कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तस्करी र हत्या मुद्दा : गोरेसहित मुख्य ३ अभियुक्तलाई काठमाडौं लगियो

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीहरुलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ । जिल्ला अदालतले आइतबार उनीहरुलाई पठाउने आदेश दिएको थियो । विभागमा बयानपछि उनीहरुलाई अनुसन्धान अवधिमा केन्द्रीय कारागारमा राखिने जनाइएको छ ।

सुन तस्करी र हत्या मुद्दा : गोरेसहित मुख्य ३ अभियुक्तलाई काठमाडौं लगियो

मुख्य प्रतिवादीहरु चूडामणि उप्रेती (गोरे), भुजुङ गुरुङ र डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई ललितपुर पठाउने आदेश दिएका थिए । गोरे र घले मोरङ जिल्ला कारागारमा थिए । गुरुङ सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।


जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान एवं कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको थियो । विभागले त्यही अभियोगपत्रका आधारमा थप अनुसन्धान र कारबाही अघि बढाउन उनीहरुलाई झिकाउने पत्राचार गरेको थियो । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले विभागले माग गरेअनुसार पछि फिर्ता पठाउने गरी स्थानान्तरणको आदेश दिएको हो ।


‘प्रारम्भिक जाँचबुझको क्रममा उल्लेखित प्रतिवादीहरुसँग कसुरको गम्भीरता समेतका आधारमा तत्काल केही कुरा बुझी जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने देखिएकाले निजहरुलाई सम्पत्ति शुद्धीकरणको कसुरको जाँचबुझका सिलसिलामा बुझ्नुपर्ने कुरा बुझी फिर्ता पठाउने’ भनेर विभागले पत्राचार गरेको थियो ।


सुन तस्करीमा प्रत्यक्ष रुपमा संलग्नता देखिएको भन्दै तीनैजनालाई जिल्ला अदालत मोरङले संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


यी तीनसहित यो मुद्दाका अभियुक्तहरुबाट १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै घलेसहित ६३ जनाविरुद्ध जिल्ला न्यायाधिवक्ताको कार्यालयले बैशाख १९ गते जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।


प्रकाशित : जेष्ठ २८, २०७५ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?