कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अधुरै रह्यो दुवै खुट्टा टेकेर गाउँ घुम्ने सपना

विमल खतिवडा

काठमाडौँ — पूर्वसांसद नारायणबहादुर कार्कीले खुट्टा ठीक हुनासाथ निर्वाचन क्षेत्र फर्किएर मतदाता भेट्ने सपना साँचेका थिए । दैनिकजसो आफ्नो निर्वाचन क्षेत्र उदयपुर २ बाट शुभचिन्तकले फोन गर्दा भन्थे, ‘चाँडै ठीक भएर आउँछु, ढुक्क भएर बस्नुस् ।’ आफूलाई भेट्नकै लागि पैसा खर्च गरेर काठमाडौं नआउन सुझाउँदै आफैं गाउँमा आएर भेट्ने वाचा गरेका थिए ।

अधुरै रह्यो दुवै खुट्टा टेकेर गाउँ घुम्ने सपना

दाहिने खुट्टामा गम्भीर चोट थियो । सुरुमा ५ महिनासम्म त्रिवि शिक्षण अस्पताल बसेर उपचार गराए । खुट्टामा ८ केजीको उपकरण (स्टिल एलिजारो) राखिएको थियो । जब उनले चिकित्सकसँग खुट्टाका बारेमा परामर्श लिन थाले । सबैले काट्नुपर्ने सुझाव दिए । नकाटे खुट्टा पाक्ने, हिँडडुलमा समस्या हुने, दुखिरहने भएपछि पारिवारिक सल्लाहअनुसार उनी अस्पताल पुगे । ‘खुट्टै काटिएला भन्ने त लागेको थिएन,’ त्रिवि शिक्षण अस्पतालको ४०५ नम्बर कोठामा उपचारत ७० वर्षीय कार्कीले भने, ‘चिकित्सकले काट्नैपर्छ भन्ने सल्लाह दिएपछि घुँडामुनिको भाग काटिएको छ, दुवै खुट्टा टेकेर गाउँगाउँ पुग्छु भन्ने थियो, अब ती सपना अधुरै रह्यो ।’

‘मैले कत्ति पनि हिम्मत हारेको छैन,’ उनले भने, ‘खुट्टै काटिए पनि निर्वाचन क्षेत्र एकदिन पुग्ने नै छु, पुगेर सबै शुभचिन्तकलाई धन्यवाद दिन भुल्ने छैन ।’ उनको खुट्टा गत आइतबार काटिएको हो । कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कार्की २०७४ मंसिर १३ गते चुनावी सभामा भाग लिन जाँदा जिल्लाको दनुवारबेंसीमा विद्युतीय धराप (एम्बुस) मा परी गम्भीर घाइते भएका थिए । करिब एक महिना काठमाडौं कोटेश्वरस्थित डेरामा बसेर उनी पुन: जेठ १५ गते अस्पताल भर्ना भएका हुन् । उनी चढेको बोलेरो जिपमा ९ जना थिए ।

उनी र विद्यार्थी नेत्री मीरा कटुवाल गम्भीर घाइते भए । चालक एवं गाडीधनी राजन कार्कीसहित अन्य घाइते भए । ‘सबभन्दा ठूलो पीर अहिलेसम्म गाडीको क्षतिपूर्ति नपाउँदा लागेको छ,’ कार्कीले भने, ‘पार्टीका जो नेता भेट्न आउँछन्, सबैलाई गाडीको क्षतिपूर्ति दिलाइदिन माग गर्दै आएको छु, तर अहिलेसम्म सुनुवाइ भएन ।’

गाडीको क्षतिपूर्ति दिलाइदिए आधा तनाव घट्ने उनी बताउँछन् । चालक कार्कीले २५ लाखमा जिप किनेको एक वर्षमात्र भएको थियो । क्षति मूल्यांकन गर्ने क्रममा जिल्ला प्रशासनले २० लाख मूल्यांकन गरी गृह मन्त्रालयमा पठाएको थियो । ‘मेरोभन्दा गाडी चलाएर जीविका चलाउंँदै आएका राजनको दैनिक रोजीरोटीमा समस्या छ,’ उनले भने, ‘सधैं आएर गुनासो गर्छन्, तन्दुरुस्त भए आफैं गएर क्षतिपूर्ति दिलाउन लागिपर्थें, आफ्नो हालत यस्तो छ, त्यसैले गाडीको क्षतिपूर्ति उपलब्ध गराइदिएदेखि मेरो आधा तनाव घट्ने थियो ।’ त्यस्तै औषधि उपचारमा लागेको करिब ५ लाख रुपैयाँ पनि उनले पाउन सकेका छैनन् ।

‘०४३ सालमा शिक्षण पेसाबाट राजीनामा दिएर पूर्ण रूपले राजनीतिमा सक्रिय भएँ, यो क्षेत्रमा लाग्दै गर्दा आज आएर खुट्टा गुमाएँ,’ उनले भने, ‘तर हिम्मत हारेको छैन, सास रहुन्जेल आस हुन्छ, एउटा खुट्टा गुम्दैमा सबै कुरा गुम्दैन, शीर्ष नेताको हौसला र साथले ठूलो हिम्मत मिलेको छ, त्यसैले कत्ति पनि निराश छैन ।’ उनलाई भेट्न आउनेको दैनिक अस्पतालमा भीड हुने गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत नेता भेट्न पुगेका थिए । ‘उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्छ, चिन्ता नलिनु,’ पार्टी सभापतिको भनाइ उद्धृत गर्दै कार्कीले भने, ‘प्रधानमन्त्री केपी ओलीसँग कुरा भएको छ, नभए पार्टीले चन्दा उठाएर भए पनि उपचारमा लागेको सबै खर्च तिर्छ, ढुक्क भएर उपचार गर्नु ।’

कार्की ०६४ देखि निरन्तर संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै आएका छन् । छोरा नीरज कार्कीका अनुसार डा. गोविन्द केसी नेतृत्वको चिकित्सक टोलीले खुट्टाको अप्रेसन गरेको हो । ‘अप्रेसन भएको धेरै भएको छैन,’ उनले भने, ‘घाउको अवस्था हेरेर करिब एक/डेढ महिनासम्म अस्पताल बस्नुपर्ने चिकित्सकले जानकारी दिएका छन् ।’

प्रकाशित : जेष्ठ २९, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?