२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बीपी राजमार्ग: ढुवानी रोकिँदा व्यवसायी आन्दोलित

१० टनभन्दा माथिका सवारी चलाउन नपाइने सर्वाेच्चको आदेश पुनरवलोकनको माग
टीकाप्रसाद भट्ट

रामेछाप — सर्वोच्च अदालतले बीपी राजमार्गमा १० टनभन्दा माथिका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जिल्लाका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मंगलबार रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा विरोध र्‍याली निकाली आदेश पुनरावलोकनको माग गरे ।

बीपी राजमार्ग: ढुवानी रोकिँदा व्यवसायी आन्दोलित

व्यवसायीहरू टाउकोमा कालोपट्टी बाँधेर प्लेकार्डसहित र्‍यालीमा सहभागी भएका थिए । उनीहरूले समस्या सुल्झाउन दबाब दिन साताव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेका छन् । ३० गते २ घण्टा व्यवसाय वन्द गर्ने, ३१ गते मोटरसाइकलमा मालसामान राखेर ढुवानी गर्ने, असार १ गते ढाकर (थुन्से) मा सामान बोकेर बजार परिक्रमा गर्ने र २ गते सिठी जुलुस निकाल्ने व्यवसायीको निर्णय छ ।


सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले जेठ २१ गते बीपी राजमार्गमा ठूलो भारका सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसयता तराई हुँदै रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीकै महाभारत उत्तरतर्फको क्षेत्रमा ढुवानी ठप्प छ । पूर्वी तराईबाट खाद्यान्नलगायत सामग्री नारायणघाट, काठमाडौं, बनेपा, चरिकोट हुँदै रामेछाप ढुवानी गर्नु समय, इन्धन, प्रतिस्पर्धा र सुलभताका हिसाबले उचित नहुने व्यवसायीले दाबी गरेका छन् । बीपीको बदला उक्त मार्ग प्रयोग गर्दा ढुवानी भाडा चौबर लाग्ने उनीहरूको जिकिर छ ।


बीपी राजमार्गमा सञ्चालन हुँदै आएका ३२ सिट क्षमताका बस रोकिएपछि स्थानीय यात्रुलाई सवारीसाधन पाउन मुस्किल छ । केही यात्रुले तराईबाट टेम्पो रिजर्भ गरेर यात्रा गरिरहेका छन् । ठूलो संख्यामा चल्ने सुमो र हाइसमा सोझै काठमाडौं र तराईसम्मका यात्रु भरिएर आउने गरेका छन् । विगतमा ८ टन सामान बोकेर गुड्ने ६ चक्के ट्रक रोकिँदा निर्माण सामग्री ओसारपसार ठप्प छ । रामेछाप र दोलखादेखि ट्याक्टरहरू सामान लिन सिन्धुली झर्न थालेका छन् । ट्याक्टरमा रड ढुवानी गर्नुपर्दा दुर्घटनाको जोखिम बढेको व्यवसायी पवन सापकोटाले बताए ।


जनकपुरको महेन्द्रनगर र बाराको अमलेखगन्जबाट रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीको उत्तरी क्षेत्रमा आउने ट्यांकर रोकिँदा इन्धन अभाव चुलिएको छ । तेल, चामल, मैदा, चिनीजस्ता सामग्री पाइन छाडेको छ । स्थानीय प्रशासनले ढुवानी समस्याको समाधान खोजी गरेको छैन । सिमेन्ट, छड र इँटा ढुवानी रोकिँदा निर्माणाधीन भवनहरूको काम पनि रोकिएको छ ।


यसैबीच प्रदेशसभामा सांसदहरूले ढुवानी रोकिँदा चौतर्फी असर परेको जनाएका छन् । सिन्धुली, रामेछाप, दोलखा र काभ्रेका सांसदहरूले संयुक्त दस्तखत गरी सर्वोच्चलाई विषयको गाम्भीर्य बुझेर निर्णय दिन माग गरेका छन् ।


पुनर्निर्माण अलपत्र

बीपी राजमार्गमा ठूला ढुवानी साधन चल्न रोक लगाइँदा जिल्लामा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । असार मसान्तसम्म दोस्रो किस्ताबराबरको काम सक्ने चटारो चलिरहँदा निर्माण सामग्री अभाव भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो किस्ताका लागि असार अन्तिमसम्मको समयसीमा तोकेको छ । सामग्री अभावमा सयौं निजी आवासको काम रोकिएको छ ।


बीपी राजमार्ग भएर तराईका उद्योगबाट इँटा, सिमेन्ट, छड र जस्तापातालगायत निर्माण सामग्री जिल्ला भित्रिने गरेका थिए । सर्वोच्च अदालतले राजमार्गमा १० टनभन्दा बढी भारका गाडी चल्न नदिन अन्तरिम आदेश जारी गरेपछि सातायता कुनै सामान भित्रिएको छैन । सामग्री अभावमा सदरमुकाममा निर्माणाधीन सरकारी कार्यालयहरूकै भवन अलपत्र छन् ।


प्रमुख जिल्ला अधिकारीको आवाससहित एक दर्जन सरकारी कार्यालयको भवन निर्माणमा खटाइएका कामदार घर फर्कन थालेका छन् । खानी निर्माण सेवाका उज्जल सुवेदीका अनुसार सामग्री ढुवानीमा अवरोध भएपछि सरकारी भवन तोकिएको समयसीमाभित्र सम्पन्न गर्न चुनौती थपिएको छ । सिन्धुलीसम्म १२ चक्के मालवाहक साधन आउने गर्छन् । त्यसभन्दा उत्तरतर्फ ४ टनभन्दा बढी सामान बोक्ने सवारी गुड्न पाउँदैनन् । रड ल्याउन ४ टन बोक्ने साधनमा सम्भव छैन । ‘सिमेन्ट ८० बोराका दरले भए पनि साना साधनमा ओसार्ने थियौं तर रड कसरी ल्याऊँ ?’ सुवेदीले भने ।


केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक तपेन्द्रबहादुर खडकाले ढुवानी साधन रोकिँदा पुननिर्माण कार्यमा गम्भीर व्यवधान उत्पन्न भएको बताए । पुनर्निर्माण कार्य अनुगमनका लागि मंगलबार रामेछाप आइपुगेका उनले यो विषयलाई राष्ट्रिय समस्याका रूपमा समाधन खोजिनुपर्ने औंल्याए । ‘अब पनि भूकम्पपिडितले जस्ताको टहरामै बिताउनुपर्ने अवस्था राम्रो हुँदैन,’ खडकाले भने, ‘पुनर्निर्माणले गति लिएका बेला ढुवानीे समस्या बल्झँदा फेरि पछाडि धकेलिनुपर्ने अवस्था आएको छ ।’


जिल्लामा झन्डै ४३ हजार घर बनाउनुपर्ने भए पनि अहिलेसम्म करिब १० हजार मात्र सम्पन्न भएका छन् । अधिकांश भूकम्पपीडितले चाँडो काम सकेर तेस्रो किस्ता लिन तयारी गरिरहँदा सिमेन्ट, रड र जस्तापाता अभाव देखिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना प्रमुख परीक्षित कडरियाले बताए । उनले ढुवानी समस्या नसुल्झिएसम्म पुनर्निर्माण कार्य रोकिने जनाए । जिल्ला सदरमुकामसम्म काठमाडौंबाट दोलखा हुँदै पुग्ने सडकमार्ग सञ्चालनमा छ । तर त्यताबाट सामान ल्याउन समय र खर्चका हिसाबले उपयुक्त छैन ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?