कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोक्न पाइँदैन’

लालप्रसाद शर्मा

पोखरा — निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ओझेलमा पार्ने कुनैपनि बहाना अस्विकार्य हुने पोखरेलीले बताएका छन् । विज्ञ समुहले हालै सार्वजनिक गरेको प्रतिवेदन पोखराप्रति पूर्वाग्रही भएर आएको दाबी उनीहरुको छ ।

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोक्न पाइँदैन’

पोखरा उद्योग वाणिज्य संघद्वारा शुक्रबार आयोजित अन्तरक्रियाका सहभागीले विमानस्थल निर्माणमा अवरोध गर्न खोजिए सशक्त प्रतिकार गर्ने जनाए । पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समुहले व्यवसायिक हिसाबले साना जेट विमान पनि संचालन गर्न नसकिने भन्ने प्रतिवेदन दिएको छ । साथै विमानस्थल आत्मनिर्भर हुन कठिन रहेको पनि प्रतिवेदनमा छ । विरेन्द्रबहादुर देउजालगायतको टीमले यही जेठ २२ मा सार्वजनिक गरेको प्रतिवेदनप्रति पोखरेलीले आपत्ति जनाएका हुन् ।

संघका अध्यक्ष विश्वशंकर पालिखेले अझै पनि विमानस्थल तुहाउने प्रयास भइरहेको भन्दै यसतर्फ सतर्क हुनुपर्ने बताए । ‘२ अर्ब बराबरको १५ प्रतिशत काम भइसकेको अवस्थामा यस्तो प्रतिवेदन आउनु दुर्भाग्य हो,’ उनले भने, ‘कसैले जस लिने, बार्गेनिङको भाउ बढाउने नियतले यस्तो गरिएको होकी भन्ने शंका उब्जिएको छ ।’


पोखराकै मन्त्री भएको बेला उनले नै गठन गरेको विज्ञ समुहले यस्तो प्रतिवेदन बुझाउनु दुर्भाग्यपूर्ण भन्दै उनले यसको जिम्मेवारी पनि पर्यटनमन्त्रीले नै लिनुपर्ने बताए । विज्ञ समुहमा रहेकाहरु विगतदेखि नै पोखराप्रति पूवाग्रही रहँदै विमानस्थल बनाउन हुँदैन भन्ने पक्षका व्यक्ति रहेका उनले बताए ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रतिवेदन दुरासय र पुर्वाग्रह भएर आएको बताए । ‘विज्ञ समुह गठन गर्नु नै बेमौसमको बाजा बजाउनु जस्तो भएको थियो,’ उनले भने, ‘मन्त्रीको काँधमा बन्दुक राखेर गोली चलाउन खोजिएको जस्तो लागेको छ ।’


पोखराको विकासमा विगतदेखि नै केहीले अवरोध गर्दै आएको भन्दै उनले यसतर्फ चनाखो भईरहनु पर्ने बताए । नागरिक उड्डय प्राधिकरण पारदर्शी नभएकाले बेलाबेलामा समस्या आउने गरेको उनले आरोप लगाए । यसमा प्रदेश सरकारले पनि आवस्यक पहलकदमी चाल्नुपर्नेमा उनले जोड दिए ।

नेकपाका नेता राजकाजी गुरुङले विज्ञको भनाई हावादारी रहेको भन्दै योजनावद्ध ढंगले प्रतिकार गर्नुपर्नेमा जोड दिए । प्रदेश सांसद विन्दुकुमार थापा, पोखरा उपत्यका नगर बिकास समितिका पूर्व अध्यक्षद्वय विश्वप्रकाश लामिछाने र प्रकाश खनाल, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतले विमानस्थल अवरोध गर्न खोजिए विगतमा जस्तै एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।


प्रदेशको गहना, राष्ट्रिय गौरवको आयोजना भएकाले पनि यसविरुद्ध हुने कुनै पनि षडयन्त्रविरुद्ध एकजुट भएर राजनीतिभन्दा माथि उठेर लाग्नेमा उनीहरुको जोड थियो । उवासंघ अध्यक्ष पालिखेले प्रधानमन्त्री देखि विभिन्न सरोकारवालालाई यस विषयमा डेलिगेशन गएर र ज्ञापन पत्रसमेत बुझाइने बताए ।


प्रकाशित : जेष्ठ २५, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?