कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

टिप्पणीः के विश्वशक्ति एसियातर्फ सोझिएको हो ?

शक्तिशाली प्रजातान्त्रिक मुलुकको पाका राष्ट्रपति र तेस्रो पुस्ताको युवा 'तानाशाह' बीचको वार्ता सफल झै देखिएको छ ।
चन्द्रशेखर अधिकारी

काठमाडौँ — विश्वलाई नै आश्चर्य झै लाग्ने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भएको सम्झौताले एसियाको साख बढाएको छ । परापूर्व कालदेखि विश्वको नेतृत्व गर्दै आएको एसिया पछिल्लो शताब्दिमा पछि पर्दै आएको हो ।

टिप्पणीः के विश्वशक्ति एसियातर्फ सोझिएको हो ?

अहिले आफ्नो साख बढाउँदै छ । पश्चिमाको नेतृत्व स्वीकार गरेर अघि बढ्न बाध्य भइरहेको अवस्थामा यसप्रकारको वार्ता एसियाको सुन्दर र निकै सुरक्षित टापु मुलुक सिंगापुरमा हुँदा विश्वको ध्यान एसियातर्फ सोझिएको हो । हाम्रा छिमेकीद्वय चीन र भारतको आर्थिक उदयसँगै पनि विश्वको ध्यान यता पर्दै गएको थियो ।


अमेरिका–उत्तर कोरिया वार्ता यस प्रकारको इतिहासकै पहिलो भएको र यसले दशकौंदेखि दुई देशबीच चलिरहेको द्वन्द्व र शत्रुतालाई अन्त्य गर्दै सम्बन्धका नयाँ आयामहरु खोलेका कारण यस दुई पक्षीय सम्झौताका बुँदाहरु पालना गर्न राष्ट्रपति ट्रम्प र नेता किम पूर्ण रुपमा कटिबद्ध रहने बताइएको छ ।


उनीहरुबीच ‘बृहत’ सम्झौता भइरहँदा विश्व नै सिंगापुरमा भए झै देखिएको थियो । सिंगापुरमा दुईपक्षीय वार्तापछि एक पाका र युवा नेताबीच सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतालाई शक्तिशाली प्रजातान्त्रिक देशको राष्ट्रपति र तेस्रो पूस्ताको तानाशाहबीचको सफल र उपलब्धिमूलक वार्ताको रुपमा एएफपीले चित्रण गरेको छ ।


ट्रम्प–किम शिखर वार्ता केही महिनादेखि विश्व समाचारको आकर्षण बन्दै आएको थियो । उनीहरुबीच करिब ४५ मिनेट एक्ला एक्लै (वान–अन–वान) बार्ता भएको थियो । उक्त वार्तापछिको प्रतिक्रिया सुन्दा अब विश्वको एक त्रास साम्य भएको आभास दिए । उक्त ऐतिहासिक शिखर वार्ताले कोरियन प्रायद्वीपलाई आणविक निस्शस्त्रीकरण गर्ने र स्थायी शान्ति स्थापना गर्ने विश्वास विश्वले लिए पनि ढुक्क भएका छैनन् ।


वार्ताका एक पक्ष अर्थात अहिलेको आकर्षणको रुपमा हेरिएको युवा नेता किम स्वयंले ट्रम्पसँगको वार्ताका दृश्य विश्वले हेरिरहेको र आफूहरुको यो वार्तालाई कुनै काल्पनिक फिल्मको दृश्य झैँ मानेको हुनसक्ने समेत बताए । ‘यहाँसम्म आइपुग्न निकै कठिन थियो । धेरै बाधा अड्चन पनि थिए,’ किमले भने ।


यस्तै ट्रम्पले आफ्नो मुलुक प्रेमी र निकै चलाख युवा नेतासँग वार्ता निकै राम्रो भएको सुनाए । ‘सबैले वार्ता नहुने अनुमान गरिरहेको भएपनि ऐतिहासिक शिखर वार्ता भएको र यो राम्रो दिमा अगाडि बढिरहेको छ,’ ट्रम्पले पत्रकारसँग भने ।


