२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारतमा सम्पादकको हत्या

नयाँदिल्ली — जम्मु–कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कश्मीर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको छ । श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय बुखारीमाथि गोली प्रहार भएको हो ।

भारतमा सम्पादकको हत्या

जम्मु–कश्मीरका डीजीपी एसपी वैदका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारी र उनका निजी सुरक्षा अधिकृतको मृत्यु भएको हो । अर्का एक व्यक्ति घाइते छन् ।

जम्मु–कश्मीरकी मुख्यमन्त्री मेहबुबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन् । उनले ट्वीटमा भनेकी छन्, ‘सुजात बुखारीको हत्या आतंकवादको जघन्य कार्य हो, इदको पूर्वसन्ध्यामा यो आक्रमण गरिएको छ । शान्ति बहालीलाई असफल पार्ने प्रयासविरुद्ध हामी एकजुट हुनु जरुरी छ ।’ भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि बुखारीमाथिको आक्रमण कायरतापूर्ण कार्य भन्दै भत्र्सना गरेका छन् । कंग्रेस अध्यक्ष राहुल गान्धीले पनि हत्याप्रति दु:ख व्यक्त गरेका छन् ।

सम्पादक बुखारीमाथि सन् २००० मा पनि आक्रमण भएको थियो । त्यसयता उनलाई राज्यले प्रहरी सुरक्षा उपलब्ध गराएको थियो । कश्मीरमा शान्ति बहालीका लागि उनी लामो समयदेखि सक्रिय थिए । उनले आफ्नो अन्तिम ट्वीटमा भनेका थिए, ‘कश्मीरमा हामीले गर्वका साथ पत्रकारिता गरिरहेका छौं, यहाँ जे भइरहेको छ, हामी त्यसलाई जनसमक्ष ल्याई नै रहनेछौं ।’

प्रकाशित : असार १, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?