भ्रातृसंस्था पक्षमा पार्न नेताहरूको दौडधुप
काठमाडौँ — कांग्रेसका शीर्ष नेताहरूले पार्टीका भातृसंस्थालाई आफ्नो पक्षमा पार्न दौडधुप बढाएका छन् । नेपाल शिक्षक संघ र कर्मचारी युनियनपछि ट्रेड युनियन कांग्रेसलाई आफ्नो पक्षमा ल्याउन सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा सुरु भएको हो ।
महाधिवेशनमा प्रभाव पार्न सकिने भएकाले नेताहरू भ्रातृ संस्थालाई पक्षमा पार्न लागिपरेका हुन् ।
ट्रेड युनियन कांग्रेसको अधिवेशन जेठ २९, ३० र ३१ गते राजधानीमा हुँदै छ । प्रदेश र संघीय संसदको निर्वाचनमा पराजित भएपछि देउवा पक्षलाई कमजोर बनाउन पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीसहित संस्थापनइतर नेता एकजुट हुँदै आएका छन् । संस्थापनइतर पक्षले यसअघि शिक्षक संघ, इन्जिनियर्स संगठन र कर्मचारी युनियनमा पकड जमाइसकेको छ । यी भ्रातृसंस्था अधिवेशनअघि संस्थापन पक्षमा थिए ।
ट्रेड युनियन पक्षमा पार्न सभापति देउवा आफैं लागेका छन् । त्यस अतिरिक्त उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खडका, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेता पनि निरन्तर खटिइरहेका छन् । संस्थापनइतर पक्षबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र शेखर कोइरालासहित नेता भिडेका छन् । दुवै पक्षले पदाधिकारीसहित सदस्यहरूमा आ–आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।
ट्रेड युनियनका १७ पदाधिकारीसहित ४१ सदस्यका लागि चुनाव हुँदै छ । दुवै पक्षले उम्मेदवारी घोषणा गरिसकेका छन्् । संस्थापन पक्षबाट खिला दाहाल र संस्थापनइतर पक्षबाट पुष्कर आचार्यको प्यानल घोषणा भएको छ । दाहाल नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा अयोध्यायप्रसाद यादव, उपाध्यक्षहरूमा बमबहादुर बिसी, डिपी अर्याल, शंकर लामिछाने, युवराज लामा, नुर महम्मद रइम, महिला उपाध्यक्षमा कल्पना अधिकारी छन् । महासचिवमा सञ्जय मिश्र, उपमहासचिवहरूमा जनार्दन निरौला, काजीमान श्रेष्ठ, रञ्जन थापा, धिरेन्द्र सिंह, आत्माराम पौडेल, महिला उपमहासचिवमा कमला लामिछाने, कोषाध्यक्षमा रिसवदेव घिमिरे र सहकोषाध्यक्षमा तारा राई छन् ।
आचार्य नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्षहरूमा अजय राई, तेजेन्द्रजंग कार्की, ललितबहादुर श्रेष्ठ, आशासिंह राठोर, उपाध्यक्षमा नेत्रविक्रम थापा, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा छन् । त्यस्तै महासचिवमा योगेन्द्रकुमार कुँवर, उपमहासचिवहरूमा गणेशबहादुर केसी, ज्योति कोइराला, राजेश पालिखे, ईश्वर परियार, सीताराम अवस्थी, महिला उपमहासचिवमा राधिका कुइँकेल, कोषाध्यक्षमा मोहनकुमार बस्नेत, सहकोषाध्यक्षमा सुशीला घिमिरे छन् । ट्रेड युनियन कांग्रेसमा देशभरबाट १३ सय ७० मतदाता छन् ।
प्रकाशित : जेष्ठ २८, २०७५ १९:२३