वीरगन्जमा रगत अभाव

शंकर आचार्य

पर्सा — वीरगन्जमा मागको तुलनामा रगत अभाव देखिएको छ । गर्मीमा रक्तदान कम हुने र बिरामी पनि बढ्ने भएकाले रगत अभाव हुने गरेको छ । पछिल्ला दिन ‘ओ’ र ‘बी’ पोजिटिभ रगतको माग ह्वात्तै बढेको छ ।

माग बढिरहे पनि रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको मौज्दात स्वात्तै घटेको छ । शनिबार सिर्सिया खल्वाटोलामा रक्तदान कार्यक्रमबाट ६० पोका रगत संकलन हुँदा पनि आइतबार केन्द्रमा करिब १ सय २५ पोका रगत मात्र मौज्दात छ ।


रेडक्रस सोसाइटी वीरगन्जका सहायक राजन श्रीवास्तवले पर्सादेखि रौतहटसम्मै रक्तदान गर्ने प्रवृत्ति अत्यन्त कम रहेकाले अभाव हुने गरेको बताए । ‘सर्वसाधारणमा अझै पनि रक्तदानसम्बन्धी चेतनाको कमी छ,’ उनले भने, ‘आवश्यकता परेर आउनेहरू पनि सट्टाबापतको रगत दिन हच्किन्छन्, उनीहरू बिरामी आफ्नो छिमेकी वा परको नातेदार रहेको भनी ढाँट्छन् ।

Yamaha


उनका अनुसार रगतको आवश्यकता जतिबेला जोसुकैलाई पर्न सक्ने थाहा पाएर पनि बुझ पचाउने धेरै हुन्छन् । वीरगन्जमा उपक्षेत्रीय स्तरको सरकारी अस्पताल र निजी अस्पताल तथा पोलिक्लिनिक पनि एक दर्जन हाराहारी रहेकाले दैनिक ठूलो परिमाणमा रगत आवश्यक पर्ने गरेको श्रीवास्तवको भनाइ छ ।


भारतदेखिका बिरामी उपचार गराउन आउने भएकाले रगतको अत्यधिक माग हुने गरेको छ । केन्द्रमा दैनिक ५० देखि ६० पोका रगतको माग आउने गरेको उनले बताए । ‘रगत माग्न आउनेलाई खाली हात फर्काउन सकिंदैन, गम्भीर बिरामीको हकमा हामी सिफारिस पनि खोज्दैनौं,’ उनले भने, ‘तर आपूर्ति र वितरणको तालमेल मिलाउन अत्यन्तै गाह्रो भइरहेको छ ।’


डेढ वर्षअघि केन्द्रमा रगत ‘सेपरेटर कम्पोनेन्ट मेसिन’ पनि प्रयोगमा ल्याइएको छ । यसबाट एक पोका रगतलाई तीन पोकासम्म बनाउन सकिन्छ । रक्तदाताले दिने रगतबाट अब रिच प्लाज्मा, प्याक्सेल र फ्रेस फ्रोजन प्लाज्मा गरी रक्ततत्त्वलाई ३ श्रेणीमा विभाजन गर्न सकिन्छ । केन्द्रकी प्राविधिक दिल्लीमाया घिमिरेका अनुुसार प्याक्सेल रातो रगत हो भने पीआरपी र फ्रेस फ्रोजन प्लाज्मा सेतो तत्त्व हो ।


नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार फ्रेस फ्रोजन प्लाज्मा रगत बाक्लो पार्ने तत्त्व कमी भएका बिरामीलाई दिइन्छ । रिच प्लाज्मा भने डेंगु, क्यान्सर रोगी, रगतमा प्लेटलेट कमी भएका, सर्पदंशका बिरामी, कलेजो फेल भएका र मुटु रोगसम्बन्धी औषधि खानेहरूलाई दिइन्छ । प्याक्सेल सामान्य रगतको कमी भएका सबै बिरामीलाई दिइन्छ । पछिल्लो समय सेतो रगत अर्थात् रिच प्लाज्माको माग बढिरहेको सिंहले बताए ।

Esewa Pasal

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छाउगोठमा मृत्यु : यसरी गयो पार्वतीको ज्यान

पार्वतीको छाउगोठमा मृत्यु भएको सार्वजनिक नगर्न गाउँलेले परिवारलाई दबाब दिएको खुलासा
मेनुका ढुंगाना

