१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘जोगाइएका’ थिए एसएसपी खत्री

कृष्ण ज्ञवाली

काठमाडौँ — २०७३ पुसको साढे ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले एसएसपी श्याम खत्रीलाई ‘कसुरमा संलग्न रहेको नदेखिएको’ भन्दै सामान्य तारेखमा छाड्ने आदेश दिएको पाइएको छ । उच्च अदालतले खत्रीसहित पुर्पक्ष थुनामा परेका श्यामकृष्ण श्रेष्ठलाई दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

‘जोगाइएका’ थिए एसएसपी खत्री

त्यतिबेला एसएसपी खत्री डीआईजी बढुवाको मुखमा थिए । न्यायाधीशहरू भीमकुमार ओझा र बलभद्र बाँस्तोलाको इजलासले २०७४ साउन १२ गते जारी गरेको आदेशका कारण उनलाई बढुवामा साथ पुग्थ्यो । नियमित काममा फर्कन फौजदारी आरोपमा परेको व्यक्ति सामान्य तारेखमा रिहा हुनुपर्छ । उच्च अदालतले सुनकाण्डका मुख्य आरोपित खत्रीलाई सामान्य तारेखमा छाड्ने आदेश दिनुका पछाडि मुख्य तीनवटा कारण उल्लेख गरेको छ । आदेशमा भनिएको छ, ‘प्रतिवादीमध्येका श्यामबहादुर खत्रीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष कसुरमा इन्कार रहेको, सहप्रतिवादी श्रीनारायण यादवसमेतले यी प्रतिवादी (खत्री) लाई पोल गरी अदालतमा बयान गर्न नसकेको र अन्य प्रतिवादीसँग समेत यी प्रतिवादीको चिनजान रहेभएको मिसिल संलग्न कागजातबाट देखिन नआएको । श्यामबहादुर खत्रीलाई साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गराउनुहोला ।’

आदेशका क्रममा उल्लेख भएको व्यहोरा र विवरण जिल्ला अदालतमा पेस भएको मिसिलमा उल्लिखित विवरणसँग भने मेल खाँदैन । आदेशमा खत्रीले अनुसन्धान अधिकारी र अदालतमा कसुरमा इन्कार गरेको भन्ने व्यहोरा उल्लेख छ । तर आरोपपत्रको मिसिल हेर्ने हो भने एक/दुईबाहेक सबै प्रतिवादीले कसुर इन्कार गरेका छन् । यो मुद्दाबारे जानकार उच्च अदालतका एक न्यायाधीशले भने, ‘कसुर इन्कार गरेकै आधारमा आरोपितलाई साधारण तारिखमा छाड्ने हो भने कुनै पनि आरोपित पुर्पक्ष थुनामा रहँदैनन् ।’

उच्च अदालत पाटनले खत्रीलाई छाड्नुमा ‘अर्का प्रतिवादी श्रीनारायण यादवसमेतले खत्रीलाई पोल गरी अदालतमा बयान गर्न नसकेको’ भन्ने आधार देखाएको छ । जब कि यादवले सुनकाण्डमा एसएसपी खत्रीको सहयोगमै सबै सेटिङ भएको र पटक पटक आफूले उनलाई रकम दिएको भनी दुई पटक अनुसन्धान अधिकारीसमक्ष बयान गरेका छन् । आदेशमा ‘अन्य प्रतिवादीसँग समेत यी प्रतिवादीको चिनजान रहेभएको मिसिल संलग्न कागजातबाट देखिन नआएको’ भन्ने छ । प्रहरीले अदालतमा पेस गरेको आरोपपत्रमा भने खत्रीसँग अन्य सुन तस्करसँग बारम्बार सम्पर्क, उठबस र मिलेमतो रहेका प्रमाण पेसिएका छन् ।

