२३ नेपाली नाइजेरियामा बन्धक, ६ जना २ वर्षपछि फर्कन सफल

देवेन्द्र भट्टराई

काठमाडौँ — अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

Yamaha

बिचल्ली पारिएकामध्ये बाग्लुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले कान्तिपुरलाई दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरूलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन् । रवीन्द्रका अनुसार उनीहरू सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ ।
दिल्ली, लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भन्दै मानव तस्करले नाइजेरिया पुर्‍याएर बन्धक बनाएका छन्
‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरूले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राउ गरिएको थाहा पाएको छु,’ रवीन्द्रले भने । बिविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाई बुझाएका थिए । विदेश उडेका सबैलाई काठमाडौंबाट दिल्ली हुँदै बैंकक र त्यहाँबाट लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भनिएको थियो ।

रवीन्द्रले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिएको निवेदनमा मानव तस्करीमा संलग्न जेसन श्रीश (राजु), बैंकक बस्ने गोविन्दराज भारती (राज) र धोजेन्द्र दगामी मगरलाई पक्राउ गर्न तथा बिचल्लीमा परेका नेपालीलाई घर फिर्ताको पहल गर्न आग्रह गरिएको छ । लेगोसमा राखिएका मध्ये ७ जनालाई एउटै होटल र अन्यलाई भिन्न ठाउँमा लुकाएर राखिएको कन्सुलरलाई जानकारी गराइएको छ । बिचल्ली पर्नेहरू सबै बाग्लुङ र म्याग्दीका हुन् ।

बिचल्ली परेका नेपालीलाई घर फिर्ता गराउन र कूटनीतिक तहमा कानुनी प्रक्रिया समन्वय गर्न गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले लेगोसमा सहयोग गर्ने भएका छन् । ‘मैले बिचल्ली परेका कामदारबारे जानकारी पाएको छु,’ हाल काठमाडौं आएका कोषाध्यक्ष थापाले भने, ‘तत्काल नाइजेरिया फर्केर घरफिर्तीका लागि आवश्यक पहल थाल्नेछु ।’

प्रकाशित : जेष्ठ २५, २०७५ १९:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वडा सदस्य हत्या घटना छानबिन गर्न गृहमन्त्रीसँग विद्यार्थीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — अनेरास्ववियु र अखिल क्रान्तिकारीले कालिकोटमा भएको वडा सदस्य हत्याको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

दुवै विद्यार्थी स‌ंगठनले कालिकोटको नरहरिनाथ गाउँपालिका वडा न‌‍ं. ९ की सदस्य मना सार्कीको यातनापछि हत्या भएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न शुक्रबार गृहमन्त्री रामबहादुर थापासँग माग गरे । गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, 'संविधान, मानवअधिकार र मानवताविरोधी यस पाशविक घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछौं ।'

वडा सदस्य सार्कीको जातीय भेदभावका आधारमा हत्या भएको दाबी ती संगठनहरुको छ । यस्ता घटना दोहोरिन नदिनेतर्फ राज्यले सजगता र पहलकदमी लिन समेत माग गरिएको छ । विज्ञप्तिमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले हस्ताक्षर गरेका छन् ।

एमालेको तर्फबाट दलित महिला सदस्यमा निर्वाचित ४५ वर्षीया सार्कीलाई शनिबार राति नरहरिनाथ–९ की राजिन्दा शाही र सिर्जना शाहीले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते वडा सदस्य सार्कीको शनिबार राति ११ बजे घरमै मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ २५, २०७५ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT