आज राति दुई बजेदेखि अधिकमास समाप्त

रासस

काठमाडौँ — जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि सुरु भएको अधिकमास बुधबार राति दुई बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अधिकमास भन्ने शब्दले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ । जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटसम्म औँसी तिथि थियो । बेलुकी पाँच बजेर ५४ मिनेटमा शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास सुरु भई आज राति औँसीको अन्त्य अर्थात् राति दुई बजेसम्म रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

अधिकमास परेकाले जेठ महिनाभर नित्य र नैमित्तिक कर्म गरिए पनि कुनै कामना राखेर गर्ने कर्म भने भएन । बुधबार राति दुई बजेपछि कामना राखेर गरिने कर्म गर्ने बाटो शास्त्रीय रुपमा खुलेको उनले सुनाए ।

सूर्यको गतिकलाका आधारमा गणना गरिने मानलाई सौरमान भनिन्छ । तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो । १२ महिनाको एक वर्ष हुन्छ । एक वर्षमा १२ सौरमास र त्यति नै संख्यामा चान्द्रमास हुन्छन् । कहिलेकाहीँ एक वर्षमा १२ सौरमास भए पनि चान्द्रमासको संख्या १३ हुनपुग्छ । त्यस्तो समयमा एकै चान्द्रमास दुईपटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ । त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास भएको बताउनुहुन्छ वाल्मीकि विद्यापीठ ज्योतिष विभागका उपप्राध्यापक पुरुषोत्तम भट्टराई ।

सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन् । एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ । दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुन्छ । त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो । तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।

अधिकमास पर्दा एक चान्द्रमासमा एउटा पनि सूर्य सङ्क्रान्ति पर्दैन । एउटा पनि सूर्यसङ्क्रान्ति, नभएको चान्द्रमास नै अधिकमास हो । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ । त्यस्तै कहिलेकहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति, परेको मासलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पर्दछन् ।

करिब एक हजार ५०० वर्ष अघि बराहमिहिरको पालादेखि शुरु भएको सूर्य सिद्धान्त आधार मानिने पञ्चाङ्ग गणना पद्धतिअनुसार फागुनदेखि असोजसम्ममा अधिकमास पर्छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्

‘प्रश्न सोध्न पाउने पत्रकारको अधिकार’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गराएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठान प्रदेश समितिका महासचिव बालकृष्ण अधिकारीले विज्ञप्ती जारी गर्दै सञ्चार मन्त्रीसँग सोधिएको प्रश्नकै आधारमा कार्यक्रम बन्द गराउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको ठाडो हस्तक्षेप भएको जनाएका छन्।

लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने र प्रतिद्व सरकारका लागि झन यो सुहाउने विषय होइन,’ विज्ञप्तीमा भनिएको छ, ‘लोकतन्त्रमा हरेक नागरिकले राज्यका जिम्मेवार निकायसँग सभ्य ढंगले प्रश्न सोध्ने हैसियत र तागत राख्दछन् भन्ने राज्य सञ्चालनका तहमा रहेका व्यक्तिहरूका विषयमा उठेका प्रश्नको जवाफ खोज्नु र जनतालार्इ सूसुचित गराउनु सञ्चारकर्मी दायित्व हो,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित गराउनुले सरकार प्रेस अभिव्यक्ति स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध नरहेको देखाउँछ।’

महासंघ प्रतिष्ठान प्रदेश समितिले तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त अधिकारको सम्मान गर्न नेपाल सरकार र सरोकारवाला निकायलार्इ आग्रह गरेको छ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्