१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महानगरका सडक : नाम मात्रको व्यवस्थापन 

विद्या राई

काठमाडौँ — त्रिपुरेश्वरमा फुटपाथ र सडक अवरुद्ध हुने निर्माण सामाग्री तथा फोहोर पदार्थ थुपारेको भन्दै काठमाडौ महानगरीय प्रहरीले दुईजनालाई नियन्त्रणमा लियो ।

महानगरका सडक : नाम मात्रको व्यवस्थापन 

केहिदिन अघि देखि थुपारेको पदार्थ नहटाएपछि प्रहरीले बुधबार ११ बजे उनीहरुलाई नियन्त्रणमा लिएको नगरप्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक विष्णु जोशीले बताए ।


फोहोर पदार्थ एक टिपरजति छ । उनीहरुलाई सोधपुछ गर्दा यसबारे थाहा नभएको बताए । जोशीले दुवैको भनाईलाई उद्धृत गर्दै भने, ‘दैनिक ज्यालामा काम गर्छौ, नयाँ काम पाएर आएका हौ, काम दिने मान्छेले यहि भेट हुने फोन भनेको थियो, ऊ आइनपुग्दै नियन्त्रणमा लिनुभयो ।’


उनीहरुले काम दिने मान्छे,कार्यालको ठेगाना र नियमसम्बन्धि अनविज्ञ रहेको जवाफ दिएका थिए । प्रहरीले जिम्मेवार व्यक्ति पत्ता लाग्ने आँकलनले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पत्ता नलाग्ने भएपछि उनीहरुलाई छाडिदियो । फोहोर पदार्थ जस्ताको तेस्तै थुप्रिएको छ ।


महानगरीय प्रहरीले चौपाया नियन्त्रण लिएको भोलीपल्टै त्रिपुरेश्वर खण्डको सडक पेटीमा भेटिएको गाई । तस्बिर : विद्या राई/कान्तिपुर


यसैगरी प्रहरीले गत मंगलबार महानगरका सडकमा जथाभावी छोडिएका ३७ वटा चौपायाहरुलाई नियन्त्रणमा लियो । पेप्सीकोला देखि सोल्टीमोड र एयरपोर्टदेखि लाजिम्पाटसम्मको सडक खण्डमा भेटिएका चौपाया महानगरीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।


सडकहरु अवरोधरहित, स्वच्छ, स्वस्थ, सुन्दर राख्ने महानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार बाधक पक्षहरुलाई नियन्त्रणमा लिने गरेको छ । महानगरपालिकाको आदेशमा महानगरीय प्रहरीले स्थलगत रुपमा कारबाही गर्दै आएको छ । ‘ सडक अवरुद्ध गर्ने र अवरोध गर्न लगाउने सबैलाई ठाउँका ठाँउ कारबाही गर्दै आएका हौँ, गर्दैछौँ र गर्नेछौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने ।


वर्षेनी यस्ता कार्यक्रम गरेपनि प्रभावकारी भने नभएको सर्वसाधारणको गुनासो छ । ‘सडकका पेटीमा ढुगां, माटो जतापनि थुपारेकै हुन्छ, नअटिनटि मान्छे, वस्तुभाउ उस्तै हुन्छन्,’ बल्खुका श्याम श्रेष्ठले भने । सडक पेटीहरुमा यात्रुहरुलाई हिँड्न अवरोध पुग्नेगरी पसल राख्न पाइदैन । तर महानगर नजिकैको आरएनएसी अगाडि पसल राखिएका हुन्छन् ।

चौपाया जथाभावी छाडिदा पैदल यात्रुहरुलाई पेटीमा हिड्ँन असहज हुन्छ । सडकमा सवारी साधनहरुलाई आवतजावत गर्न कठिन हुन्छ । दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गरेको छ । जथाभाबी छोडिएका चौपायाले सडक र फुटपाथमा दर्गन्ध र फोहारे फैलने गरेको छ ।


प्रहरीले नियन्त्रणका कदम पटक पटक चालेपनि दीर्घकालिन प्रभाव भएको पाइदैन । जस्तो त्रिपुरेश्वरकै निर्माण सामाग्री र फोहोरको सन्दर्भमा पनि नियन्त्रणमा लिइएकाहरुले अनविज्ञ बताएकै आधारमा छाडिए । कसले थुपार्‍यो भन्ने थप अनुसन्धानपट्टि प्रहरीले ध्यान दिएन ।


चौपायाहरु बेलाबेला नियन्त्रणमा लिएको भोलिपल्टै फेरी सडकमा भेटिन्छन् । कहाँबाट आउँछन्, कसले छोड्छन् भन्ने थप सोधीखोजी न त महानगरले गर्छ न त प्रहरीले नै । सडक पेटीका पसल र सामान जफत गरिन्छन् । भोलीपल्ट उस्तै हुन्छ । सर्वसाधारणमा चेतनाको कमी र अटेरीपनाले गर्दा सबैलाई चित्तबुझ्दो कार्यान्वयन गर्न नसकेको प्रहरी नायब उपरीक्षक जोशी बताउँछन् ।


कार्यान्वयन निकायको काम आखाँमा छारो हाल्ने सरह भएकाले दीर्घकालिन प्रभाव नदेखिएको सर्वसाधारण बताउँछन् ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?