कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याच फिक्सिङमा ६ खेलाडीलाई सफाइ

कृष्ण ज्ञवाली

काठमाडौँ — म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका ६ खेलाडीले अढाइ वर्षपछि विशेष अदालतबाट सफाइ पाएका छन् । अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरू प्रमोदकुमार वैद्य श्रेष्ठ र नारायणप्रसाद पोख्रेलको इजलासले बिहीबार उनीहरूविरुद्धको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेको हो ।

म्याच फिक्सिङमा ६ खेलाडीलाई सफाइ

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, खेलाडीहरू सन्दीप राई, अञ्जन केसी, रितेश थापा, विकाससिंह क्षेत्री र डेजिव थापाले सफाइ पाएका हुन् । प्रहरीले राज्यविरुद्ध अपराधको आरोपमा उनीहरूलाई हदैसम्म कारबाही माग गरी २०७२ साल कात्तिक २२ गते मुद्दा दायर गरेको थियो । फैसलाको रायकिताबमा भनिएको छ, ‘आरोपितले राज्यविरुद्ध अपराध र सजाय ऐन–२०४६ को दफा ३ अनुसार राष्ट्र विप्लवको कसुर गरेको नदेखिएको हुँदा आरोप दाबी पुग्न सक्दैन ।’ उनीहरूले सन् २००८ यताका २२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेर पैसा लिएको आरोप लागेपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो । ‘हरेक खेलमा नेपाललाई शून्यले हराउन उनीहरू सहमत भएको देखिएको छ र तदनुसार नेपालले हारेको पनि देखिन्छ,’ आरोपपत्रमा भनिएको छ, ‘एक खेलमा हारेबापत प्रतिखेलाडी ५ हजार अमेरिकी डलरसम्म लिने गरेको बैंक स्टेटमेन्टले देखाएको छ ।’


म्याच फिक्सिङ सम्बन्धमा कानुन नभए पनि खेलाडीको कसुर अक्षम्य भएकाले राज्यविरुद्ध अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले तयार पारेको थियो । देशको झन्डा बोकेर तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने खेलाडीले व्यक्तिगत स्वार्थ पूर्ति गर्न विदेशी संगठित म्याच फिक्सरसँग मिल्नु राज्यविरुद्ध अपराध हुने दाबी आरोपपत्रमा थियो । हरेक खेलमा नेपालले हार्दै गएपछि र उनीहरूका गतिविधि शंकास्पद देखिएपछि एसियाली फुटबल महासंघले जाँचबुझ सुरु गरेको थियो । त्यसमा दोषी देखिएपछि महासंघले आवश्यक कागजातसहित पठाएको पत्रका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सिंगापुरका कुख्यात म्याच फिक्सर टिटानी पेरिआसमी र केसभान पट्टानलगायतसँग मिलेर पैसा लिने गरेको र त्यसबापत उनीहरूले भनेजति गोल खाइदिने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । टिटानी र केसभानविरुद्ध मालदोभा प्रहरीले म्याच फिक्सिङ अभियोगमा मुद्दासमेत चलाइसकेको थियो ।


सन् २००८ मा भएको मोर्डेका कप, २००९ को साफ च्याम्पियनसीप, सन् २०११ मा मलेसिया र फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप, सन् २०१४ मा कोरियामा भएको खेललगायतमा म्याच फिक्सिङ गरेको अभियोगपत्रमा उल्लेख थियो । खेल सुरु हुनुअघि नै नतिजा तय गरेर त्यसअनुसार परिणाम निकाल्ने काम म्याच फिक्सिङ हो । यस्तोमा खेलमा बाजी लगाउनेहरू समेत अक्सर संलग्न हुने गर्छन् । म्याच फिक्सरहरूले फलानो खेलमा फलानो देश यति अंकले हार्छ भनेर लाखौं रुपैयाँको बाजी राख्ने गर्छन् र तदनुसार खेलिदिन खेलाडीलाई पैसा तिर्ने गर्छन् ।


फिक्सिङ मामिलामा अञ्जन केसी ज्यादा संलग्न हुने गरेको पनि आरोपपत्रमा उल्लेख थियो । उनी आफू संलग्न नै नभएको फिलिपिन्स र दिल्लीका प्रतियोगितामा समेत गएका थिए । उनकी आमा शोभा केसीको नाममा समेत वेस्टर्न युनियन मनि ट्रान्सफरबाट ३ लाख ७४ हजार ७ सय ३२ रुपैयाँ आएको प्रहरीले फेला पारेको थियो । त्यस्तै नेपाली राष्ट्रिय टिमको फिजियोथेरापिस्ट बनेर गएका डेजिव थापाले पनि म्याच फिक्सिङ मिलाउने गरेको र खेल मैदानमै पुगेर पैसा लिने गरेको प्रहरीले दाबी गरेको थियो । उनीहरूलाई मुद्दा चलुञ्जेल एसियाली फुटबल महासंघ र एन्फाले प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : जेष्ठ २४, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?