लामोसाँघु–जिरी सडक: काम नगर्ने ठेकेदार पक्राउ

अनिश तिवारी

सिन्धुपाल्चोक — सम्झौता अवधि नाघ्दा पनि लामोसाँघु–जिरी सडक स्तरोन्नतिको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । खिम्ती निर्माण कम्पनीका प्रोप्राइटर धर्मराज भण्डारी (भीमसेन) लाई बुधबार चौतारा बजारबाट नियन्त्रणमा लिइएको हो ।

लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको ठूलोधादिङ खण्ड । तस्बिर : अनिश

उनी करिब चार महिनादेखि काम अलपत्र छाडेर सम्पर्कविहीन थिए । खिम्तीले बलेफी गाउँपालिकाको खाडीचौर बजारदेखि मुढेसम्म २५ किलोमिटर सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको थियो ।

प्रतिबद्धताअनुसार काम नगरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । ‘काम नसकी बेपत्ता भएका भण्डारीको खोजी गरिरहेका थियौं,’ उनले भने । निर्माण कम्पनीको लापरबाहीका कारण लामोसाँघु–जिरी सडकखण्डमा सुरुदेखि नै कामले गति लिन सकेको थिएन । खनेर अलपत्र छाडिएपछि सडक अहिले झन् जीर्ण हुन पुगेको छ । एक्जिम बैंक अफ इन्डियाको लगानीमा सरकारले स्तरोन्नति गरिरहेको सडक सम्झौताअनुसार ०७४ असार मसान्तमै तयार भइसक्नुपथ्र्यो ।

Yamaha

खाडीचौरदेखि मुढेसम्म सुनौलो खिम्तीको मुख्य जिम्मेवारीमा भारतीय निर्माण कम्पनी हिमाञ्चल र नेपाली कम्पनी गौरीपार्वतीले साझेदारीमा काम गर्दै थिए । खिम्तीले करिब ५० प्रतिशत मात्रै काम सकेको छ । सडकको नबन्दा चरिकोट, जिरी जाने कतिपय यात्रुहरू धुलिखेल, खुर्कोट, मन्थली हुँदै लामो बाटो प्रयोग गर्न बाध्य छन् ।

उक्त सडक बने दोलखा, रामेछापदेखि जिल्लाको लिसंखुपाखर गाउँपालिकासम्मका यात्रुलाई सहज हुनेछ । खाडीचौरबाट सुरु हुने दोलखा, चरिकोटसम्मको ५५ किमि सडक निर्माणाधीन अवस्थामा छ ।

हिलो र खाल्डाका कारण दिनहुँजसो दुर्घटना र जाम भइरहने गरेको जिल्ला ट्राफिक प्रमुख उपेन्द्र बुढाथोकी सुनाउँछन् । ‘जीर्ण सडककै कारण रातदिन यस्ता घटना भइरहेका छन्,’ उनले भने । क्षतिग्रस्त स्थान मर्मत गरिदिए मात्रै पनि दुर्घटना र जाम कम हुने स्थानीयको भनाइ छ । दुई प्याकेजमा भइरहेको सडक विस्तारको पहिलो खण्ड जिम्मा लिएको ठेकेदार कम्पनीले गत भदौमा एक सातासम्म काम ठप्प पारेको थियो ।

कम्पनीले अहिले अहिले सडक चौडा र फराकिलो बनाउने काम भइरहेको जनाएको छ । ‘यो खण्डमा अहिलेसम्म ५५ प्रतिशत मात्रै काम सकिएको छ,’ आयोजना प्रमुख केदार नेपालले भने । यो खण्डको लागत ३९ करोड रुपैयाँ छ । आयोजना प्रमुख नेपालका अनुसार दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको सडक पनि निर्माणकै चरणमा छ । फागुन मसान्तसम्म सक्नुपर्ने सडक विभिन्न कारणले अड्काएको उनले प्रस्ट्याए ।

३० किमि दूरीको यो खण्डमा भारतीय कम्पनी सकिल हैदरसँगको साझेदारीमा नेपाली कम्पनी शंकर मालीले काम गरिरहेको छ । कुल ७० करोड लागत रहेको लामोसाँघु जिरी सडक आयोजनाको ५० प्रतिशत काम सम्पन्न नेपालले जानकारी दिए ।

Esewa Pasal

प्रकाशित : जेष्ठ २४, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

बाँदर नियन्त्रण गर्न ३० लाख !

