा ‘नछुने डबली’ छ । यहाँ जसले छोयो उसैले पानी ल्याएर सफा गर्नुपर्ने परम्परा रहेको श्रेष्ठ बताउँछन् । यो डबलीमा छोयो भने मरुदेवलमा लगिन्छ । त्यहाँबाट पानी ल्याएर पखाल्न लगाइन्थ्यो ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?