कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल

सुदीप कैनी

काठमाडौँ — सरकारले आउँदो साउन १५ बाट कक्षा ११ मा लागू गर्न लागेको पाठ्यक्रमबारे शिक्षक र शैक्षिक संस्थाहरूले अनभिज्ञता प्रकट गरेका छन् ।

कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल

पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुरूप नयाँ पाठ्यक्रम लागू गरेपछि संकाय प्रणालीअन्तर्गत पढाइरहेका शैक्षिक संस्थामा अन्योल बढेको हो ।


उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का वरिष्ठ उपाध्यक्ष युवराज शर्माले सरकारले हतारमा पाठ्यक्रम परिवर्तन गरेको बताए । ‘यसै वर्षदेखि पाठ्यक्रम लागू गर्ने भनिएको छ,’ उनले भने, ‘पूर्वाधारै तयार नभई नयाँ पाठ्यक्रम लागू गर्दा पठनपाठन गराउन असहज हुन्छ ।’


केन्द्रले पूर्ण तयारीसहित नयाँ पाठ्यक्रम लागू गर्न लागिएको जनाएको छ । तर एक महिनाभित्र पाठ्यपुस्तक छापेर पढाउन असम्भव हुने हिसान उपाध्यक्ष शर्माको दाबी छ । ‘नयाँ पाठ्यक्रम बोझिलो र अव्यावहारिक छ,’ उनले भने, ‘कार्यान्वयन गर्ने भए पनि तयारी गर्ने पर्याप्त समय छैन ।’


उनले विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावक मानसिक रूपमा तयार नभई परिवर्तित पाठ्यपुस्तकबाट पठनपाठन गराउँदा शैक्षिक उपलिब्ध नहुने जिकिर गरे । शिक्षामन्त्री, शिक्षासचिव र केन्द्रका कार्यकारी निर्देशकलाई भेटेर एक वर्षपछि कार्यान्वयन गर्न आग्रह गरेको उनले जानकारी दिए ।


कक्षा ११ को पढाइ सुरु गर्ने तयारीमा रहेका टोखास्थित अमर सेकेन्डरी स्कुलका प्रधानाध्यापक हरिदास श्रेष्ठले पनि पाठ्यक्रमबारे अनभिज्ञता जनाए । ‘नयाँ पाठ्यक्रम आएको सुनेका छौँ, सबै कुरा थाहा छैन,’ उनले भने । यसअघि कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा संकायमा पाँच सय पूर्णांकको पाँच विषय पढाइ हुन्थ्यो ।


नयाँ प्रारूपमा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा विषय अनिवार्य र तीनवटा विषय ऐच्छिक रहने व्यवस्था छ । नयाँ पाठ्यक्रमअनुसार शिक्षण संस्थामा पर्याप्त शिक्षक र पूर्वाधार पनि छैन ।


कक्षा ११ बाट गणित विषय हटाइएकामा गणित समाजका केन्द्रीय सदस्य जीवन काफ्लेले असन्तुष्टि जनाए । ‘विद्यार्थी पनि कुरा नबुझेर हामीसँग सोधीखोजी गरिरहेका छन्,’ उनले भने, ‘गणित विषय हटाउँदा विज्ञान प्रविधिमैत्री पढाइ हुन सक्दैन ।’


केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने समयमै पाठ्यपुस्तक छपाएर कार्ययोजनासहित पाठ्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको बताए । ‘नयाँ पाठ्यक्रम कार्यान्वयन हुन नदिन अनेक समूहको स्वार्थ छ,’ उनले भने, ‘पठनपाठनमा बाधा नपुग्ने गरी विज्ञहरूसँग रायसुझाव लिएर अघि बढेका छौं ।’


निजी पुस्तक प्रकाशन र केही विद्यालय सञ्चालकले स्वार्थवश पाठ्यक्रम कार्यान्वयनमा ढिलाइ गर्न खोजेको उनको दाबी छ । विषय थपिए पनि खासै परिवर्तन नहुने भएकाले विद्यार्थी, शिक्षक र अभिभावकलाई ढुक्क हुन उनले आग्रह गरे । ‘केही नयाँ विषय थप भए पनि पुरानो कोर्सअनुसार धेरै फेरबदल हुँदैन,’ उनले भने, ‘आन्तरिक तयारी गरिरहेका छौं ।’


कक्षा १२ पछि विद्यार्थीले विश्वविद्यालयमा जुन क्षेत्रको अध्ययन गर्ने हो, त्यहीअनुसार ऐच्छिक विषय छान्ने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । सरकारले राष्ट्रिय अभियान चलाएर पाठ्यक्रमबारे जानकारी दिने उनले बताए ।

प्रकाशित : जेष्ठ २४, २०७५ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?