कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएन ट्रिपर ‘आतंक’

अधिकांश ट्रिपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउँछन्
दुईपाङ्ग्रे चालकमा पनि लेन मिच्ने, गलत तरिकाबाट ओभरटेक गर्ने, सानो बाटो देख्यो कि छिर्न खोज्ने प्रवृत्ति बढ्दो छ

काठमाडौँ — जडिबुटी पुलनजिक बुधबार बिहान ट्रिपरले एक महिलाको ज्यान लियो । भक्तपुरबाट आएको ना४ख ३५५८ नम्बरको ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएर तीन मिटरसम्म घिसारेपछि २४ वर्षीया अस्मिता भण्डारी गम्भीर घाइते भइन् ।

रोकिएन ट्रिपर ‘आतंक’

रौतहट घर भई काभ्रे बस्दै आएकी उनलाई बीएन्डबी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे ।
ट्रिपर चालक पृथ्वी नारायण नापित पक्राउ परेका छन् । दिउँसो सवा ११ बजेतिर दुर्घटना भएलगत्तै स्थानीय र पैदलयात्रीले ट्रिपरआगजनी गरिदिए ।

जेठ ९ गते भक्तपुर, नलिञ्चोकमा ट्रिपरकै ठक्करले तीन जनाको ज्यान गयो । साँगाबाट आइरहेको बा३ख ६६७४ नम्बरको ट्रिपरले बा५६प १२२७ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दोलखा घर भई लोकन्थली बस्ने ५० वर्षीय हरिबहादुर कटवाल, ४० वर्षीया सविता घिमिरे र १३ वर्षीय अविन्द्र घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । त्यसै रात ट्रिपर चालक कलंकीबाट पक्राउ परे । ट्रिपरको ठक्करबाट भएका दुर्घटनाका यी पछिल्ला उदाहरण हुन् ।

यसअघि पनि यस्ता थुप्रै दुर्घटना भइसकेका छन्, जसमा दुईपाङ्ग्रे अझ स्कुटर चालकले ज्यान गुमाउनुपरेको छ । महानगरीय ट्राफिक महाशाखा रामशाहपथका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा ट्रिपरकै ठक्करबाट ३४ जनाको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७३/७४ मा उपत्यकामा ट्रक तथा ट्रिपरका कारण १४ सय दुर्घटना भएको थियो । सबैभन्दा बढी असार, साउन र भदौमा क्रमश: १ सय ४१, १ सय ३२ र १ सय ३० वटा दुर्घटना भयो ।

ट्रिपर देख्यो कि आफैंलाई खान आएको जस्तो लाग्ने स्कुटर चालक सुजाता ढुंगाना बताउँछिन् । साताअघि रातिको समयमा थिमिबाट कुपन्डोल आउँदै गर्दाको अनुभव सुनाउँदै उनले भनिन्, ‘राति तीव्र गतिमा हुँइक्याउने रहेछन् । ठूलो ट्रिपरका अगाडि स्कुटर चलाउँदा मन काँपिरह्यो ।’

उनी मात्र होइन, अधिकांश दुईपाङ्ग्रे सवारी चालक हिजोआज सडकमा ट्रिपर देख्दा आत्तिने गरेका छन् । ट्राफिक प्रहरीका अनुसार अधिकांश ट्रिपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउँछन् । ‘तर सधैं ठूला सवारीको मात्र दोष हुँदैन,’ ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु भन्छन्, ‘दुर्घटनामा घाइते र मृत्यु हुनेमा साना गाडी चालक धेरै भएकाले ठूलो गाडीको दोष देखिने गरेको हो ।’

लेन मिच्ने, गलत तरिकाबाट ओभरटेक गर्ने, सानो बाटो देख्यो कि गाडी छिराउनेजस्ता प्रवृत्ति दुईपाङ्ग्रे चालकमा बढी देखिएको उनी बताउँछन् । ‘सवारी जाम भएका बेला कम्तीमा ५ फिट दूरी हुनुपर्छ तर नेपालमा पाँच इञ्च पनि कायम नगर्ने धेरै छन्,’ हाछेथु भन्छन्, ‘जति नजिक सानो सवारी भयो, अग्लो स्थानमा रहेको ट्रिपर ड्राइभरले देख्दैन । अनि दुर्घटना हुन्छ ।’ उनका अनुसार चालकको दायाँतिरको ऐनामा ठयाक्कै मुनिको सानो सवारी देखिँदैन । यसैले ट्रिपरमा दुर्घटनाको सम्भावना बढी हुने उनको भनाइ छ ।

चालक अभाव भएका कारण कम उमेरका चालकलाई बढी पारिश्रमिक दिएर काम अह्राउने गरिएकाले समस्या बढेको एक प्रहरी अधिकृत बताउँछन् । ‘तलबबाहेक एक टिपको एक हजार दिने भएपछि उनीहरू बढी भत्ताका लागि तीव्र गतिमा कुदाउँछन्,’ ती प्रहरी अधिकृतले भने, ‘हर्सपावर बढी भएका त्यस्ता गाडी हाईवेमा कुदाउनका लागि बनेका हुन्, न कि सवारी चाप बढी भएको हाम्रोजस्तो सडकका लागि ।’

वार्षिक २५ हजारभन्दा बढी ट्रिपर नेपाल भित्रिन्छन् तर सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने १० हजार हाराहारी मात्रै हुन्छन् । ठूला सवारीका लागि लाइसेन्स लिने प्रक्रिया, उमेर र अनुभवको मापदण्ड खासै नभएकाले पनि दुर्घटना निम्तिने गरेको ट्राफिक प्रहरीहरू बताउँछन् । यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख गणेश पोखरेलका अनुसार साना चारपाङ्ग्रेको लाइसेन्स लिएको दुई वर्षपछि ठूलो सवारी चालकको अनुमतिपत्र पाइन्छ । यसअनुसार उनीहरूले २१ वर्षको उमेरपछि ठूला गाडी चलाउन पाउँछन् ।

दिनहुँ बढिरहेका दुर्घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ त ? प्रहरी निरीक्षक हाछेथु भन्छन्, ‘लाइसेन्स लिने बेलै व्यावहारिक ज्ञान दिनुपर्छ । १० वटा टिक मार्क र आठ आकार घुमाएको भरमा उपत्यकाजस्तो भीडभाडमा गाडी चलाउन सकिन्न ।’

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?