अप्ठेरोमा सधैं साथ छौं : अमेरिकी राजदूत

कान्तिपुर संवाददाता

बाह्रबिसे (सिन्धुपाल्चोक) — अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले कुनै पनि असहज परिस्थितिमा नेपाल र नेपालीप्रति गहिरो मित्रता प्रदर्शन गर्न आफ्नो मुलुक पछि नपर्ने बताएकी छन् ।

पछिल्लो समय सरकारले छिमेकीलाई उच्च प्राथमिकता दिइरहेको सन्दर्भमा उनले नेपाली जनताको जीवनस्तर उकास्न र मुलुकको विकासमा सहकार्य गर्न अमेरिका सधैं तयार रहेको बताएकी हुन् ।

उत्तरी नाका नजिकै सिन्धुपाल्चोकमा निर्माण भएको स्वास्थ्यचौकी सरकारमार्फत स्थानीयलाई हस्तान्तरण गर्नेक्रममा राजदूत टेप्लिट्जले भनिन्, ‘कुनै पनि विपतको घडीमा नेपाल सरकार र नेपाली जनताप्रतिको आफ्नो गहिरो मित्रता प्रदर्शन गर्न अमेरिकी सरकार सक्षम छ । हामीले भूकम्पका बेला भएको जनधनको क्षति र विस्थापितहरूको अवस्था देखेका छौं । यस्तो कठिन घडीमा सहयोगी हातको निकै ठूलो महत्त्व हुन्छ । नेपालीलाई सघाउन पाएकोमा हामीलाई गर्व लागेको छ ।’

Yamaha

भूकम्पपछि अमेरिकी सहयोगमा निर्माण प्रक्रियामा गएका ३६ पूर्वाधारमध्येको उक्त स्वास्थ्यचौकी बुधबार स्थानीयलाई हस्तान्तरण गरिएको हो । १७ विद्यालय र एक स्वास्थ्य केन्द्र निर्माणाधीन छन् भने १२ विद्यालय र ६ स्वास्थ्य केन्द्रको डिजाइन भइरहेको अमेरिकी दूतावासले जनाएको छ । बाह्रबिसे नगरपालिकाको राम्चेमा अमेरिकी सहयोगमा १५ शय्याको सुविधासम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र भवन बनेको हो । अमेरिकी सेनाको इन्जिनियरिङमा बनेको भवन बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र अमेरिकी राजदूत टेप्लिट्जले संयुक्त रूपमा उद्घाटन गरे ।


‘यो अस्पताल अमेरिकी सहयोगको प्रतीक हो, यस्तो काम मुलुकभर गर्दै आएका छौं,’ हस्तान्तरण कार्यक्रममा टेप्लिट्जले भनिन्, ‘यो पहिलो हो । अन्य भवन पुनर्निर्माणका क्रममा छन् ।’ ७० वर्षदेखि अमेरिका र नेपालबीच सद्भाव रहँदै आएको उल्लेख गर्दै यसरी सघाउन पाउँदा गर्व अनुभूति भएको उनले सुनाइन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत १८ करोड रुपैयाँमा अत्याधुनिक उपकरणसहित भवन निर्माण भएको हो ।

मन्त्री यादवले भूकम्प प्रभावित क्षेत्रका बिरामीको उपचारमा अमेरिकी सहयोगले ठूलो भूमिका खेलेको भन्दै धन्यवाद दिए । २०७२ को भूकम्पयता अमेरिकी सरकारले भूकम्प प्रतिकार्य पुनरुत्थानमा १९ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । उसले १५ हजारभन्दा बढी इन्जिनियर, निर्माण व्यवसायी, डकर्मी र सिकर्मी लगायतलाई भूकम्प प्रतिरोध विधिसम्बन्धी तालिम दिनुका साथै १६ हजारभन्दा बढी घर पुनर्निर्माणमा सघाउँदै आएको जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

