कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ठेकेदारले काम नगर्दा सांसद असुरक्षित ! 

मकर श्रेष्ठ

काठमाडौँ — सडक निर्माण गर्ने ठेक्का लिएका ठेकेदारले काम नगर्दा जनताले जनप्रतिनिधिलाई श्रद्धाञ्जली दिन थालेको भन्दै सांसदले संसद्‍मा कुरा उठाएका छन् । नुवाकोटका सांसद हितबहादुर तामाङले संसद्‍मा विशेष समयमा बोल्दै काठमाडौंबाट नुवाकोट, रसुवा जाने सडकमा ठेकेदारले काम नगर्दा सर्वसाधरणले सामाजिक सञ्जालमा जनप्रतिनिधिलाई श्रद्धाञ्जली लेख्न थालेको बताए ।

ठेकेदारले काम नगर्दा सांसद असुरक्षित ! 

‘टोखादेखि गुर्जेभन्ज्याङ खण्डमा ठेकेदारले काम नगर्दा समस्या देखिएको छ । पानी पर्‍यो भने बाटो अवरुद्ध हुन्छ,’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधिको सामाजिक सञ्जालमा फोटो राखेर आरआईपी लेख्न थालिसक्यो । जनताले असुविधा भोग्नु परेकोले हाम्रो पनि असुरक्षा बढ्यो ।’


भक्तपुरका सांसद प्रेम सुवालले कलंकी-नागढुङ्गा र कमलविनायक-नगरकोट- सडक खण्डको ठेक्का लिने सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीलाई कारबाही गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बचाउ गरेको भन्दै प्रश्न उठाए ।


सडक सो पिस हो ?

ओखलढुङ्गाका सांसद यज्ञ सुनुवारले बीपी राजमार्गमा ठूला सवारी सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको आदेशको विरोध गरेका छन् ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गमा ठूला सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सर्वोच्चको निर्णयले खोटाङ, ओखरलढुङगा, सोलुखुम्बु, रामेछाप, सिन्धुली र दोलखाका जनताले सास्ती भोग्नु परेको उनले बताए । सर्वोच्चको आदेशले दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थ बोकेको सवारी सिन्धुली र महोत्तरी सीमामा थन्किएको उनले बताए । ‘यसले एकातिर दैनिक उपभोग्य वस्तुको अभाव खड्किएको छ । सरकारको आदेश असार मसान्तसम्म भूकम्प पीडितले दोस्रो किस्ताको लागि भवन प्रक्रिया अघि बढाइसक्नु पर्ने भनिएको छ,’ उनले भने, ‘कुन सडकमा कुन गाडी गुडाउन मिल्छ ? भन्ने कुराको अनुगमन र नियमन गर्ने निकाय कार्यपालिका हो जस्तो मलाई लाग्छ ।’ सडक व्यापारिक केन्द्रमा राखिएको सो पिस नभई गाडी गुडाउन बनाइएको उनले बताए । ठूला गाडी रोकिँदा यस भेगका जनता आन्तरिक नाकाबन्दीको परेको उनले बताए ।


‘कर्णालीका सांसद प्रदर्शित हुन आएका हैनौं’


हुम्लाकी सांसद रंगमति शाहीले कर्णालीमा सहज र सस्तोमा हवाई जहाजको व्यवस्था गरिदिन सरकारसँग बारम्बार माग गर्दा पनि नभएको बताइन् । ‘कर्णालीको समस्या समाधान गर्न ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाई हुन सकेन,’ उनले भनिन्, ‘हामी कर्णालीको सांसद यहाँ एड्भटाइज हुन आएका हैनौं । जनताको समस्या समाधान गर्न आएका हौं ।’


कर्णालीका जनतामा हवाइजहाज चढ्ने रहर नभई बाध्यता भएको उनले बताइन् । ‘त्यहाँका जनता बिरामी भएपछि उपचार पाउन, शिक्षा लिन र सुत्केरी हुन हवाईजहाज चढ्ने हो,’ उनले भनिन्, ‘मन्त्रीले दुर्गमको हवाई भाडा बढाउन सहमति दिनु भएको छ । यो कर्णालीका जनता माथि प्रहार हो ।’ भाडा वृद्धिको निर्णय फिर्ता नभए आन्दोलनमा उत्रने उनले बताइन् ।

प्रकाशित : जेष्ठ २७, २०७५ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?