कांग्रेस र कम्युनिष्टसँग एकताको संभावना छैन : भट्टराई

हरिराम उप्रेती

गोरखा — नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले आफ्नो पार्टी कुनै पनि दलसँग एकता गर्ने पक्षमा नरहेको प्रस्ट पारेका छन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको विज्ञ सम्मेलनमा भाग लिन आएका भट्टराइले पत्रकारसँग कुरा गर्दै कांग्रेस र कम्युनिष्ट कुनै पनि दलसँग एकताको संभावना नरहेको बताएका हुन् ।

कांग्रेस र कम्युनिष्टसँग एकताको संभावना छैन : भट्टराई

‘पछिल्लो चरणमा एमाले र माओवादीको अन्तरविरोध बढ्दै थियो, जनयुद्धको म्यान्डेट सकिने पो हो कि भनेर प्रचण्ड चिन्तित देखिनुहुन्थ्यो, नयाँ ढंगले माओवादी आन्दोलनलाई रुपान्तरण गरेर समाजवादी ढंगले जाऔँ भनेकै हो,’ भट्टराईले भने,‘तर उहाँ रुपान्तरण भएर जान मान्नुभएन, एमालेसँग एकता गर्नु भयो ।’


नयाँ धुव्र निर्माण गर्न आए सोच्न सकिने तर कांग्रेस र कम्युनिष्ट विचार बोकेकासँग एकता हुनै नसक्ने भट्टराईको भनाइ छ । ‘माउन्ट एभरेष्ट चढ्न हिँडेको मान्छे चुरे पहाडतिर फर्कन लागेको हो भनेर सोधे जस्तो लाग्यो,’ उनले भने ‘नयाँ शक्ति कसैको लहड र आक्रोशमा सुरुआत गरेको अभियान होइन, सञ्चारकर्मी मित्रहरु अब यस्ता जिज्ञासा नराख्नुहोला ।’


गत असोज १७ गते कम्युनिष्टसँग समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भए पनि कम्युनिष्ट ब्राण्ड छाड्न नमानेपछि आफू अलग्गिएको भट्टराईले बताए । ‘एक युगको कार्यभार पूरा गरेकोमा कांग्रेस र कम्युनिष्टलाई धन्यवाद, कांग्रेस र कम्युनिष्ट विचार अहिले संकटमा परिसक्यो ।’ अब कम्युनिष्ट ब्रान्ड बोक्नुको औचित्य पनि नरहेको उनले बताए । ‘तेस्रो धुव्र निर्माण गर्न अघि बढेको शक्ति यो वा उ वाहानामा एकतातिर टासिन्छ कि भन्ने छैन,’ उनले भने ।


उनले फरक प्रसंगमा जन्मथलो छाडेर बाहिर जाने प्रक्रिया तीव्र भएकोमा चिन्ता जनाए । ‘तपाईंहरुले आफ्नो हैसियत बनाइसक्नुभएको छ, दक्ष जनशक्ति बाहिरिनु राम्रो कुरो होइन,’ भट्टराईले विज्ञ सम्मेलनमा भाग लिन आएका तर्फ इंकित गर्दै भने, ‘सक्नुहुन्छ भने आफ्नो क्षेत्रमा व्यवसाय गर्नुस्, त्यो पनि नसके एउटा आवास बनाउनुस् त्यसो गर्दा पालुङटारसँग जोडिरहने भयो ।’


छोरीको नाउँमा पालुङटार नगरपालिका–१ खोप्लाङमा आफूले पनि घर बनाउन लागेको भट्टराइले बताए । ‘दुइ रोपनी जग्गा रहेछ, छोरीलाई हस्तान्तरण गरेको छु, छोरीले यहीं घर बनाउँछु भनेकी छिन्, हिँड्न सकुन्जेल चारिरहन्छु, बूढेसकालमा जन्मिएकै थलोमा आएर बस्छु,’ भट्टराईले भने ।


भट्टराईको घर २०७२ वैशाख १२ को भूकम्पले भत्काएको छ । उनकी छोरी मानुसीले घर बनाउने तयारी गरेकी हुन् ।

प्रकाशित : जेष्ठ २५, २०७५ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?