१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बुधबार र बिहीबार ठूला नदीमा पानीको बहाव बढ्दै 

सचेत हुन विभागको सर्वसाधारणलाई आग्रह 
अब्दुल्लाह मियाँ

काठमाडौँ — आगामी बुधबार र बिहीबार कोशी, बागमती र नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघ्ने भएकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

बुधबार र बिहीबार ठूला नदीमा पानीको बहाव बढ्दै 

विभागको बाढी पूर्वानुमान शाखाले सोमबार बाढी बुलेटिन निकालेर ठूला नदीमा बाढीको जोखिम नभए पनि स–साना नदीहरुमा पानी परिरहेको बखत सचेतना अपनाउन ध्यानाकर्षण गराएको हो ।

‘कन्काई, कोशी, कमला, बागमती र नारायणी नदीमा सोमबारदेखि बुधबारसम्म पानीको सतह एक मिटर बढ्नेछ,’ बुलेटिनमा भनिएको छ । शुक्रबार पूर्वी नेपालबाट मनसुन सुरु भएसँगै बाढी पूर्वानुमान शाखाले देशभरका नदीमा सम्भावित बाढीको प्रक्षेपण सुरु गरेको छ ।

शाखाका अनुसार सोमबारदेखि बुधबारसम्म मध्यभागका धेरै जसो स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ । सोमबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने आंकलन गरिएको छ । मंगलबार पनि ती नदीमा पानीको मात्रा बढ्नेछ । यो वर्ष निर्धारित मितिभन्दा दुई दिन अघिदेखि मनसुन सुरु भएको छ ।


विभागले मनसुन अवधीभर २४ सै घण्टा कार्यालयमा बाढीविज्ञ परिचालन गरी देशैभरका नदीहरुमा पानीको प्रवाहरबारे अनुगमन गरिनेछ ।

मुख्य नदीहरु कोसी, गण्डकी, कणानली, बागमती र पश्चिम राप्तिलगायतका नदीहरुमा ३ दिन अगाबै बाढीको पूर्वानुमान गर्न सकिने गरी कम्प्युटर मोडलको विकास गरिएको विज्ञ विनोद पराजुलीले बताए । ती नदीमा पानीको बहाबबारे सरोकारवाला निकायहरुर्लाइ जानकारी पनि गराईनेछ ।

‘हामीले २४ घण्टादेखि तीन दिनपछिसम्मको बाढीको पूर्वानुमान गर्नेछौं’ उनले भने, ‘त्यसो हुदा संभावित दुर्घटनाबाट बच्न सकिन्छ ।’ विभागको बाढी पूर्वानुमान शाखाले मनसुन अवधिभर विहान ६ र बेलुकी ६ बजे विशेष बुलेटिन निकाल्नेछ ।

बाढी सतर्कता तह नजिक पुग्न लागेमा, सतर्कता तह पार गरेमा, खतरा तह पार गरेमा मुख्य नदी आसपास बस्ने जनतालाई लक्षित गरी नेपाल टेलिकम र एनसेलको मोबाईल सेटमा एसएमएस पठाईनेछ । देशैभरका सर्वसाधारणका लागि ११५५ नम्बरको टोलफ्री नम्बरबाट पनि सूचना दिइने पराजुलीले बताए ।




प्रकाशित : जेष्ठ २८, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?