१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सय रुपैयाँ नतिर्दा हत्या

निजगढ — अहिलेको समयमा एक सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका–१२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनुपरेको छ । स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहको पम्पिङ सेटबाट आफ्नो खेतमा सिँचाइ गरेका थिए ।

सय रुपैयाँ नतिर्दा हत्या

यसबापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।

मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । ‘पैसा तिरेरै जा भनी मख्खनले जबर्जस्ती गरेपछि मैनेजरसँग वादविवाद भएको थियो,’ एक स्थानीयले भने, ‘पछि झडपकै रूप लियो ।’ झडपका क्रममा मख्खनका छोरा २० वर्षीय दीपक साहले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए । ६५ वर्षीय मैनेजरको टाउकोमा गम्भीर चोट लाग्यो ।

‘एकैछिनमा उनको पूरै शरीर रक्ताम्य भयो,’ प्रत्यक्षदर्शी राकेश कुमारले भने, ‘छिमेकी र आफन्तको सहयोगमा उपचारका लागि कलैया अस्पताल पुर्‍याइयो ।’ कलैया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्ज पुर्‍याइएको थियो । वीरगन्जमा पनि अवस्था सुधारोन्मुख नदेखिएपछि मैनेजरलाई काठमाडौंस्थित न्युरो अस्पताल पठाइएको थियो । उपचारकै क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शव अन्तिम संस्कारका लागि घर ल्याउने तयारी भइरहेको आफन्तले बताए ।

घटनापछि मख्खन र उनका छोरा दीपकसहित परिवार सदस्य घर छाडेर फरार भएका छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले बताए । खेतमा सिँचाइ गरेबापतको रकममध्ये एक सय रुपैयाँ लेनदेनको विषयमा भएको सामान्य वादविवादले उग्र रूप लिँदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?