बिस्केकमा हिउँ चितुवा सम्मेलन

वनमन्त्री बस्नेतलगायत १२ देशका मन्त्री सहभागी हुने
अब्दुल्लाह मियाँ

काठमाडौँ — हिउँ चितुवा पाइने १२ देशका वन, वातावरण र जलवायु परिवर्तन मन्त्रीहरूको उच्चस्तरीय बैठक बिहीबार र शुक्रबार किर्गिस्तानको बिस्केकमा हुँदै छ ।

बिस्केकमा हिउँ चितुवा सम्मेलन

ग्लोबल स्नोलियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम (जीएसएलईपी) कार्यसमितिको तेस्रो बैठकमा भाग लिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयको जैविक विविधता महाशाखा प्रमुख डा. महेश्वर ढकाल मंगलबार किर्गिस्तान प्रस्थान गरेका छन् । हिउँ चितुवाको संरक्षण र अनुसन्धानमा सक्रिय अन्तर्राष्ट्रिय संस्थाका अधिकारी, विज्ञ र दातृ निकायका अधिकारीसमेत सहभागी हुनेछन् ।

सन् २०१७ देखि नेपालले हिउँ चितुवा पाइने देशका सदस्यको अध्यक्षतासमेत गरिरहेको छ । २०७३ माघ पहिलो साता काठमाडौंमा भएको कार्यसमितिको दोस्रो बैठकले नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको थियो ।

किर्गिस्तान सरकारले आहवान गरेको बैठकमा १२ वटै देशका वन, वातावरण र जलवायु परिवर्तन मन्त्री सहभागी हुनेछन् भने हिउँ चितुवा संरक्षणका अनुभव र उपलब्धिबारे चर्चा हुनेछ । हिउँ चितुवा संरक्षणका लागि १२ देशको हातेमालोपछिका उपलब्धिबारे पनि बहस हुनेछ ।

बैठकमा हिउँ चितुवा संरक्षण कार्ययोजना– २०१७ को बिस्केक घोषणापत्र कार्यान्वयनको अवस्था, हिउँ चितुवा अध्ययन–अनुसन्धान र संरक्षणसम्बन्धी नयाँ परियोजना सञ्चालनबारे छलफल र हिउँ चितुवाको विश्वव्यापी संख्या र अवैध चोरीसिकारबारे बहस हुने महाशाखा प्रमुख सहसचिव ढकालले बताए ।

विश्वका १२ देशमा हिउँ चितुवाका २३ भू–दृश्यक्षेत्र पहिचान गरिएकामा तीनवटा नेपालमा पर्छन् । कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण, सगरमाथा र लाङटाङ निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्र समेटिएको पूर्वी ब्लक, मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र समेटिएको मध्यक्षेत्रको ब्लक र ढोरपाटन सिकार आरक्ष, शे–फोक्सुन्डो, रारा र खप्तड निकुञ्जसहित अपिनाम्पा संरक्षण क्षेत्र समेटिएको पश्चिम ब्लक गरी तीन ब्लकमा हिउँ चितुवा संरक्षण भइरहेको छ ।

यीमध्ये पूर्वी ब्लकको कञ्चनजंघाका हिउँ चितुवाको घाँटीमा रेडियो स्याटेलाइट कलर झुन्ड्याएर तिनको विचरण क्षेत्र र आहारलगायत अवस्था अध्ययन भइरहेको छ । पुरानो आँकडाअनुसार नेपालमा ३ देखि ५ सय हाराहारी हिउँ चितुवा छन् । विश्वभर यसको संख्या करिब ६ हजार रहेको अनुमान छ ।

१२ देशमा हिउँ चितुवा विचरण गर्ने क्षेत्र (बासस्थान) १७ लाख ७६ हजार वर्गकिलोमिटर छ । नेपालमा संरक्षित सूचीमा रहेको यो सुन्दर र आकर्षक वन्यजन्तु साइटिसको अनुसूची १ मा छ । डेढ वर्षअघि नेपालमा २०७३ माघमा भएको ‘जीएसएलईपी’ को दोस्रो बैठकले हिमाली क्षेत्रको जैविक विविधता र हिउँ चितुवा अनुसन्धानमा सबै मुलुकले युवा पुस्तालाई सक्रिय बनाउने घोषणा गरेको थियो । यस्तै, मानव–हिउँ चितुवाबीच बढदो द्वन्द्व न्यून गर्न स्थानीयको जीवनस्तर माथि उठाउने, जीविकोपार्जन सुधार्ने र उनीहरूलाई आयआर्जनका कार्यक्रमलगायत कार्यक्रम सदस्य मुलुकले अघि बढाएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?