असारे विकासको परिणाम

माधव अर्याल

पाल्पा — असार मसान्त आउन लागेपछि हतारमा काम सुरु गरेका निर्माण व्यवसायीले पानी, धुलो, माटो माथि नै कालोपत्रे गरेका छन् । वर्षौदेखि निर्माण कार्य अलपत्र रहेको तानसेन–तम्घास सडकको हार्थोक–रिडी खण्डमा मर्मत गर्दा चिसो र पानी माथि नै कालोपत्रे बिच्छ्याएको हो ।

रिब्दीकोट गाउँपालिका, ४ भैरवस्थानका तिलक गाहालगायतले गुणस्तरहीन कालोपत्रे गरेको देखेपछि त्यसको उप्काएर बिरोध गरेका हुन् । ‘चिसो मात्र होइन, पानी नै भएको बाटोमा कालोपत्रे बिच्छ्याएको देखियो,’ उनले भने, ‘उप्काउँदा गुन्द्री जस्तै उप्किन्छ ।’

सरकारी रकमको दुरुपयोग मात्र नभएर जनताको रगत, पसिनाबाट तिरेको करको दुरुपयोग भएको उनले बताए । निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्दा सडक डिभिजन कार्यालय भने अनुगमनका लागि एक पटक पनि सम्बन्धित स्थानमा नआएको उनले बताए ।
सडक चौडा, स्तरोन्नति र मर्मतको नाममा खाल्डाखुल्डी, हिलाम्मे सडकमाथि निर्माण कम्पनीले मनलागि हिसाबले गुणस्तरहीन कालोपत्रे गरेको छ । निर्माण व्यवसायीले महिना दिनमै उप्किने गरी कालोपत्रे गरेको स्थानीयको आरोप छ । बिटुमिनले गिट्टी, सरफेसलाई समाएको छैन । कालोपत्रेलाई हातले सहजै उप्काउन सकिने अवस्थामा छ । आर्थिक वर्ष सकिन लाग्दा बजेट सिध्याउँन सडक डिभिजन कार्यालय र निर्माण व्यवसायीको मिलेमतोमा गुणस्तरहीन काम भएको आरोप छ ।

सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनी साइन कन्सट्रक्सन प्रालिले यहाँ कालोपत्रेको काम गरेको छ । कामदारहरु घरजाने तयारीमा रहेका बेला हतारहतारमा सडक कालोपत्र गरेको निर्माण कम्पनीका प्रमुख चुरा खत्रीले बताए । ‘कालोपत्रे गर्दा कमजोरी भएको छ,’ उनले भने, ‘कामदारबाट गुणस्तरहीन काम भएको छ । यसलाई पुरै उप्काएर पुन: काम गराउँछु ।’ उप्किएको कालोपत्रे सबै हटाएर पुन: गुणस्तरयुक्त गर्ने प्रतिवद्धता जनाएको छ ।
स्थानीय बासिन्दाले यस विषयमा कुरा नउठाएको भए व्यवसायीको सोही अनुसारकै बिल सडक डिभिजनले पास गर्ने र भुक्तानी दिने थियो । खाल्डाखुल्डी, माटो, पानी भएको सडकमै कालोपत्रे गरेका कारण कालोपत्रे उप्केको ठेकेदारले स्वीकार गरेकाले सो सडक क्षेत्रमा पुन: कालोपत्रे गर्न निर्देशन दिएको सडक डिभिजन प्रमुख बाबुराम सापकोटाले बताए ।

साइट इन्चार्ज, इन्जिनियर, डिभिजन प्रमुख कोही पनि उक्त सडकको अनुगमनका लागि गएका छैनन् । सडक लेन्थमेनका सुपरभाइजर केशव शाहीलाई अनुगमनको जिम्मा दिइएको छ । दैनिक सयौं सवारीसाधन संचालन हुने तानसेन–तम्घास सडक खण्डमा कालोपत्रेको काम हुँदा सडक डिभिजनबाट अनुगमन नभएको स्थानीयले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ २२:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT