सीसीटीभी फुटेजका आधारमा सवारी चालकलाई कारबाही

विद्या राई

काठमाडौँ — साताअघि काठमाडौंका छत्रबहादुर बस्नेतलाई महानगरीय ट्राफिक महाशाखाबाट फोन आयो । महाशाखाको टिभीटी शाखाले बोलाएपछि उनी भोलिपल्ट महाशाखा पुगे । तर, त्यहाँ पुग्दासम्म उनलाई के काम भन्ने पत्तो थिएन ।

सीसीटीभी फुटेजका आधारमा सवारी चालकलाई कारबाही

प्रहरीले उनलाई सोधे, ‘३० प २२३ नम्बरको मोटरसाइकल तपाईको हो ?’ ‘हो हजुर, के भयो र,’ बस्नेतले प्रतिक्रिया जनाए ।


सोफामा रहेका उनलाई प्रहरीले कुर्सी तानेर आफूसँगै नजिकै बसाए । लगत्तै ती प्रहरीले ‘ल हेर्नुस्’ भन्दै कम्प्युटरमा सीसीटीभी फुटेज देखाए । उनले फुटेजमा सवारी जामको बेला जेब्रा क्रसिङ काटेर मोटरसाइकल सवारले माइतीघर मण्डलामा लेन फेरेको दृश्य देखे । झण्डै अर्को मोटरसाइकलसँग ठोक्किन पुगेको ।


फुटेजमा बिहान १० बजेर ९ मिनेट देखाइएको थियो । प्रहरीले फुटेज ‘जुम’ गर्दै मोटरसाइकल नम्बर देखाए । समय बताउँद्दै ‘यो मोटरसाइकल तपाईकै हो ? नम्बर हेर्नुभयो नि !’ प्रहरीले पुन: सोधे । ‘मेरै हो,’ बस्नेतले जवाफ फर्काए । प्रहरीले थपे, ‘जेब्रा क्रसिङ काटेर लेन फेर्न पाइन्छ त ?, यदि दुईटा मोटरसाइकल खप्टिएर दुर्घटना भएको भए, के हुन्थ्यो होला ।’


‘मैले मोटरसाइकल चलाउन थालेको ३८ वर्ष भयो, जानाजान कसरी हुनसक्छ र ! अफिसमा राखेको थिएँ, कसैले चलाएको होला,’ उनले भने । प्रहरीले लाइसेन्स मागेपछि देखाए उनले ।


ट्राफिक नियम मिचेर सवारी चलाउनेलाई कारबाही हुन्छ । ‘त्यस समयमा कसले चलाएको थियो, उसको नाम दिनुस् नत्र तपाई नै सजायको भागेदार हुनुपर्छ,’ प्रहरीले तर्साउन खोजे । बस्नेतले कार्यालयमा राखेको मोटरसाइकल कसले चलायो थाहै भएन भनेर दोहोर्‍याए ।


पछाडिबाट लिइएको फुटेजमा अनुहार देखिएको थिएन । प्रहरीले ज्याकेट र जुत्ताको पहिचान गरेर सवारको पहिचान गर्न लगाए । कार्यालयमा साथीभाइबीच किन झगडा निम्त्याउने भन्दै आफ्नै नाममा कारबाहीको चिट लेख्न आग्रह गरे ।


महाशाखाले सवारी चलाउँदा ट्राफिक नियम मिचेर फुत्केकाहरुलाई कारबाहीको दायरामा ल्याउने नयाँ कार्य थालेको छ । ‘ट्राफिकले देखेन, फुत्किएँ भनेर ढुक्क हुने छुट अब कसैलाई छैन,’ महाशाखाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले भने, ‘ट्राफिकबाट उम्किएको रहेछ भने सीसीटीभीमा कैद गरिएको सवारी नम्बरका आधारमा कारबाहीको दायरामा ल्याइन्छ ।’


सवारी साधन कसको नाममा दर्ता भएको भन्ने यातायात व्यवस्था विभागमा रेकर्ड हुन्छ । ट्राफिकले उक्त रेकर्डअनुसार सवारीधनीलाई पत्ता लगाएर कारबाही गर्छ । ५ सय देखि १५ सय सम्म जरिवाना लाग्छ ।


मादक पदार्थ सेवन गरेर नियम मिच्नेहरु अधिक हुने भएकाले कारबाही स्वरुप मापसे र लेनसम्बन्धी एक घण्टाको जानकारीमूलक कक्षामा पनि सहभागी हुनुपर्ने व्यवस्था रहेको प्रहरी उपरीक्षक मैनालीले बताए ।


महाशाखाको तथ्यांकअनुसार फागुन १ बाट सुरु गरेको यो अभियानमा जेठ २२ सम्म ४ सय ६९ वटा गाडी, कार, भेन, मोटरसाइकल, स्कुटरलगायत सवारी साधन कारबाहीमा परेका छन् । दैनिक ८ देखि १० सवारी साधन कारबाहीमा पर्दै आएका छन् ।


महाशाखाले ट्राफिक नियम मिचेर सडक दुर्घटना अत्यधिक हुने भएकाले सीसीटीभी निगरानी अभियान सञ्चालन गरेको छ । उपत्यकामा चालकको लापरबाहीले सबैभन्दा बढी दुर्घटना हुने गरेको छ । महाशाखाको तथ्याकंअनुसार आर्थिक वर्ष ०७४/०७५ वैशाखसम्म उपत्यकामा ४ हजार ८ सय ८४ दुर्घटना चालककै लापरबाहीले भएको छ ।


तीव्रगति, मापसे, यान्त्रिक गडबढी, ओभरटेक, पैदलयात्रुको लापरबाही, तोडफोड, सडकको अवस्थाका कारण पनि दुर्घटना हुन्छ । चालु आवको वैशाखसम्म ५ हजार १ सय ८० दुर्घटना भएकामा १ सय ४९ को मृत्यु भएको छ, १ सय ८४ गम्भीर घाइते भए । तीन हजार तीन सय ८५ सामान्य घाइते भए ।


काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका मुख्यमुख्य चोकहरुमा सीसीटीभी जडान गरिएको छ । महानगरीय प्रहरी परिसर रानीपोखरीले उक्त सीसीटीभीको निगरानी राखेको छ । उसले राखेको फुटेजका आधारमा ट्राफिक महाशाखाले कारबाही गर्छ ।


फुटेजमा लिइएको सवारी साधनको नम्बरका आधारमा यातायातबाट सवारी धनीको रेकर्ड लिएपछि कारबाहीको दायरामा ल्याउन दुईदेखि दस दिनसम्म लाग्छ । ‘प्रक्रिया पुर्‍याउँदा अलि समय लाग्छ, नियम मिच्नेले बिर्सिसकेको हुन्छ, फुटेज देखाएपछि गल्ती सम्झन्छ,’ प्रहरी उपरीक्षक मैनालीले बताए ।


सीमित ट्राफिक प्रहरीले असीमित सवारी चाप र जाम सम्हाल्न कठिनाइ भइरहेकाले सीसीटीभी निगरानी ल्याएको बताएको छ । यसले ट्राफिक नियम पालना गर्न गराउन र सडक दुर्घटना कम गर्न थप सघाउ पुग्ने महाशाखाको अपेक्षा छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?