कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद तालिमको खाना खर्च दाताको नाममा, सभामुख र अध्यक्षले गरे ढाकछोप 

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय प्रक्रियाको जानकारी दिने तालिममा दाताको लगानी नभएको ढाकछोप गरे पनि राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले सहभागी सांसदलाई प्रति व्यक्ति खाना–खाजा बापत दैनिक १ हजार सात सय रुपैयाँ खर्च गरिरहेको पाइएको छ । 

सांसद तालिमको खाना खर्च दाताको नाममा, सभामुख र अध्यक्षले गरे ढाकछोप 

बुधबदेखि सुरु भएको तालिम दिनका लागि संसद सचिवालयसँग साढे ३७ लाख बजेट भए पनि युएनडीपीको खर्चमा सांसदहरुलाई तालिम सुरु भएको हो । तालिम बिहीबारसम्म चल्नेछ । दाताको बजेटमा तालिम सञ्चालन गरिएको भन्दै केही सांसदहरु अनुपस्थित भएका छन् ।


बानेश्वरको अल्फा हाउसको रेष्टुरेन्टबाट बिहान खाजा, दिउँसो खाना र चिया–कफी सम्मेलन केन्द्रमै उपलब्ध गराएर तालिम भइरहेको छ । रेष्टुरेन्ट स्रोतका अनुसार हरेक दिन यूएनडीपीले चारसयजनालाई खाना–खाजाको अर्डर गरेको छ ।


यूएनडीपीले एकजनाको खाना र खाजा बापत १ हजार ५ सयमा भ्याट जोड्दा १ हजार ६ सय ९५ रुपैयाँ खर्च बेहोर्ने रेष्टुरेन्ट स्रोतले जानकारी दिएको छ ।


‘यूएनडीपीसँगको वार्षिक सम्झौता अनुसार यसपटक पनि तालिममा सहभागी माननीयहरुलाई खाना र खाजाको अर्डर भएको हो,’ स्रोतले भन्यो, ‘यो खर्च संसद सचिवालयले दिने होइन ।’


दुई दिनको खाना र खाजामा मात्रै साढे १३ लाखभन्दा बढी खर्च हुन अनुमान गरिएको छ । सांसदहरुलाई दिने भत्ता, झोलासहितको स्टेशनरी र प्रशिक्षकलाई भत्ता समेत यूएनडीपीले नै ब्यहोर्ने सचिवालयसँग सहमति भएको स्रोतले दाबी गरेको छ । सचिवालय स्रोतका अनुसार यो तालिममा यूएनडीपीले झण्डै २५ लाखभन्दा बढी खर्च गर्न लागेको छ ।


संसद सचिवालयको स्वीकृत कार्यक्रमा संघीय संसदका ३ सय ३४ सांसदलाई तालिम दिन संसदीय प्रशिक्षण–२२५२२ शीर्षकमा ३७ लाख ५० हजार बजेट विनियोजन समेत गरिएको छ ।


यस बाहेक संघ, प्रदेश र स्थानीय तहमा नुमना संसदीय अभ्यास कार्यक्रममा ७० लाख ६० हजार बजेट विनियोजन गरिएको छ । यति धेरै रकम सचिवालयसँग हुँदा हुँदै दाताको लगानीमा सांसदलाई तालिम दिइरहेको भन्दै आलोचना भइरहेको छ ।


दुई दिनसम्म चल्ने तालिममा नौजना प्रशिक्षकले प्रशिक्षण दिने छन् ।


सचिवालयका सचिव हिमलाल सुवेदीले संघीय संसद सचिवालयको आधारभूत जानकारी, अच्युत वाग्लेले संघीय संरचना र संसदको भूमिका, पूर्व सचिव कमलशाली घिमिरेले संसदमा विधेयक दर्ता हुनु अगाडिको कानुन मस्यौदा र विधेयक प्रस्तुत प्रक्रिया, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन तर्जुमाको सैद्धान्तिक पक्ष र विधेयकको ढाँचाको बारेमा सांसदहरुलाई जानकारी दिने छन् ।


योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बजेट निर्माण र वित्तिय अनुगमनमा संसदको भूमिका, पूर्व संविधानसभा सदस्य लालबाबुप्रसाद यादवले संसद र नागरिकको सम्बन्ध एवं सदस्यहरुको आफ्नो निर्वाचन क्षेत्रसँगको सम्बन्धको बारेमा सांसदलाई जानकारी दिने कार्यक्रम तय गरिएको छ ।


सचिवालयका सचिव विरेन्द्रबहादुर कार्कीले संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कांग्रेस नेता रमेश लेखकले कानून निर्माण, सरकारका काम कारबाहीको अनुगमनमा संसदीय समितिको भूमिकामा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माण, संसद र संसदीय अभ्यासको बारेमा जानकारी दिने कार्यक्रम तय गरिएको छ ।