सुन तस्करीको आरोप लागेका राजकुमार ढकालले नै बयानका क्रममा ‘सामान (सुन) भन्सारबाट चेकिङ पास गराउने काममा प्रहरी र अन्य भन्सारका कर्मचारी संलग्न छन् भनी आफूलाई श्रीनारायण यादव र श्यामकृष्ण श्रेष्ठले बताएको’ बयान दिएका थिए । उनले त्यसलाई पुष्टि गर्ने थप विवरणसमेत बयानकै क्रममा खोलेको देखिन्छ जसअनुसार सामानहरू एयरपोर्टबाट बाहिर निकालिसकेपछि आफूले २ लाखदेखि २ लाख ५० हजार रुपैयाँ पाएको स्विकारेका छन् ।

जिल्ला अदालत काठमाडौंले एसएसपी खत्रीको थुनछेक आदेशमा भन्सारका कर्मचारी यादवको बयानलाई आधार मानेको थियो, जसमा यादवले आफूले एसएसपीलाई रकम बुझाउने गरेको भनी ‘पोलेका’ थिए । यादवका अनुसार सुन बोकेर आउने दिलबन्धु थापाले राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई नगद दिन्थे । ढकाल र श्रेष्ठले आफ्नो भाग राखी बाँकी यादवलाई बुझाउँथे । यादवले बयानमा भनेका छन्, ‘मलाई मेरो भाग र एसएसपी खत्रीलाई दिनु भनी कहिले एक लाख ३० हजार रुपैयाँ र कहिले एक लाख २० हजार दिन्थे ।’

छानबिनका क्रममा बयान लिइएका रञ्जितकुमार गुप्ताले ‘व्यापारका क्रममा २०६८ देखि खत्री सुन व्यापारीकहाँ आउने–जाने गर्थे’ भनेका छन् । आफूलाई व्यापारका लागि सुरुमा २० प्रतिशतका दरले ऋण लिन थाले पनि पछि ब्याजदर ३६ प्रतिशत बनाएपछि छाडेको उनको बयानमा उल्लेख छ । उच्च अदालतले यी विषयलाई आदेशमा संलग्न गराएको छैन ।

त्यस्तै, भन्सारका प्राविधिक सहायक श्यामकृष्ण श्रेष्ठबारे उच्च अदालत पाटनले गरेको आदेश झनै अनौठो छ । सुन तस्करी भएका बेलामा श्रेष्ठ रेडियो अपरेटर कक्षमा नभएको कारण देखाउँदै अदालतले उनलाई सामान्य तारेखमा छाड्न आदेश दियो । ‘प्रस्तुत वारदातका दिन श्रेष्ठ रेडियो अपरेटर कक्षमा थिए भनी मुद्दा लगाउने प्रहरी (वादी) ले दाबी लिन नसकेकाले’ आदेशमा भनिएको छ, ‘उनलाई धरौटी दुई लाख रुपैयाँ लिई तारेखमा राख्नु ।’ न्यायाधीशद्वय ओझा र बाँस्तोलाको इजलासले पहिले गरेको कारोबारमा संलग्न थियो भनेकै आधारमा श्रेष्ठलाई मुछ्न नहुने राय दिएको हो ।

तस्करी आरोपमा पक्राउ परेका दिलबन्धु थापाले श्यामकृष्णलाई नियमित रूपमा घूस खुवाउने गरेको भनी बयानमा स्विकारेका छन् । उनले भनेका छन्, ‘मैले राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई १०/१२ लाखजति दिएको छु ।’ अर्का आरोपित राजकुमार ढकालको बयानले समेत श्यामकृष्ण तस्करीको प्रमुख सूत्रधार भएको खुल्छ । ढकालले बयानका क्रममा ‘सुन तस्करीका बेलामा सामान आएको सूचनापछि श्रीनारायण यादव र श्यामकृष्ण श्रेष्ठ चेकिङमा बस्थे र सामान पास भएपछि जान्थे’ भनेका छन् । उनले तस्करीका क्रममा ५ लाख ६० हजार बुझेको समेत बताएका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?