अछाम — महिनावारी भएर छाउ बार्न छाउपडी गोठमा बसेकी तुर्माखाँद गाउँपालिका–४, जुयगाउँकी १८ वर्षीया पार्वती बुढाको शनिबार राति सर्पले डसेर मृत्यु भयो । तर स्थानीयवासी, जनप्रतिनिधि र स्वयंसेविकालगायतले छाउगोठमा मृत्यु भएको कुरा लुकाउनुपर्ने सल्लाह गरे ।

अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा ।

पार्वतीसँगै सुतेकी उनकी बहिनी राधिकालाई सत्य कुरा नखोल्न सबैले दबाब दिए पनि उनले भनिन्, ‘सर्प दिदीको जिउमा खस्यो र औंलामा डस्यो, म अत्तालिएँ । छाउगोठमै दिदीको मृत्यु भएको हो ।’


राधिकाका अनुसार शनिबार पार्वती महिनावारी भएको चार दिन भएको थियो । घरबाट करिब डेढ घण्टा तल बेंसीमा रहेको छाउगोठमा उनी महिनावारी बार्न गएकी थिइन् । शनिबार साँझ खाना खाइसकेपछि छाउगोठमै दिदी–बहिनीले अबेरसम्म फिल्म पनि हेरेका थिए । मस्त निन्द्रामा रहेका बेला मध्यराति करिब २ बजेतिर खरले छाएको छानोबाट सर्प खस्यो ।


‘दायाँतर्फ दिदी सुतेकी थिइन्, बायाँतर्फ म । सर्प खसेर दिदीलाई डसेपछि म अत्तालिएँ,’ राधिकाले भनिन्, ‘दिदी रोइरहेकी थिइन् । म राति बाहिर निस्कन सकिनँ । बिहान ४ बजे छाउगोठबाट १५ मिनेट टाढा रहेको गाईबस्तु बाँध्ने छानोमा आमालाई बोलाउन गएँ । फर्किंदा उनको प्राण गइसकेको थियो ।’


छाउगोठमै ज्यान गएको सबैले थाहा पाए । गाउँको बेइज्जत हुन्छ र परिवारका सदस्यलाई प्रहरीले लग्छ भनेर हतारमा पार्वतीको दाहसंस्कार गरिएको राधिकाकी दिदी प्रेमकला बुढाले बताइन् । ‘छिमेकी, जनप्रतिनिधि, स्वयंसेविका सबैले सल्लाह गरेर छिट्टै दाहसंस्कार गर्नुपर्छ भने, हतारमै दाहसंस्कार गरियो,’ उनले भनिन्, ‘मलाई उनीहरूको कुरा मन परेन, सत्य कुरा लुकाउनु हुँदैन भनें तर कसैले सुनेनन् ।’ सँगै सुतेकी बहिनीलाई पनि साँचो कुरा नबोल्न समाजले दबाब दिइरहेको उनले बताइन् ।


अहिलेसम्म पनि गाउँका मान्छे र पार्वतीका परिवार छाउगोठमै मृत्यु भएको हो भन्न सकिरहेका छैनन् । प्रेमकलाका अनुसार गाउँका जान्नेबुझ्ने मान्छेले वास्तविकता नखुलाउन परिवारलाई दबाब दिइरहेका छन् । ‘फुपूहरू टाढा थिए, दाजुभाइ बाहिर थिए । बहिनीको अनुहारसमेत हेर्न दिएनन्, हतारमै दाहसंस्कार गरे,’ प्रेमकलाले भनिन्, ‘गाउँमा कोही सोधपुछ गर्न आए पनि साँचो कुरा नभन्ने सल्लाह भएको छ ।’


अहिले उक्त छाउगोठ भत्काइएको उनले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालयले पनि घटनाबारे अनुसन्धान सुरु गरेको छ । अछाम प्रहरी प्रमुख डीएसपी राकेश तण्डुकारका अनुसार प्रहरी टोली घटनास्थल पुगेको छ । ‘हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ, सत्यतथ्य पत्ता लगाउन हाम्रो प्रयास जारी रहन्छ,’ उनले भने ।


गत पुसमा मात्र सोही गाउँपालिका–३, लकान्द्राकी २२ वर्षीया गौरी बुढाको पनि छाउगोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो । निर्वाचित भएर कार्यभार सम्हालिसकेपछि आफ्नै गाउँपालिकामा छाउगोठमै दुई जनाको मृत्यु भएकाले आफूलाई लज्जित महसुस भएको गाउँपालिकाकी उपाध्यक्ष अमृता बुढा बताउँछन् । ‘अब छाउपडी कुप्रथा अन्त्यका लागि अभियान सुरु गरिनेछ,’ उनले भनिन्, ‘छाउपडी कुप्रथा अन्त्य नै हुने गरी अबको अभियान सुरु हुनेछ ।’


प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT