प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना उजुरी अस्वीकृत 

काठमाडौँ — ज्यान मारेको अभियोगमा थुनामा रहेका माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ । 

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना उजुरी अस्वीकृत 

प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत गरेका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतको नजीर र विचाराधिन मुद्दा समेत प्रभावित हुने गरी ढुंगेलको कैद मिनाहा गरेर मन्त्रिपरिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दर्ताको प्रयास गरेका थिए । सह–रजिष्ट्रार पन्थीले गरेको दरपीठ आदेशमा ढुंगेल लगायतका कैदीहरुको कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन भएकै अवस्थामा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न नमिल्ने भन्ने उल्लेख छ ।


सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशविपरीत सरकारले ढुंगेललगायतका कैदीको कैद मिनाहा गरेको, त्यसक्रममा परेको रिट निवेदनमाथि बहसका क्रममा सरकारी वकिलहरुले झुटो विवरण पेस गरेको र सरकारले अदालतमा मुद्दा विचाराधिन भएकै अवस्थामा झुक्याएर कैद मिनाहा गरेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्री ओलीलाई विपक्षी बनाई निवेदन दर्ता गर्न खोजेका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई दरपीठविरुद्ध फेरी निवेदन दर्ता गर्ने बाटो भने खुला छ ।


प्रकाशित : जेष्ठ ३०, २०७५ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?