राष्ट्रिय सभाको नियमावली पारित

४ गते राष्ट्रिय सभा सदस्यको गोलाप्रथा हुने
मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय सभाको आइतबार बसेको बैठकले राष्ट्रिय सभा नियमावली पारित गरेको छ । सांसद निलम्बन नहुने र पदावधिका गोलाप्रथाबाट निर्धारण हुने गरी सहमति भएपछि नियमावली पारित गरेको हो । एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोलाप्रथाबाट निर्धारण हुने भएको छ ।

राष्ट्रिय सभाको नियमावली पारित

एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । गोलाप्रथाबाट १९ जना सदस्यको पदावधि दुई वर्ष, अर्को २० जनाको चार वर्ष र बाँकी २० जना सदस्यको पदावधि ६ वर्ष कायम हुनेछ ।


संसद्‍ सचिवालयका अनुसार नियमावली पारित भएकोले पाँच दिनको समय राखेर गोलाप्रथा हुने दिनको जानकारी सदस्यहरुलाई दिन लागेको छ । सचिवायलले असार ४ गते राष्ट्रिय सभाका सदस्यको कार्यकालसम्बन्धी गोलाप्रथा गर्ने तयारी गरेको छ ।


राष्ट्रिय सभाको कार्यसञ्चालन नियमावली नभएकाले गोलाप्रथा हुन सकेको थिएन । राष्ट्रिय सभाले आइतबार नियमावली पारित गरेपछि गोलाप्रथा गर्न बाटो खुलेको हो ।


५९ सदस्यीय राष्ट्रिय सभामा ५ वटा समूहबाट निर्वाचित सदस्यहरुको अलग अलग समूह बनाइनेछ । प्रत्येक प्रदेशबाट निर्वाचित तीन जना महिला सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना दलित सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना अपांगता वा अल्पसंख्यक सदस्यको समूह, प्रत्येक प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको समूह र राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यलाई अलग अलग समूहमा विभाजन गरिन्छ । तीमध्ये प्रत्येक प्रदेशबाट निर्वाचित महिला समूहका तीनमध्ये एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ ।


त्यस्तै दलितका सातमध्ये २ जनाको दुई वर्ष, २ जनाको चार वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष, अपांगता भएकाहरुमध्येबाट पनि २ जनाको दुई वर्ष, २ जनाको चार वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष पदावधि कायम हुनेछ ।


प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको समूहबाट एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ भने राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यमध्ये एक जनाको २, एक जनाको ४ र एक जनाको ६ वर्ष कायम हुनेछ ।


प्रत्येक खण्डको सात वटा गोलामध्ये एक एक वटा गोलामा पदावधि उल्लेख नगरी गोला प्रयोग गरिन्छ र त्यस्तो गोला झिक्ने प्रत्येक समूहको एक एक जना गरी दुई जना सदस्यको पदावधि पुन: गोलाप्रथाबाट कायम गरिन्छ । गोलाप्रथाबाट प्रदेश ४ बाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेकपा दलका नेता दिनानाथ शर्मा र विपक्षी दलका नेता सुरेन्द्र पाण्डेबीच हुनेछ ।

प्रकाशित : जेष्ठ २७, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?