कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाढीसँगै बग्छ बजेट

राजविराज/महोत्तरी — सप्तरी र महोत्तरीका नदी, खहरेमा बर्सेनि करोडौं खर्चिएर तटबन्ध गरिन्छ, तर न्यून बजेट, लापरबाहीपूर्ण निर्माण, कमजोर संरचना बाढीको प्रवाहमा टिक्नै सक्दैनन् । त्यति मात्र होइन,चुर क्षेत्रमा बढ्दो पहिरो र कटानले नदीको सतह बस्ती र खेतीभन्दा अग्लो बनाएपछि जोखिम थप बढाएको छ

बाढीसँगै बग्छ बजेट

सप्तरीमा बर्सेनि करोडौं रुपैयाँ नदी नियन्त्रणका नाममा खर्च गरिन्छ । तर, बर्सेनि सप्तरीका अधिकांश भूभाग डुबानमा पर्ने र धनजनको ठूलो क्षति हुने क्रम रोकिँदैन । बर्खासँगै तटीय क्षेत्रमा बस्नेको बेचैनी बढ्छ ।


सप्तरीको नियति नै बनेको छ, हरेक वर्ष तटबन्धका निम्ति खर्चिएको बजेट बाढीसँगै बगेर सकिन्छ, कटान र बाढीको ताण्डव ज्युँका त्युँ रहन्छ । सप्तरीमा वर्षातका बेला कोसीबाहेक खहरेहरूमा आउने बाढीले कमजोर तटबन्ध भत्काउँदै मानव बस्ती डुबाउँछ । बर्सेनि कैयांै परिवार विस्थापित हुन्छन् । खेतीयोग्य जग्गा कटान भएर बगरमा परिणत हुनेक्रम रोकिनुको साटो बर्सेनि बढदो छ ।


खाडो, महुली, जिता, बलान, खडक, सुन्दरी, त्रियुगा, घोरदह, भलुवाही, बिहुललगायत नदीको कटानले कैयौं हरेक वर्ष धेरैको उठिबास हुन्छ । बाढीले मात्र होइन, लगातारको वर्षाको भेलले निकास नपाउँदा कैयांै बस्ती जलाम्य हुन्छन् । गत वर्ष मात्र सप्तरीमा विभिन्न नदीको बाढीका कारण ३१ हजार १ सय ७० घरमा क्षति पुगेको थियो भने १ अर्ब ४० करोड ३७ लाख २७ हजार २ सय ९४ रुपैयाँ बराबरको क्षति भएको सरकारी तथ्यांक छ ।


नदी नियन्त्रणका लागि गत वर्ष पनि करोडौं रुपैयाँ खर्च नभएको भने होइन । तर ठोस काम हुन सकेन । खाडो नदीका दुवै तटमा ५० किलोमिटर बाँधमध्ये यस वर्ष २५ किलोमिटर बालुवाको बाँध बाँधिएको छ । खाडोले सबभन्दा बढी क्षति पुर्‍याउने तिलाठीसम्म अझैसम्म तटबन्ध भएको छैन । गत वर्ष खाडोमा २२ करोड रुपैयाँ खर्च गरिए पनि असारदेखि नै तटबन्ध कटान हुन थाल्यो । गत वर्ष झन्डै एक दर्जन ठाउँमा तटबन्ध भत्किए । कटान नियन्त्रणका क्रममा सुरक्षाकर्मीसँगै खटिएका देउरीभरुवामा एक जना डुबेर बेपत्ता भए । देउरी भरुवा, मलेठ, डुमरी शिवथान र पौवाटोलनजिक खचाडोको बाढीले बाँध नै भत्कायो । यस्तै, लौनिया, विषहरिया, दिघवा, तोपालगायत स्थानमा १ हजार मिटरभन्दा बढी तटबन्ध बाढीले कटान गरेको थियो । बाढीले तटबन्ध सुरक्षार्थ नदीमा लगाएको ७ सय २० वटा प्रोकोपाइनसमेत बगायो ।


