भरतपुर क्यान्सर अस्पताल : १० वर्षपछि बल्ल उपकरण फेरिँदै

रमेशकुमार पौडेल

चितवन — भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विभिन्न क्यान्सरका उपचार हुने देशकै मुख्य अस्पताल हो । क्यान्सर बिरामीको उपचार गर्दा शल्यक्रियाका साथै विभिन्न औषधिको सहयोगमा गरिने किमोथेरापी र नियन्त्रित रूपमा विकिरण पठाएर क्यान्सरग्रस्त कोषलाई मार्न रेडियोथेरापी गरिन्छ ।

भरतपुर क्यान्सर अस्पताल : १० वर्षपछि बल्ल उपकरण फेरिँदै

रेडियोथेरापी सुरु गर्नुअघि अंगमा विशेष उपकरणबाट प्लानिङ हुन्छ । अस्पतालमा जेठ ७ देखि प्लानिङ हुन सकेको छैन । ‘प्लानिङ गर्ने सिमुलेटर मेसिन बिग्रेकाले नयाँ मेसिन जडान हुन केही दिन लाग्छ । त्यसैले अर्को सूचना नहुँदासम्म प्लानिङ सेवा स्थगित भएको जानकारी गराउँछौं,’ अस्पतालको रेडियसन अंकोलजी विभागको ढोकामा टाँसेको सूचनामा उल्लेख छ ।

सिमुलेटर मेसिन १० वर्षअघि नै फेर्नुपर्ने थियो । ३ वर्ष पहिले मात्रै नयाँ मेसिन किन्ने प्रक्रिया सुरु भयो । तर मुद्दा मामिलाको झमेलामा परेपछि मेसिन फेर्ने समय बल्ल जुरेको हो । अस्पताल अधिकारीका अनुसार नयाँ मेसिन वीरगन्ज भन्सार कार्यालयमा आइसकेको छ ।

अबको १० दिनपछि नयाँ सिमुलेटर मेसिनबाट प्लानिङ सुरु हुने अस्पतालको भनाइ छ । ‘अस्पताल सुरु भएका बेलामा जडान भएको सिमुलेटर हो । यो मेसिन बिग्रेमा बनाउन नसक्ने जानकारी सम्बन्धित कम्पनीले १० वर्षअघि नै दिएको थियो । त्यो बेलै फेर्नुपर्ने मेसिन बिग्रे पनि काम चलाउँदै आएका थियौं । यो पटक त कामै नगर्ने गरी बिग्रियो,’ अस्पतालको रेडियसन अंकोलजी विभागका प्रमुख डा.सुरेश श्रेष्ठले भने ।

नयाँ सिमुलेटर मेसिन आउने भएपछि त्यसलाई राख्न ठाउँ खाली गर्नुपर्ने भएकाले पनि यो पटक पुरानो मेसिन हटाउनुपरेको अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले भने । प्लानिङ नभई रेडियोथेरापी सेवा सुरु गर्न मिल्दैन । विभागका प्रमुख डा. श्रेष्ठका अनुसार दिनमा १ सय २० जना जतिले रेडियोथेरापी सेवा लिने गर्छन् ।

तर तत्काल प्लानिङ नभए पनि रेडियोथेरापी सेवा प्रभावित नहुने आचार्यको दाबी छ । नयाँ सिमुलेटर मेसिन कम्पनीबाट हिँडेपछि मात्रै यहाँको प्लानिङ सेवा बन्द भएको हो । नयाँ मेसिन सञ्चालनमा नआउँदासम्म रेडियोथेरापी सेवा प्रभावित नहोस् भन्नका लागि धेरै नै बिरामीको प्लानिङ गरेको उनले बताए ।

‘सामान्यत: दिनमा १०/१२ जना बिरामीको प्लानिङ हुन्छ । तर अब मेसिन बन्द हुँदै छ भनेपछि हामीले योभन्दा धेरै बिरामीको प्लानिङ गरेर राखेका छौं । त्यसैले नयाँ मेसिन सञ्चालनमा नआए पनि तत्काल रेडियोथेरापी सेवा प्रभावित हुँदैन,’ कार्यकारी निर्देशक डा.आचार्यले भने । प्लानिङ गरेको कम्तीमा एक सातापछि मात्रै रेडियोथेरापी गर्ने पालो आउने गर्छ ।

नयाँ सिमुलेटर मेसिनको मूल्य झन्डै ९ करोड रुपैयाँ बराबर छ । मेसिन किन्न ३ वर्षअघि नै टेन्डर भएर खरिद सम्झौता भएको थियो । तर अदालतमा मुद्दा परेपछि मेसिन आउन नसकेको हो । अदालतले खरिद प्रक्रिया तत्कालै सुरु गर्नुभनेपछि गत वर्षको असारबाट नयाँ प्रक्रिया सुरु भएको थियो । खरिद गर्ने भनेर पक्कापक्की भएपछि बल्ल उद्योगले मेसिन बनाउन थाल्छ ।

मेसिन बन्नै ७ महिनाजति लाग्छ । ‘हामीले अब धेरै ढिला नगरौं भनेर हवाई जहाजबाटै कोलकातासम्म मेसिन ल्याएको हो । अब वीरगन्ज आइपुग्यो । त्यहाँबाट यहाँ ल्याएर जडान गर्दा १० दिनपछि सेवा सुरु हुन सक्ने अवस्था छ,’ कार्यकारी निर्देशक डा. आचार्यले भने । तर मेसिन अस्पतालमा ल्याइएपछि जडान गर्न मात्रै कम्तीमा २ साता लाग्ने अस्पताल स्रोतको भनाइ छ ।


भरतपुरको बीपी कोइरला मेमोरियल क्यान्सर अस्पताल । पुरानो मेसिन बिग्रेका कारण रेडियोथेरापी दिने क्यान्सरका बिरामीलाई गर्नुपर्ने प्लानिङ सेवा अहिले बन्द छ ।

प्रकाशित : जेष्ठ २५, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?