पूर्वपरराष्ट्र सचिव मधुरमण आर्चायले कोरियन प्रायद्वीपमा शान्ति हुँदा यस महादेशलाई अघि बढ्न सहज हुने बताए । ‘यो वार्ताले यस क्षेत्रको त्रास अन्त्य गर्ने आश देखाएको छ । वार्ता पनि किमले चाहे अनुसार नै भएको देखिन्छ,’ राष्ट्रसंघका स्थायी प्रतिनिधी समेत भइसकेका र इराकमा काम गरिसकेका आचार्यले भने, ‘भएका सहमतिमा आगामी कदम कसरी अघि बढ्छ त्यसमा नै सबै विषय अडेको हुन्छ ।’


अमेरिकाले इरानमा गरेको सम्झौता नै फिर्ता गरेको हुनाले सम्झौता हुदैमा सबै भयो भन्न मिल्दैन यसको फलोअप कसरी हुन्छ त्यसमा यो शान्ति प्रक्रिया निर्भर गर्ने उनले बताए । ‘यो नयाँ विकास हो यसको सकारात्मक पक्ष भनेको एसियामा विश्वको ध्यान केन्द्रित भएको छ,’ उनले भने ।


सिंगापुर वार्ता निष्कर्षमा पुगे उत्तर–पूर्वी एशियामा स्थायी शान्ति बहाल हुनेछ । यो भ्रमणलाई अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणलाई दाजेर हेरिएको छ । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीन भ्रमणपछि चीनमा आएको परिवर्तन झैँ, ट्रम्प–किम वार्ताले पनि उत्तर कोरियामा परिवर्तन ल्याउने आँकलन विश्वको छ ।


यद्यपी चीन र उत्तर कोरियाको ‘मूल्य, मान्यता र अर्थतन्त्र’ फरक छ । यो वार्तामा अमेरिका वा उत्तर कोरिया को माथि पर्‍यो भन्ने भन्दा पनि यसले दिने नतिजा र यस क्षेत्रको शान्ति नै महत्वपूर्ण हो ।


दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेको धारणामा ट्रम्पले ऐतिहासिक काम गर्न सक्छु भन्ने आफ्नो धारणालाई पुष्टि गर्ने काम गरेको बताए । कुनै पनि राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग यसरी वार्ता गर्न सकेका थिएनन् ।


राष्ट्रपतिको कार्याकाल सकेपछि बन्दी रिहा गर्न विल क्लिनटन उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिए । त्यसबाहेक उच्च तहमा छलफल नै भएको थिएन । ‘ऐतिहासिक भ्रमण हो तर हस्ताक्षर भएकै आधारमा सफल भन्न मिल्दैन । निर्णायक काम पनि देखाउन आवश्यक छ,’ डा. पाण्डेले भने, ‘ज्यादै गरिबी र पछौटेपनमा परेको मुलुकले विश्वमा प्रवेश गर्न खोजेको छ ।


जुन त्यति सहज भने पक्कै छैन । यद्यपी आन्तरिक खपतको लागि दुवै नेता सफल भएका छन् ।’ यो शान्ति बाहल भएका यस क्षेत्रलाई समेत राम्रो हुने उनको धारणा छ ।


ट्रम्पलाई झुक्न नजान्ने नेताको रुपमा हेरिएको भन्दै डा. पाण्डेले भने, ‘उनको सिंगापुर पुग्ने प्यासन चानचुने होइन । भित्री दुनियाँमा रमाउने उत्तर कोरियालीहरु बाहिर निस्केर विश्व शक्तिसँग आँखा जुधाएर वार्ता गर्नुलाई पनि कम आँकलन गर्न मिल्दैन ।’


उत्तर कोरियाको आणविक परिक्षणले विश्व तर्सीरहेको अवस्थामा अमेरिकाले देखाएको लचकता र उत्तर कोरियाको वार्ता स्वीकार आफैँमा मह्त्वपूर्ण रहेको बताए । एअर चाइनाको विमान चढेर सिंगापुरमा वार्ताको लागि पुगेका किमलाई विश्वले हेर्ने नजर फरक देखिएको छ । उनी चिनियाँप्रति निकट रहेको यो पछिल्लो उदाहरण हो ।


चीनले उत्तर कोरियासँगको सम्बन्धलाई ‘दात र जिब्रोको जस्तो’ भएको बताउँदै आएको छ भने उत्तर कोरियालाई प्रवेश ढोकाको रुपमा समेत लिएको अवस्थामा चीनको विश्लेषणले खास अर्थ राख्नेछ । विश्व समुदायले वार्ताबारे चिनियाँ राष्ट्रपति सी चिनफिङको धारणा पर्खिरहेका छन् । चिनियाँ संचारमाध्यमहरुले यसलाई नयाँ गन्तव्यको रुपमा व्याख्या गरेपनि राष्ट्रपति स्तरबाट औपचारिक धारणा अझै आएको छैन ।