खाडोले लौनियाका ३ स्थानमा कटान गर्‍यो । होचो बाँधका कारण त्यहाँ बाढीको पानी उर्लिएर खेतीयोग्य जमिन बन्जर बनाइदियो । तिलाठी र सकरपुरालगायत गाउँबाटै खोला बगेको थियो । यस वर्ष पनि खाडोमा १० करोड रुपैयाँ बजेटको नदी नियन्त्रणका काम भइरहेको छ । खाडो नदी नियन्त्रण आयोजना, राजविराजका इन्जिनियर कुलदीप यादवका अनुसार यस वर्ष ६ वटा टेन्डरबाट खाडो नदीका विभिन्न स्थानमा बाँधमा बोल्डर क्रेटिङको काम जारी छ । ‘दक्षिणमा लौनियासम्म तटबन्ध मजबुत बनाउने काम भइरहेको छ,’ इन्जिनियर यादवले भने । तर, बजेट अभावमा तोकिएको समयमा काम पूरा हुन समस्या रहेको उनले बताए । ‘यस वर्ष १५ करोड रुपैयाँ बजेट आयो, ५ करोड गत वर्षकै तिर्नुपर्ने दायित्व थियो,’ इन्जिनियर यादवले भने, ‘टेन्डर गरिसकेका छौं, काम भइरहेको छ तर बजेट आएको छैन । तोकिएको समयमा काम सक्न समस्यै छ ।’


सप्तरीका अन्य खोलाका बाढी नियन्त्रणका नाममा पनि करोडौं रुपैयाँ खर्च हुन्छ । गत वर्ष खाडोबाहेक नदी नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लहानबाट २२ करोड रुपैयाँ खर्च गरियो । तर महुली खोलाले १५ सय मिटर बाँध बगायो । महुलीको बाढीले पोर्ताहामा ३ सय मिटर, मयनाकरेडीमा ६ सय मिटर, लोहजाराका ४ स्थानमा गरी ३ सय मिटर बाँध बगायो ।


यस्तै, बान्द्रा खोलाको बाढीले कञ्चनरूप नगरपालिकाको रघुनाथपुरका ५० मिटर, सुन्दरी खोलाको बाढीले कञ्चनरूप–७ मा ३ सय मिटर कटान गरेको थियो । यस वर्ष पनि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानमार्फत सप्तरीका त्रियुगा, घोरदह, भलुवाही, महुली, खडग र बिहुल नदीमा नियन्त्रणका काम भइरहेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत बलान नदी नियन्त्रणका काम पनि जारी छ । जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय, लहानका प्रमुख मनोहर साहका अनुसार सप्तरीमा यस वर्ष १७ करोड रुपैयाँ बराबरको नियन्त्रणको काम जारी छ । बर्सेनि करोडौं रुपैयाँ खर्च गरेर तटबन्धलगायत संरचना निर्माण र मर्मतसुधार गरिए पनि नियन्त्रणको काम गुणस्तरीय नहुनु र चुरेको संरक्षण नहुँदा मधेस डुबानमा पर्छ । गत वर्षकै बाढीले भत्काएका तटबन्ध मर्मत नहँुदा महोत्तरी बाढीको थप जोखिममा छ । करोडौं खर्चेर बनेको तटबन्ध पनि कटान हुने खतरा छ । कहिले ठेकेदार भाग्ने, काम भएकामा पनि कछुवा गति, कतै कानुनी अडचन त कतै बजेट विनियोजन नहुँदा महोत्तरीमा नदी संरक्षण कार्यक्रम अघि बढ्न सकेको छैन । जसका कारण महोत्तरीमा चुरेको शिरदेखि दशगजासम्मका भूभाग बाढीको जोखिममा छ ।


महोत्तरीमा चुरेक्षेत्र भएर बग्ने साना–ठूला दर्जनभन्दा बढी नदी छन् । रातु, बिग्ही र मडहाबाट १५ वटै स्थानीय तह जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । महोत्तरीको ‘पीडा’ रातु नदीको बाढीले बढी क्षति पुर्‍याउँछ । सरकारले २०६६/६७ देखि रातु नदी नियन्त्रणका नाममा करिब ७५ करोड खर्चिइसकेको छ, तर नियन्त्रणको साटो क्षति र जोखिम बर्सेनि बढदो छ । प्रजिअ बाबुराम श्रेष्ठका अनुसार गत वर्ष साउन अन्तिम साताको बाढीमा ९ जनाले ज्यान गुमाए, २ हजार ५ सय ४ परिवार घरबारविहीन भए । कृषि क्षेत्रको समेत जोडेर १ अर्ब बराबरको धनमाल क्षति भयो । पीडितलाई स्थानीय तहमार्फत घर मर्मत र कपडाका लागि ६ करोड २६ लाख रुपैयाँ राहत उपलब्ध गराइएको श्रेष्ठले जनाए ।
सबैभन्दा जोखिमयुक्त रातु नदीको बर्दिबास नगरपालिकाअन्र्तगतको पशुपतिनगर, किसाननगर, हतिसर्वालगायत स्थानमा तटबन्ध मर्मत हुन नसकेको जनताको तटबन्ध कार्यालयले जनाएको छ । त्यस्तै, अदालती झमेलाका कारण बिग्ही खोलाको तटबन्ध पनि अलपत्र छ, जसले पिपरा, सिमरदही र मटिहानीसमेत बाढीको उच्च जोखिममा छ । जलेश्वरस्थित जनताको तटबन्ध कार्यालयका डीई भिलानन्द यादवका अनुसार हालका लागि गत वर्षको बाढीले क्षति पुर्‍याएका तटबन्ध मर्मत नै जोखिम न्यूनीकरणको पहिलो उपाय हो । बर्दिबासको किसाननगर क्षेत्रमा मर्मत सन्तोषजनक ढंगमा अघि बढे पनि बर्दिबास–९ पशुपतिनगर क्षेत्रमा भने ठेकेदार कम्पनी सुरेखा कन्स्ट्रक्सन काम छाडेर भागेको छ ।