सभामुख र अध्यक्षद्वारा यूएनडीपीको ‘बचाउ’

तालिम सञ्चालनअघि नै सांसदहरुले तालिममा दाताको लगानीको प्रश्न उठाएपछि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नै खर्चमा कार्यक्रम गरेको भन्दै ढाकछोप गरे । कान्तिपुरमा यस विषयमा आएको समाचार झुटो भएको भन्दै दुवैजनाले सांसदहरुलाई आश्स्वत पार्न खोजेका थिए ।

उद्घाटन सुरु हुनुअघि नै सांसद राजेन्द्र लिङदेनले कसको लगानीमा तालिम सञ्चालन भएको भन्ने प्रश्न उठाएका थिए । दुई दिने तालिम सञ्चालनको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महाराले सांसदलाई वितरण गरिएको झोला प्राविधिक सहयोग मात्रै यूएनडीपीले दिएको भन्दै अन्य खर्चको डाकछोप गरे ।


‘यो कार्यक्रम यूएनडीपीको खर्चमा भएको भनेर केही पत्रपत्रिकामा प्रश्न उठाइएको छ । त्यस्तो होइन । आफ्नै वार्षिक बजेट भित्रको खर्चबाट भइरहेको छ,’ उनले भने, ‘उसले ब्यागमात्रै दिएको हुनसक्छ ।’

तर, यूएनडीपीले बानेश्वरको अल्फा हाउसबाट खाना, खाजाको चारसय जनालाई अर्डर गरिएको विवरण कान्तिपुरलाई प्राप्त भएको छ ।


सभामुख महरा मात्रै होइन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले समेत छापिएको समाचार सत्यता नभएको भन्दै यूएनडीपीले गरेको खर्च बचाउ गरे । ‘हामीले पारित गरेको बजेट मध्येको संसद सचिवालयबाट खर्च गर्ने रकमबाट यो तालिम सञ्चालन गरिएको हो,’ उनले भने, ‘माननीयहरुले कुनै भ्रम पाल्नु पर्ने छैन । संयुक्त राष्ट्र संघको हामी सबै सदस्य हौं । सबैको सहयोगबाट नै राष्ट्रको बजेट बन्छ । त्यही बजेटबाट यो चलेको हुँदा यसलाई अन्यथा लिनु जरुरी छैन ।’


बैठक चल्नु अघि सभामुख र अध्यक्षले बुधबार ‘दाताको लगानीमा सांसदलाई तालिम’ भन्ने कान्तिपुरमा छापिएको समाचारको विषयमा सचिवालयका कर्मचारीसँग जानकारी लिएका थिए । उनीहरुले समाचारमा छापिएजस्तै यूएनडीपीसँग भएको सम्झौता अनुसार तालिम सञ्चालन खर्चमा गर्न लागेको जानकारी गराएका थिए ।


बैठक सुरु हुनु खाजा खाने बेलामा सांसदहरुबीच यस विषयमा एक आपसमा भएको छलफल र लिंङदेनले प्रश्न उठाएपछि सभामुख महरा र अध्यक्ष तिमिल्सिनाले समेत युएनडीपीको बचाउ गरेका हुन् ।


सभामुख महराले निर्वाचन सकिए लगत्तै आयोजना गर्नुपर्ने अभिमुखिकरण कार्यक्रम सञ्चालनमा ढिलाई भएपनि फलदायी हुने बताए । सांसदलाई जनताले सृजनात्मक भएको देख्न चाहने भएकोले सक्रिय हुन आग्रह गरे । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले संसद भित्रका गतिविधीमा सांसदको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अभिमुखीकरण लाभदायी हुने बताए ।


कानुन मन्त्री शेरबहादुर तामाङले असोज २ सम्म बनिसक्नु पर्ने कानुनको मस्यौदा अन्तिम चरणमा रहेको सांसदहरुलाई जानकारी गराए । ‘अब कानुन निर्माण र संसोधनको प्रक्रियामा आफूलाई तयारी अवस्थामा राख्नुहोला,’ उनले भने, ‘सरकारले ल्याएको कानुन हुन्छ हुन्न भनेर पारित गर्नु भन्दा अघि ध्यान दिएर अध्ययन गरिदिनुस् ।’


सचिवालयका महासचिव मनोहर भट्टराईले प्रशिक्षणमा संसद सचिवालय सम्बन्धी आधारभूत जानकारी देखि बजेट निर्माणसम्मको प्रक्रियाबारे सांसदहरुलाई जानकारी दिने बताए । तालिमले परिस्कृत र प्रभावकारी कानुन बनाउन यो तालिमले सहयोग गर्ने बताए ।


प्रकाशित : जेष्ठ २३, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?