१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आजदेखि फुटबल महाकुम्भ

विनोद पाण्डे

काठमाडौँ — पूर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुम्भ हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । बिहीबार सुरु हुने यो महाकुम्भको सदुपयोग गर्दै इतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ, रुस ।

आजदेखि फुटबल महाकुम्भ

३२ राष्ट्र सहभागी महाकुम्भको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् । विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको छ ।

ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन् । आयोजक रुसलाई समूह चरण पार गर्नै निकै ठूलो चुनौती छ ।

२१ औं संस्करणको विश्वकप इतिहासकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता पनि हो । प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको थियो । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन् । प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन् । यस पटकको विशेषता विश्वकपमा पहिलो पटक भारको प्रयोग गरिँदै छ । भार अर्थात् भिडियो असिस्टेन्ट रेफ्री । रेफ्रीसहित मैदानमा रहेका निर्णायहरूले नदेखेका कुरा रेफ्रीमार्फत भारको प्रयोग गरेर गलत र सही छुट्याइने छ ।
यसले विगतमा निम्त्याउने गरेको प्रमुख विवादलाई किनारा लगाउने अपेक्षा गरिएको छ । तर खेलको जुन लय र गति हुन्छ, त्यसलाई भारले बिथोल्छ भन्ने तर्क पनि आएका छन् ।

यो विश्वकपले १९८० को मस्को ओलम्पिकलाई पनि सम्झाएको छ । रुसले आयोजना गरेको उक्त ओलम्पिकमा ८० राष्ट्र मात्र सहभागी थिए । १९५६ यता त्यो सबैभन्दा कम राष्ट्र सहभागी ओलम्पिक थियो । यसको मुख्य कारण अमेरिका थियो । सोभियत युनियनले अफगानिस्तानमा गरिरहेको आक्रमणलाई लिएर अमेरिकाकै नेतृत्वमा ६६ राष्ट्रले मस्को ओलम्पिक खेलेका थिएनन् ।

यस विश्वकपको विशेषता भनेको रुस विश्वकप छनोटमा योग्य सबै २ सय ९ राष्ट्र सहभागी थिए । जिम्बावे र इन्डोनेसिया पहिलो चरणको छनोट खेलेपछि निष्कासनमा परेका थिए । अमेरिका छनोट नै भएन । उत्तर अमेरिका, दक्षिण अमेरिकी चिली र अफ्रिकाको क्यामरुन यस विश्वकपमा छनोट हुन नसकेका महादेशीय च्याम्पियनहरू हुन् ।

रुसले विश्वकप आयोजना पाउने क्रममा अमेरिका र इंग्ल्यान्डलाई उछिनेको थियो । यसले धेरै समय अमेरिका र इंग्ल्यान्डलाई रन्थनाएको थियो । अमेरिकाको यो रिस सम्भवत: बुधबारबाट केही मत्थर भएको छ । अमेरिकाको नेतृत्वमा मेक्सिको र क्यानडाले मोरक्कोलाई पराजित गर्दै २०२६ को विश्वकप आयोजनाको अधिकार पाएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?