प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल बिहीबार पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन् । 

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराए।

सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राखे।

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताइन् भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिइन्। त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राखे।

प्रकाशित : जेष्ठ ३१, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्

भरतपुर-काठमाडौं हवाई यात्रा गर्ने घटे

रासस

चितवन — नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेको छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको हो ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत दासढुंगासम्मको पहिलो खण्ड । यो खण्डमा तेस्रो तहको कालोपत्रेको काम बाँकी छ । तस्बिर : रमेशकुमार


भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ। एक महिनाअघि दैनिक १४ देखि १६ वटासम्म उडान भएको भरतपुर विमानस्थलबाट अहिले दैनिक आठ वटामा झरेको छ।

बिहानको समयमा उडान नहुनु र सडक सहज हुनुका कारण हवाईजहाजको यात्रा गर्नेमा कमी आएको उनले बताए। यस क्षेत्रका व्यवसायीसँग आफ्नै सवारीसाधन भएका कारण जहाजको यात्रा गर्नुभन्दा बिहानको समयमा गाडीमा नै यात्रा गर्ने गरेको प्रमुख गौतमले बताए।

सडक निर्माणका क्रममा दिनको समयमा सवारी आवागमन रोकिएको र त्यसको चाप बिहान बेलुका परेपछि धेरैको रोजाइ हवाई यात्रा भएको थियो। अहिले पर्यटक आउने समय पनि नभएकाले हवाई यात्रा गर्नेको संख्यामा कमी आएको बुद्ध एयरलाइन्सका शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले बताए।

मौसममा आएको परिवर्तन र लामो समय कुर्नुपर्ने बाध्यताका कारण यात्रुले विकल्प खोजेको हुन सक्ने उनको भनाइ थियो। दिनभर विमानस्थलमा बसेर मौसम र काठमाडौँ विमानस्थलमा ट्राफिक जाम भन्दै उडान स्थगित भएपछि जानै नपाउने बाध्यता एकातर्फ छ भने भाडादर उच्च भएको र मितव्ययी टिकट नदिँदा पनि यात्रु रुष्ट थिए।

कुनै समय दैनिक १२ वटासम्म उडान भरेको बुद्ध एयर अहिले दैनिक पाँचवटामा झरेको छ। जसमध्ये चारवटा काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा उडान गर्दै आएको छ। यति एयरलाइन्सले भरतपुर–काठमाडौँ दैनिक पाँच वटासम्म उडान गर्दै आएकामा अहिले दुईवटा मात्रै उडान गर्दै आएको छ। सिम्रिक एयरले भरतपुर–काठमाडौँ पहिलेदेखि नै एउटामात्रै उडान गर्दै आएको छ।

यति एयरलाइन्स भरतपुरका शाखा प्रमुख राजेश सिंहले सडक निर्माणसँगै यात्रुको चाप पहिलाको तुलनामा घटेको बताए। पहिलेको तुलनामा यात्रुको चाप ४० देखि ५० प्रतिशतसम्म कमी आएको उल्लेख गर्दै उनले भने, 'नरायणगढ–मुग्लिन सडक सञ्चालनमा आएसँगै यात्रुको चापमा कमी आएको छ।'

भरतपुर विमानस्थलबाट पहिला दैनिक एक हजारको हाराहारीमा यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले सो संख्या घटेर ५७५ मा झरेको छ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्