पार्टी पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम लिन्न : देउवा

रासस

धनगढी — कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम नलिने बताएका छन् । 

पार्टी पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम लिन्न : देउवा

शुक्रबार धनगढीमा कांग्रेस कैलालीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले चुनावमा पार्टीभित्रैबाट अन्तरघात भएका कारण निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने बताए ।


सभापति देउवाले देशमा जबर्रजस्ती आफ्ना विचार लादेर सर्वसत्तावाद ल्याउने प्रयास भइरहेको भन्दै कांग्रेसले कुनै पनि हालतमा प्रजातन्त्र कमजोर हुन नदिने बताए ।


विगतमा आफूले धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेपनि ओली सरकार भारतसँग लम्पसारवादमा गएको आरोप लगाउँदै उनले भने, ‘गौरीफन्टा नाका बन्द गर्ने षडयन्त्र भइरहेको छ, यो षड्यन्त्रलाई सफल हुन दिने छैन ।’


कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश लेखक र ईश्वरी न्यौपानेले मुलुकमा सर्वसत्तावाद र अधिनायकवादको खतरा रहेकाले कांग्रेसका नेता कार्यकर्ताले सचेत भएर पार्टी संगठनमा लाग्नुपर्ने बताए ।


कार्यक्रममा पार्टीका जिल्ला सभापति नरनारायण शाह, नेताहरू रामजनम चौधरी मोहनसिं राठौर, डा. रणबहादुर रावल, भरतवहादुर खड्का लगायतले पार्टीभित्र अन्तरघातको रोग हटाउनुपर्नेमा जोड दिएका थिए । दुई दिने सम्मेलनमा जिल्लाभरका एक हजार नेता कार्यकर्ता सहभागी छन् ।

प्रकाशित : जेष्ठ २५, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?