गाउँसभामा संकल्प प्रस्ताव पारित
बाँदर समात्न गाउँकै युवालाई तालिमसहित रोजगारी दिइने
अगन्धर तिवारी

पर्वत — बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।

सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेस गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए । ‘किसानको मागका आधारमा संकल्प प्रस्ताव आएको हो,’ उनले भने, ‘शतप्रतिशतबाट पास भयो । अब कार्यान्वयन चरणमा जान्छौं ।’ महाशिलाका सबै वडामा बाँदरले हैरान पारेपछि किसानले पनि नियन्त्रणको माग गर्दै आएका थिए ।

भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पारेको किसानले बताएका छन् । ‘कुनै सिजनको बाली भित्र्याउनै पाइँदैन,’ महाशिला ५ का कृष्णप्रसाद अधिकारीले भने, ‘फलफूलमा फल लाग्नै पाउँदैन । चिचिलै मासिदिन्छ ।’

महाशिलाको साढे ४९ वर्गकिमि क्षेत्रफलमध्ये करिब २५ वर्गकिमि खेतीयोग्य जमिन छ । केही वर्षयता बाँदर आतंककै कारण कतिपयले बाली लगाउन छाडेका छन् । ‘बाँदर आतंक बढेपछि किसानले बाली लगाउनै छाडे,’ ५ नम्बर वडाध्यक्ष जीवनविक्रम उचैठकुरीले भने, ‘बाँदरकै कारण जमिन बाँझिएपछि संकल्प प्रस्ताव ल्याएका हौंं ।’ गाउँसभाले प्रस्ताव गरेको ३० लाख बजेटबाट बाँदर नियन्त्रण गर्न व्यवस्थित खोर बनाइनेछ । वडैपिच्छे बनाइएका खोरमा गाउँपालिकाले बाँदर समातेर राख्ने व्यवस्था मिलाउनेछ ।

गाउँपालिकाले सुरु गरेको एक घर, एक रोजगार कार्यक्रममार्फत तालिमप्राप्त युवालाई बाँदर समात्न खटाउने योजना गाउँसभाले तय गरेको छ । यसका लागि युवालाई विशेष तालिम दिइँदै छ । यो कार्यक्रमबाट बाँदर आतंक हट्ने मात्रै नभई युवालाई रोजगारीसमेत मिल्नेछ । गाउँसभाले आगामी वर्ष एक हजार बाँदर समात्ने योजना बनाएको छ । ‘बाँदर केही दिन खोरमा राखेर राष्ट्रिय निकुञ्जमा पठाइन्छ,’ वडाध्यक्ष उचैठकुरीले भने, ‘प्रदेश र केन्द्र सरकारसँग कुरा हुँदैछ । निकुञ्जमा उपहारस्वरूप पठाउने हो ।’ एक हजार बाँदर नियन्त्रणमा लिँदा पनि समस्या समाधान नभए आगामी वर्ष थप बजेट निकासा गरिने अध्यक्ष पौडेलले बताए । ‘मानिस र वन्यजन्तु बीचमा द्वन्द्व नबढोस् भन्ने मुख्य ध्येय हो,’ उनले भने । गाउँसभाको यो निर्णयको किसानले स्वागत गरेका छन् । ‘निर्णय कार्यान्वयन हुनुपर्‍यो,’ किसान गमबहादुर केसीले भने, ‘कार्यान्वयन भए धेरै राहत हुन्थ्यो ।’

मदिरा नियन्त्रण र विधेयक पारित
गाउँसभाले मदिरा नियन्त्रणको संकल्प प्रस्ताव पनि पारित गरेको छ । स्थानीय समुदायलाई पुख्र्यौली संस्कारबाहेकमा मदिरा प्रयोग निषेध गरिने प्रस्ताव पारित भएको हो । गाउँमा हुने अपराध र घरेलु हिंसा रोक्न यो प्रस्ताव पारित गरिएको अध्यक्ष पौडेलले बताए । यसका लागि ६ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । आगामी असोजदेखि मदिरा नियन्त्रण प्रस्ताव पूर्णरूपमा कार्यान्वयनमा ल्याउने गाउँसभाको निर्णय छ । सभाले स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न आठवटा विधेयक पारित गरेको छ ।

प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५, कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७५ पारित गरिएको हो । न्यायिक समितिले उजुरीको कारबाही किनारा लगाउँदा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सहकारी ऐन, २०७५, स्थानीय शिक्षा ऐन, २०७५, पूर्वाधार व्यवस्थापन ऐन, २०७५, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन,२०७५ सर्वसम्मत रूपमा पारित गरेको हो । स्थानीय सेवा ऐन, २०७५ पुन: छलफलका लागि पठाइएको छ । संविधानअनुसार स्थानीय तहले विभिन्न २२ वटा कानुन बनाउनुपर्नेछ ।

प्रकाशित : जेष्ठ २४, २०७५ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT