कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नागरिकता दिन आनाकानी

सतिघट्टा (झापा) — मेचीनगर ७ सतिघट्टाकी सुमित्रा बेस्रा (सन्थाल) २१ वर्ष पुगिन् । बाबुविहीन सुमित्राको नागरिकता छैन । आमा फूलमुनीको वंशजको नागरिकता छ । उनले आफ्नो नामबाट छोरीलाई नागरिकता दिन प्रयास गरे पनि सफल भएकी छैनन् ।

नागरिकता दिन आनाकानी

‘नागरिकताका लागि धाएको ३–४ वर्ष बित्यो,’ उनले भनिन्, ‘मैले जन्माएकी छोरीले मेरो नामबाट नागरिकता किन नपाउने ?’ नागरिकता नहुँदा ४ वर्षीय नातिको जन्मदर्ता हुन नपाएको र स्कुलले भर्ना गर्न नमानेको उनले बताइन् ।


फूलमुनीका ज्वाइँ बेपत्ता छन् । छोरी सुमित्रा ७ महिनाको गर्भवती हुँदामात्र छिमेकी राकेश गौतमसँगको प्रेम सम्बन्धको कुरा फूलमुनीले थाहा पाएकी थिइन् । सुरुमा राकेशले सम्बन्ध स्वीकार्न मानेका थिएनन् । फूलमुनीले प्रहरीमा उजुरी गरेपछि गौतम परिवारले सुमित्रालाई बुहारीका रूपमा स्वीकार्ने कागज गरे । सुमित्रालाई घर भने भित्र्याइएन । उनका नातिको न्वारानसमेत हुन पाएन ।

नाति मामलीमै भएका बेला गौतम परिवार बसाइँ सरे । ‘नातिको बोली फुटेर बाबा, आमा भन्न थालेपछि गौतम परिवार रातारात बसाइँ हिंडेछन्,’ फूलमुनीले भनिन्, ‘अहिले ज्वाइँ राकेश पनि सम्पर्कविहीन छन्, खोज्न कहाँ जानु ?’ स्थानीयवासीका अनुसार गौतम परिवारले बुहारी नस्वीकारेपछि सुमित्रा माइतीमै छिन् । सतिघट्टाको राज चिया बगानमा श्रमिकका रूपमा काम गर्छिन् । उनैको पसिनाको कमाइले तीनजनाको परिवारको गर्जो टरेको छ । ‘नागरिकता भए पैसा कमाउन विदेश जाने थिएँ,’ उनी भन्छिन्, ‘बाजे, बराजु जन्मिएको देशमा मैले नेपाली हुन नपाउने ?’

आमा फूलमुनी समयमै कुष्ठरोगको उपचार नपाएर अपांग बनेकी छन् । ‘मेरो काम गर्न सक्ने अवस्था छैन,’ फूलमुनी भन्छिन्, ‘अहिलेसम्म छोरीले पालेकी छ, तर, छोरीलाई नागरिकता बनाइदिन नसक्दा भक्कानो फुटेर आउँछ ।’

आमा वा बाबु दुवैको नामबाट नागरिकता लिन पाउने कानुनी व्यवस्था संविधानमा उल्लेख छ । तर, आमाको नाममा नागरिकता लिन बाबुको प्रमाण पेस गर्नुपर्ने बाध्यताले बाबुविहीन धेरै नेपाली अनागरिक जस्तै बनेका छन् । झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आमाको नामबाट नागरिकता दिने कुरा संविधानमा उल्लेख भए पनि ऐन नबनेका कारण कार्यान्वयनमा कठिनाइ भएको बताए । पौडेल भन्छन्,‘ऐन नबन्दा कसरी दिने भन्ने अन्योलका कारण व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको हो ।’

प्रकाशित : जेष्ठ २५, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?