कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कुमारका लागि जुट्दै ‘ब्लडमनी’

हरिराम उप्रेती

गोरखा — साउदी अरबमा जेल जीवन बिताइरहेका भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका कुमार रानामगरको रिहाइका लागि झन्डै १२ लाख क्षतिपूर्ति (ब्लडमनी) संकलन भएको छ ।

कुमारका लागि जुट्दै ‘ब्लडमनी’

साउदीको अदालतले ८३ लाख (नेपाली) रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएपछि राना परिवार अहिले नेतादेखि विभिन्न संघसंस्थाका प्रतिनिधि भेटेर रकम संकलन अभियानमा जुटेका हुन् । साउदीको खालिद एस अल कम्पनीमा हेल्परको काम गर्दै आएका मगरले सवारीचालक अनुमतिपत्रबिना चलाएको गाडी २४ अप्रिल २०१६ मा दुर्घटना भएको थियो । त्यसमा साउदी नागरिक आलिद अल ओताइवी घाइते भएका थिए ।

ओताइवीले क्षतिपूर्ति माग गर्दै साउदी अदालतमा मुद्दा दर्ता गरेका थिए । अफिम जनरल कोर्टले २ लाख ९४ हजार साउदी रियाल (नेपाली ८३ लाख) क्षतिपूर्ति दिन फैसला सुनाएपछि तिर्न नसक्दा राना जेलमा छन् । उनी सेप्टेम्बर २०१७ देखि प्रहरी हिरासत र जनवरी २०१८ देखि साउदीको अफिम सेन्ट्रल जेलमा परेपछि परिवारको बिचल्ली छ ।

क्षतिपूर्तिबापतको रकम संकलन गरी रानालाई नेपाल फिर्ता ल्याउन ‘कुमार रानामगरको जीवन रक्षाका लागि ब्लडमनी संकलन’ अभियान चलाइएको छ । अभियानअन्तर्गत हालसम्म १२ लाख ५० हजार संकलन भएको अगुवा कृष्णप्रसाद ढकालले बताए । नेपाल मगर संघले बिहीबार यहाँ ‘खुर्पेटो’ नामक चलचित्र प्रदर्शन गरेको थियो । टिकट बिक्रीबाट आएको १ लाख ५६ हजार र सहयोगस्वरूप आएको ३८ हजार गरी १ लाख ९४ हजार रानाका परिवारलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष विष्णु रानाले बताए । ‘अरू रकम पनि संकलन गर्दैछौं,’ उनले भने ।

रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीहरूबाट १ लाख ७७ हजार, बेलायतबाट ७१ हजार, साउदी अरबबाट १ लाख १८ हजार संकलन भएको ढकालले बताए । ‘व्यक्तिगत तवरबाट पनि रकम संकलन भइरहेको छ,’ उनले भने ।

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्घता जनाएको उनले बताए । ‘नेकपाका नेता नारायणकाजी श्रेष्ठलगायत जिल्लाका सांसदहरूसँग पनि सहयोग माग्छौं,’ उनले भने । ‘पैसा बुझाएन भने आजीवन कारावास हुन्छ रे,’ रानाकी पत्नी अम्बिकाले भनिन्, ‘धेरै पटक श्रम मन्त्रालय पनि पुगिसक्यौं । श्रममन्त्री गोकर्ण विष्टले पनि सरकारी निकायबाट हुने सबै पहल गर्छौं भन्नुभएको छ ।’

प्रकाशित : जेष्ठ २५, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?