‘अब विश्वको ध्यान कोरियन पेनिन्सुलाको शान्तिमा जानेछ । जसले गर्दा अन्य विषय साउथ चाइना सी लगायतका कुराहरु ओझेलमा पर्ने र प्रक्रिया अघि बढ्न सक्नेछ,’ परराष्ट्र मामिला अध्येता चन्द्रदेव भट्टले भने, ‘सम्झौता आफैमा पूर्ण रहदैन । यसको आडमा हुने आगामी कदम के कस्ता हुन्छन् त्यसबाट दिगो शान्ति तय हुनेछ ।’


उक्त क्षेत्रमा कुन प्रकारको असर पर्छ भन्ने विषय पनि ध्यान दिनुपर्ने हुन्छ कोरियाली प्रायद्वीपमा पर्ने प्रभाव दक्षिण एसियासम्म आइपुग्नेछ । नेपाल जस्तो मुलुकमा देखिने खालको कुनै प्रभाव नपरेपनि अप्रत्यक्ष प्रभाव पर्ने धारणा तिनै विज्ञहरुको छ ।


अबको युग एसियाको भन्नेतर्फ गइरहेको अवस्थामा विश्वकै ऐतिहासिक वार्ता एसियामा नै भएको छ । वार्तापछिको दृष्य र दुई नेतामा देखिएको खुशी हेर्दा यो सफलतातर्फ नै उन्मुख हुने अड्कल काट्न सकिन्छ ।


अमेरिकासँग निकट जापान र दक्षिण कोरियाले यसलाई कसरी हेर्छन् र चीनले यसमा कुन भूमिका निर्वाह गर्छ यो महत्वपूर्ण हुन्छ । सिंगापुरकै सुरक्षित टापुको क्यापिला होटल अगाडि ओर्लदा निकै ‘नर्भस’ देखिएका विश्वकै आकर्षणको केन्द्रमा रहेका नेताहरु वार्तापछि भने निकै ढुक्क देखिन्थे । यसबाट पनि केही ‘ब्रेक थ्रु’ भएको महसुस गर्न सकिन्छ ।


आरम्भमा असहज महसुस गरेको देख्न सकिएको अन्तर्राष्ट्रिय संचारमाध्यले देखाएका थिए तर उनीहरु दुवैजना मुस्काउने मात्र होइन टेलिभिजनमा देख्न सकिन्थ्यो फोटो पत्रकारको आग्रहलाई स्वीकार गर्दै पटकपटक हात मिलाइरहेका थिए । त्यसपछि भएका चार बुँदे बृहत सम्झौतापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित हुने संकेतको रुपमा विश्लेषण गरिएको छ ।

लामो समयको धम्कीपूर्ण आरोप प्रत्यारोपपछि ट्रम्प र किमबीच भएको वार्तामा ट्रम्पले किमको प्रशंसा गरेका थिए । २६ वर्षको उमेरमा नै सत्तामा आएर देशलाई चलाएको किम निकै प्रतिभावान नेता रहेको बताउँदै भने ,‘युद्ध जो कसैले पनि गर्न सक्ने तर, शन्ति साहसी नेताले मात्र स्थापना गर्नसक्छ ।’ छलफलको अन्त्यमा दुवै नेताले एक अर्काको मुलुक भ्रमण गर्ने वाचा सहित सम्पन्न हुनु अर्को आइसब्रेक हो ।


दक्षिण कोरियामा मुन जे इन राष्ट्रपति भएदेखि नै दुई कोरियाको सम्बन्ध सुधार हुँदै अमेरिकी सम्बन्ध पनि सधार हुने अपेक्षा बढिरहेको थियो । २०१८ को आरम्भमा नै शान्तिको पहल भएको थियो । उक्त पहलले पाएको सार्थकताले आगामी दिनमा उचाई लिएमा विश्वको शक्ति सन्तुलन समेत अर्कै चरणमा पुग्नेछ । त्यसको प्रभावबाट दक्षिण एसियाली मुलुकहरु टाढा रहन सक्दैनन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?