१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

स्वास्थ्य मन्त्रालयबाट ७ सय ५३ थान सुर्तीजन्य पदार्थ बरामद

भिषा काफ्ले

काठमाडौँ — स्वास्थ्य मन्त्रालयको सुरक्षार्थ खटिएका प्रहरीहरुले मन्त्रालय परिसरबाट ७ सय ५३ थान सुर्तीजन्य पदार्थ जफत गरेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट ७ सय ५३ थान सुर्तीजन्य पदार्थ बरामद

सुरक्षकर्मीले मन्त्रालयका कर्मचारी तथा मन्त्रालयमा सेवा लिन आउने सर्वसाधरणको शरीर खानतलासी गरी उक्त परिणामको सुर्तीजन्य पदार्थ बरामद गरिएको हो ।


मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउने उद्देश्यले गत चैत ९ गतेदेखि स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालको निर्देशनमा सुर्तीजन्य पदार्थ लिएर मन्त्रालय प्रवेशमा रोक लगाइएको थियो । प्रवेश रोक लगाइएसँगै प्रहरीले मन्त्रालयका कर्मचारी र सेवाग्राहीको शरीर खानतलासी गरी सुर्तिजन्य पदार्थ बरामद गर्न थालेको थियो ।


चैत ९ देखि जेठ २७ सम्ममा सुर्ती, चुरोट र गुठ्खा गरी यतिको मात्रामा सुर्तीजन्य पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका सुर्तीजन्य पदार्थहरुमध्ये ४ सय ४० जनाबाट सोही संख्यामा सुर्तीको प्याकेट, ४४ जनाबाट ४४ प्याकेट चुरोट र १ सय ९६ प्याकेट गुट्खा बरामद गरिएको मन्त्रालयको सुरक्षा प्रमुख चन्द्र हमालले बताए ।


‘दुई महिनाको अवधिमा ७ सय ५३ थान सुर्तीजन्य पदार्थ बरामद गरेका छौँ ।’ उनले भने, ‘मन्त्रालयमा आउने सेवाग्राही र कर्मचारीको साथबाट निकालिएको हो ।’ चेकजाँचमा कडाइ गर्न थालिएसँगै पछिल्ला दिनमा सुर्तीजन्य पदार्थ बोकेर मन्त्रालय आउनेको संख्या कम हुँदै गएको उनले बताए ।


सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने प्रमुख नियमनकारी निकायको रुपमा रहेको स्वास्थ्य मन्त्रालयबाटै नियमनको सुरुवात गर्ने भन्दै अर्यालले मन्त्रालयको गेटमा प्रहरी राखेर चेकजाँच सुरु गरेकी थिइन् । मन्त्रालयमा कार्यक्रम प्रभावकारी भएसँगै सिंहदरबारलाई पनि सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन प्रस्ताव गरिएको अर्यालले जानकारी दिइन् ।


नवनियुक्त उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ प्राणघातक रोगको प्रमुख कारण भएकाले यसको नियमन र नियन्त्रणलाई निरन्तरता दिइने बताए । उनले मन्त्रालयमा भैरहेको चेकजाँच समेत प्रभावकारी भएको बताउँदै यसलाई निरन्तरता दिएर चेतनामूलक कार्यक्रमलाई पनि प्रथमिकता दिनुपर्नेमा जोड दिए ।


‘मन्त्रालयमा भएको चेकजाँचले जनमानसमा सकारात्मक सन्देश दिएको छ त्यो निरनतर हुन्छ ।’ उनले भने, ‘धुम्रपान मध्यपान भनेको मानिसको आनीबानीसँग जोडिएको कुरा हो, यो सकारात्मक चेतनाले मात्र प्रभाव पार्न सक्छ ।’


सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र सो ऐनलाई कार्यान्वयन गर्न बनेको निर्देशीकाले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाएको छ । त्यस्तै ऐनमा सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्नुपर्ने उल्लेख छ ।


सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि राम्रो ऐन बनाएको भनेर नेपाल सरकारले तीन वर्षअघि ब्लूम्र्ड टोवाको कन्ट्रोल अवार्ड पाएको थियो । कानुन राम्रो बनाएर अन्तर्राष्ट्रिय पुरस्कार पाएतापनि कार्यन्वयनको पाटो अत्यन्तै फितलो रहको सुर्तीजन्य पदार्थ विरुद्ध काम गर्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्द बताउँछन् ।

प्रकाशित : जेष्ठ २८, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?