प्रधानमन्त्री असार ५ गते चीन जाँदै

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले असार ५ देखि चीनको ६ दिने औपचारिक भ्रमण गर्ने भएका छन् । चार मन्त्रीलगायतलाई लिएर ओलीले गर्ने चीन भ्रमणको तालिका बुधबार नेपाल र चीन दुवैले सार्वजनिक गरेका हुन् । भारत भ्रमणको करिब दुई महिनापछि ओली चीन जान लागेका हुन् ।

प्रधानमन्त्री असार ५ गते चीन जाँदै

परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक तालिकामा भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सांसद, प्रधानमन्त्री पत्नी र सरकारी अधिकारीलगायत रहने उल्लेख छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङका साथै चिनियाँ समकक्षी ली
खछ्याङलगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भए पनि विज्ञप्तिमा सीसँग हुने भेट उल्लेख गरेका छैनन् । चीनका वरिष्ठ नेताहरूसँग भेट्ने भनिए पनि सीसँगको भेटबारे खुलाइएको छैन । नेपाल र चीनबीच केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ । ओलीले बेइजिङमा नेपाल–चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नेछन् । यस्तै ल्हासा भ्रमण र नेताहरूसँगको भेटवार्ता गर्ने तयारी पनि छ ।

नेपाली पक्षले सीसँगको भेटबारे उल्लेख नगरे पनि चिनियाँ पक्षले राष्ट्रपतिसँग भेट हुने जनाएको छ । प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका ओलीले सीसँग भेट गर्ने तय भएको बेइजिङमा हुने नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले बुधबार बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको भ्रमणबारे जानकारी दिँदै राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्षस्थ चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने जानकारी दिएको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ । पत्रकार सम्मेलनमा प्रवक्ता स्वाङले चीनले प्रधानमन्त्री ओलीको बेइजिङ यात्रामा बीआरआईमार्फतको सहयोगबारे गहन छलफल हुने उल्लेख गरेका थिए ।

परराष्ट्र अधिकारीका अनुसार पनि बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफलका साथै परियोजनाहरूसम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ । खासगरी पुराना समझदारीलाई अघि बढाउने विषयमा छलफल हुनेछ । कुन–कुन परियोजनामा कस्तो सहमति हुने भन्ने अझै टुंगो लागेको भने छैन । पुल निर्माण, राजमार्ग प्रयोग, हवाई रुट, नेपालमा रेल मार्ग जोड्ने, जलविद्युत् तथा पूर्वाधारमा लगानी, सडक सञ्जाल, नाका सुदृढीकरण, सीमा सुरक्षा, तेल भण्डारण र चीनको बन्दरगाह प्रयोगलगायत विषयमा प्रोटोकल एवं समझदारी कायम हुने ती अधिकारीले बताए । ‘आर्थिक–व्यापारिक, पूर्वाधार, पुनर्निर्माण, मानवीय सहयोगका साथै बलियो राजनीतिक सम्बन्धका विविध पक्षमा नयाँ उचाइ निर्माणका लागि भ्रमण उपयोगी हुने विश्वास चीनको छ,’ चिनियाँ प्रवक्ता स्वाङले सम्मेलनमा भने ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?