पशुपतिनगरमा गत वर्षको बाढीले २ सय ८४ मिटर तटबन्ध कटान गरेको थियो । वर्षाअघि मर्मत नभए नदीले दिशा परिवर्तन गरेर थप १ किमि तटबन्ध कटान गर्दै पूर्वतिर सोझिने खतरा छ । त्यसो भए ७ सय बिघा खेतीयोग्य जमिन कटान हुनुका साथ साढे ७ सय परिवार बसोबास रहेको पशुपतिनगरकै उठिबास हुने जोखिम बढेको उनले जनाए । यो तटबन्ध ५२ प्रतिशत ‘बिलो’ मा ठेक्का लिएकाले अन्तिम समयमा ठेकेदार काम छाडेर भागेका हुन् । ‘ठेकेदार सुरज मण्डल फोन सम्पर्कमा समेत नरहेपछि प्रशासनमा पत्र लेखेका छौं,’ प्रमुख यादवले भने ।


पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालका अनुसार खोला पस्ने सम्भावनाले स्थानीय त्रासमा छन् । ‘खोला सोझिए साढे ७ सय परिवार बसोबास रहेको पशुपतिनगर डुब्छ,’ रखालले भने । रातु खोलाकै हतिसर्वा पश्चिम किनारको करिब साढे ८ सय मिटर तटबन्ध पनि बजेट अभावले मर्मत हुन सकेको छैन । समयमै मर्मत नभए पुरानो तटबन्ध अझ बढी बगाउनुका साथै हतिसर्वा बजार, बस्ती र करिब ४ सय बिघा धानखेत कटान हुने खतरा प्रमुख यादवले औंल्याए ।


यसका लागि जलेश्वरस्थित जनताको तटबन्ध कार्यालयले नापनक्सासहित केन्द्रसँग २/३ पटक बजेट पनि माग गरिसकेको छ । सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीले समेत हतिसर्वाको स्थलगत निरीक्षण गरेका थिए । ‘तैपनि बजेट आएन,’ यादवले भने, ‘हतिसर्वाको जोखिम यथावत् छ ।’ यता, बिग्ही खोलामा तटबन्ध लगाउन कानुनी अडचन हुँदा पिपरा, सिमरदही, मटिहानी, सुगा, जलेश्वरलगायत दक्षिणबर्ती बस्ती डुबानमा पर्ने खतरा टरेको छैन । गत वर्ष पूर्व सोझिएको बिग्हीको बाढीले भारतीय सीमा जोड्ने जलेश्वर–जनकपुर सडक २ ठाउँमा कटान गर्दा महिना दिन आवागमन ठप्प भयो । प्रमुख यादवका अनुसार पिपरामा ४ सय मिटर तटबन्ध गरिए मात्र यो भेग सुरक्षित हुन सक्छ । तर खोला साँघुरो भएकाले तटबन्ध बाँध्दा व्यक्तिको जमिन जाने भएकाले जग्गाधनीले रिट हालेपछि तत्कालीन पुनरावेदन अदालत, जनकपुरले रोक लगाइदियो । भूबनोटका कारण महोत्तरीका सबै नदी, खोला भारतीय भूमि पस्छन् । तर भारतले दशगजा क्षेत्रमा कतै उच्च बाँध त कतै बाँधजस्तै अग्लो सडक निर्माण गरेर पानीको निकास अवरुद्ध पारेको छ । दक्षिणी क्षेत्र डुबानमा पर्ने प्रमुख कारण यही हो । अर्कोतर्फ चुरे क्षेत्रमा व्यापक रूख कटान र भूक्षयले २० वर्षयता महोत्तरीका नदीको भूसतह (बेड) २ देखि साढे २ मिटर माथि उठेको छ । नदीभन्दा बस्ती र खेतबारी होचिँदा पनि बाढीको जोखिम बढेको हो ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?