२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

ट्रेड युनियनमा देउवा र पौडेल समूहको भिडन्त 

आफ्नो प्यानल ल्याउन नेताहरु नै प्रचारमा 

काठमाडौँ — ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्व चयनका लागि केही छिन अघिबाट मतदान सुरु भएको छ । १७ पदाधिकारी सहित ४१ सदस्य निर्वाचनका लागि मतदान भएको हो । मतदानमा कांग्रेस संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षले आ-आफ्नो प्यानलनै मैदानमा उतारेका छन् । 

ट्रेड युनियनमा देउवा र पौडेल समूहको भिडन्त 

मैदानमा युनियनका नेताहरु भीडे पनि बाहिर शीर्ष नेताहरु नै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रचार भड्किलो देखिएको छ ।

संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच युनियनको नेतृत्व कसले लिने भन्नेमा तीव्र प्रतिस्पर्धा चलेको छ । शीर्ष नेतृत्वदेखि अधिकांश केन्द्रीय सदस्यहरु आ–आफ्नो प्यानलका उम्मेदवारलाई जिताउन निरन्तर खटिएका छन ।


संस्थापन पक्षबाट खिला दाहाल र संस्थापन इतर पक्षबाट पुष्कर आचार्यको प्यानल चुनावी प्रतिस्पर्धामा छ । दाहाल हालका सभापति समेत हुन । आचार्य यसअघि पराजित भएका युनियनका नेता हुन् ।


नेपाल शिक्षक संघ र कर्मचारी युनियनपछि ट्रेड युनियन कांग्रेस आफ्नो पक्षमा ल्याउन पार्टी पार्टी सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता पौडेलपक्षबीच तिव्र ध्रुविकरण भएको छ ।


प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टी पराजित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई कमजोर बनाउन बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता अर्जुननरसिंह केसी सहितका संस्थापन इतर पक्ष एकजुट बनेका छन । ट्रेड युनियनमा पनि संस्थापन पक्षको प्यानल हराउन यी सवै एकजुट भएर लागेका छन् । संस्थापन इतर पक्षले यसअघि शिक्षक संघ र कर्मचारी युनियन जितिसकेका छन् । यी दुवै भातृसंस्था अधिवेशन अघि संस्थापन पक्षमा थियो ।


भातृसंस्थाहरु आफ्नो पक्षमा पार्न सकेमा आगामी १४ औं महाधिवेशनमा देउवालाई कमजोर बनाउन सकिने बुझाई संस्थापन इतर पक्षका नेताहरुको छ । ठिक त्यसैगरी देउवा पक्ष आफ्नो बर्चस्य कायम राखीराख्न ट्रेड युनियनलाई आफ्नो पक्षमा ल्याउने कसरतमा छन् । सभापति देउवा स्यमं समेत आफ्नो पक्षको प्यानललाई जिताउन भिडेका छन् । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णवहादुर खडका, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की, सहमहामन्त्री प्रकाशरण महत, संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँड सहितका नेताहरु निरन्तर खटिएका छन् । संस्थापन इतरपक्षबाट पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरु खटिएका छन् ।


दाहाल नेतृत्वमा संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्षहरुमा बमवहादुर विसी, डीपी अर्याल, शंकर लामिछाने, युवराज लामा, नुरमहम्द रैन, महिला उपाध्यक्षमा कल्पना अधिकारी छन । महासचिवमा सञ्जय मिश्र, उपमहासचिवहरुमा जनार्दन निरौला, काजीमान श्रेष्ठ, रन्जन थापा, धिरेन्द्र सिंह, आत्मराम पौडेल र महिला उपमहासचिवमा कमला लामिछाने, कोषाध्यक्षमा ऋसवदेव घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई छन् ।


आचार्य नेतृत्वमा संस्थापन इतर पक्षले बरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्षहरुमा तेजेन्द्रजंग कार्की, अजयकुमार राई ललित श्रेष्ठ, आशासिंह राठौर, उपाध्यक्षमा नेत्रविक्रम थापा, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा छन । महासचिवमा योगेन्द्र कुमार कुँवर, उपमहासचिवहरुमा गणेशवहादुर केसी, ज्योति कोइराला, राजेश पालिखे, ईश्वरबहादुर परियार, सीताराम अवस्थी, महिला उपमहासचिवमा राधिका कुईकेल, कोषाध्यक्षमा मोहनकुमार बस्नेत, सहकोषाध्यक्षमा सुशीला घिमिरे छन् । पदाधिकारीका अतिरिक्त अन्य २४ सदस्यका लागिपनि प्यानलनै उम्मेदवार बनेका छन् । ट्रेड युनियन कांग्रेसमा देशभरबाट १३ सय ७० मतदाता छन् ।

प्रकाशित : असार १, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?