कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरकारविरुद्ध आन्दोलन गर्ने दिन आउँदैछ : कांग्रेस

सभामुख र उपसभामुख मध्ये एक पद छाड्न नेकपालाई चेतावनी   
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसका शीर्ष नेताहरुले सरकारका निर्णय र गतिविधि संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि विरुद्ध देखिएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन ।

सरकारविरुद्ध आन्दोलन गर्ने दिन आउँदैछ : कांग्रेस

नेपाल कम्यूनिष्ट पार्टीका शीर्ष नेताहरुबाटै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरीरहेका बेला कांग्रेसले त्यसलाई लोकतान्त्रिक गणतन्त्रमाथिको खतराका रुपमा लिएको छ ।


नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ अधिवेशनको मंगलबार भएको उद्घाटन सत्रमा नेताहरुले कांग्रेसलाई एक्ल्याएर कम्यूनिष्ट शासन लाद्न खोजिएको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन् ।


कांग्रेस सभापति शेरवहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने दिशामा प्रधानमन्त्री केपी ओली लागेको भन्दै त्यसबिरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।


‘यो सरकारविरुद्ध चाडै नै आन्दोलनको घोषणा गर्नुपर्ने दिन आउँदैछ’ देउवाले भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको राष्ट्रवादको नारा लम्पसारवादमा परिणत भएको बताए ।


कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सञ्चालनका लागि सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई भन्दा बढीको समर्थन हुनेगरी सरकारमा सबैलाई ल्याउन खोज्नु रहस्यमय भएको बताए । ‘यो घटना रहस्यमय र शंकास्पद छ, कांग्रेस समयमै सतर्क हुनुपर्छ’ उनले भने, ‘संविधान संशोधनको चर्चा, प्रादेशिक संसदमा प्रधानमन्त्रीको सम्बोधन, लोकतान्त्रिक संरचनामाथि नियन्त्रित अभ्यास राज्यसत्ता केन्द्रीकृत गर्ने योजनाबाट आएको छ । यसका विरुद्ध हामी लड्नुपर्ने हुन्छ ।’


उनले प्रतिपक्षीय भूमिका फितलो भएको भन्दै संसद र सडकमा समेत आर्थिक र भौतिक रुपमा सम्पन्न कम्युनिष्टहरुविरुद्ध संघर्ष गर्नुपर्ने दिन आएको बताए । यसका लागि पार्टीभित्र एकता आवश्यक रहेको उनले बताए ।


उपसभापति विमलेन्द्र निधिले कम्यूनिष्ट नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने दिशामा संविधान विपरितका काम गर्न थालेको बताए । महामन्त्री सशांक कोइरालाले कर्‍याङकरुङ चराको उडान जस्तै कांग्रेसमा एकताको उडान आवश्यक रहेको बताए । ‘कांग्रेसलाई सम्पूर्ण रुपमा एकजुट नबनाएसम्म हामी कम्यूनिष्टसंग जुध्न सक्दैनौ’ उनले भने,‘मेरो अभियान कांग्रेसलाई एक बनाउने छ । यसमा सबैले साथ दिनुहोला ।’


पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रकृयामा आएको माओवादीको विप्लव समूहले जंगलमा बसेर हिंशाको घटना सुरु गर्न थालेको भन्दै त्यसविरुद्ध सरकार गम्भिर नभएको भन्दै आपत्ति जनाए । ‘सत्ता र जंगलमा समेत कम्यूनिष्ट छन, कांग्रेस बीचमा एक्लो बनेको छ’ उनले भने,‘कांग्रेसलाई एक्लो बनाएर शान्ति प्रकृयालाई असफल बनाउने प्रयास भएको छ ।’


कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले भविष्यका चूनौतिहरुलाई सामना गर्न सक्ने क्षमताको पार्टी बनाउनु पर्ने भन्दै एकतामा जोड दिए ।


सभामुख र उपसमामुख मध्य एक छोड्न मागः

कांग्रेस नेताहरुले नेपाल कम्यूनिष्ट पार्टीलाई सभामुख र उपसभामुख मध्य एक छाडेर संविधानको पालना गर्न आग्रह गरेका छन । नछाडेमा संसद अबरुद्ध गर्नेसम्मको चेतावनी नेताहरुले दिए । अहिले सभामुख र उपसभामुख दुवै पदमा नेपाल कम्यूनिष्ट पार्टीका नेता छन् ।


म बुढो भएको छैन : देउवा

पार्टीभित्रै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज मुखरित भइरहेका बेला सभापति देउवाले भने मलेसियाको प्रधानमन्त्रीको उदाहरण दिँदै आफू बुढो नभएको बताएका छन् । ‘मलेशियामा ९२ वर्षमा नेता प्रधानमन्त्री भएका छन्, म त बल्ल ७४ वर्ष भएको छु’ देउवाले भने, ‘अहिल्यै हट्न पर्‍यो भन्न भएन नि ।’ उनले त्यसो भन्दा सम्पूर्ण हल हाँसोले गुन्जिएको थियो । देउवाले आफूविरुद्धको आलोचनाको सफाइ दिदै आफ्नो अनुकूलमा विधान र सहमतिको कुरा नझिक्न आग्रह गरे ।


‘पार्टी कि त विधान अनुसार कि त सहमति अनुसार चल्नुपर्छ, आफुलाई सहमति चाहिँदा सहमतिको कुरा, विधान चाहिदा विधानको कुरा गर्न भएन’ देउवाको भनाई थियो,‘हिजो गिरिजाप्रसाद र सुशील कोइरालाबिरुद्ध बोल्न नसक्ने, आज म विरुद्ध जति बोले पनि भएको छ ।’ त्यसअघि वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिटौला र युवा नेता थापाले नेतृत्वमा परिवर्तनको आवश्यकता रहेको बताएका थिए ।


पौडेलले पार्टी नसच्चिएसम्म अघि बढ्न नसकिने बताए भने सिटौलाले पार्टीभित्र सामन्तवाद प्रवृति हावी भएको बताए । ‘न्याय, निष्पक्षता र पारदर्शीतासहितको मुल्याकंनले मात्रै पार्टी अघि बढ्न सक्छ’ पौडेलेको भनाई थियो,‘विधानको दाहारभित्र रहेर नेतृत्व चल्नुपर्छ । मेलमिलापको आधार त्यहि हो ।’ सिटौलाले प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा पार्टी नेतृत्वबाट व्यापक विकृति भित्रिएको बताए । युवा नेता थापाले पार्टीलाई पुरानो ठाउँमा नभएर नयाँ ठाउँमा पुर्‍याउने अभियान सुरु गर्नुपर्ने बताए ।


सभापतिले पुरानै ठाउँमा पुर्‍याउने उद्घोष गरीरहेका बेला थापाले भने पुरानो ठाउँमा पुर्‍याएर कांग्रेस एक नम्वरको पार्टी हुन नसक्ने बताए ।

प्रकाशित : जेष्ठ २९, २०७५ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?