कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राजधानीमा हैजा देखियो

अतुल मिश्र

काठमाडौँ — शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाको उपचार गराउन आएका एक बिरामीमा हैजा देखिएको छ ।

राजधानीमा हैजा देखियो

अस्पताल स्रोतका अनुसार रोगीको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन: परीक्षण गर्दा हैजा नै भनी किटान भएको हो ।

यो मौसममा यसअघि हैजा देखिएको थिएन । ‘करिब ५० वर्षको इतिहास हेर्दा सामान्यत: मुलुकमा हैजा डेढ–दुई महिनापछि देखिनुपर्ने हो,’ सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन भन्छन्, ‘यसपटक भने समयअगावै हैजा देखिएकाले खानपानमा विशेष चनाखो हुन आवश्यक छ ।’ राजधानीमा बर्सेनि निरन्तर हैजा देखिने गरेको छ ।

अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीमा झाडापखाला (डाइरिया) भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखियो भने त्यसलाई हैजा भनिन्छ । भिब्रियो कोलेरीबाट संक्रमित दूषित खाना वा पानी खाँदा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ ।

विज्ञका अनुसार महामारीमा हैजा संक्रमित व्यक्तिको दिसाबाट अन्य व्यक्तिमा फैलिन्छ । हैजा लागेमा धेरै मात्रामा बान्ता र पखाला हुनाले शरीरमा भएको पानीसँगै द्रव्य र लवण (नुन) समेत निस्किन्छ । शरीरबाहिर निस्किएका यी पदार्थको तत्काल आपूर्ति नभए संक्रमित व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

हैजाको सुरुवात पखाला र बान्ताबाट भए पनि समयमै उपचार नभए ज्यानै जान सक्ने आैंल्याउँदै डा.पुन भन्छन्, ‘हैजामा प्यास बढी लाग्छ, नाडी मन्द हुन्छ, पिसाब कम आउँछ र मानिस बेहोस हुन सक्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हैजाका जीवाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा रोगको लक्षण देखिन सक्छ ।

प्रकाशित : जेष्ठ २५, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?