२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

वर्षाको कारण कोशीमा जलयात्रा अनियमित

तीन महिना स्थगित हुने
प्रदीप मेन्याङ्बो

सुनसरी — कोशीमा पानीको बहाव बढेसँगै जेटबोट सञ्चालनमा चुनौती थपिएको छ । नदीमा पानीको बहाव बढेपनि जलयात्रा सेवा पूर्णरुपमा बन्द भने गरिएको छैन ।

वर्षाको कारण कोशीमा जलयात्रा अनियमित

नदीमा पानीको सतह घटेको र केही सङ्लिएको संकेत पाउने बित्तिकै जेटबोट सञ्चालन गर्ने गरिएको छ ।


अनियमित रुपमा जेटबोट चल्ने गरेकाले यात्रुहरु मारमा परेका छन् । २५ देखि ३५ जना यात्रु बोकेर शनिबारको दिन आठ ‘ट्रिप’ र अन्य दिन पाँच ‘ट्रिप’ लगाउदै आएको जेटबोट नदीले बगाउने रुखका कारण मंगलबार बिहान एक ट्रिपमात्र यात्रु ओसार्न पाएको थियो ।


गत चैत १९ गतेदेखि कोशी नदिमा व्यवसायिक रुपमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले जेटबोट सञ्चालन गरेको हो । बर्षायाम सुरु भएयता कोशीले ठूला ठूला रुखै बगाएर ल्याउन थालेकाले यात्रुको सुरक्षाका कारण जेटबोट सञ्चालन गर्न चुनौती थपिएको हो ।


व्यवसायिक रूपमा जेटबोट सञ्चालन हुन थालेपछि दुधकोशीतर्फ भोजपुरको हतुवागडी, चुहार, आमचोकसम्म र अरुण नदीतर्फ धनकुटाको सहिदभूमि गाउँपालिकाको सिम्लेसम्म जेटबोट सञ्चालन हुँदै आएको छ ।


जेटबोट सञ्चालनले भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराहक्षेत्रसँग जोडेको छ । कोशी किनारको अक्करे भीरसँगै उकालो ओरालो गोरेटोमा घण्टौँ पैदल हिड्नु पर्ने दुरीलाई जेटबोटको जलयात्राले २० देखि ३० मिनेटमा पुर्‍याउने गरेको अवस्था छ ।


बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सदस्य अमित भगतले धेरै वर्षा भएमा तीन महिनाका लागि जेटबोट सञ्चालन स्थगित गर्ने बताए । असोजदेखि थप अर्को जेटबोट पनि सञ्चालन गर्ने तयारी भइरहेको भगतले बताए ।

प्रकाशित : जेष्ठ २९, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?