कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

द्रुतमार्गको डीपीआर तयार गर्न पहिलो चरणमा छ कम्पनी चयन

भारत, चीन, जापान, दक्षिण कोरिया र स्विजरल्याण्डको कम्पनी डीपीआरमा इच्छुक 
६२ वटा पुल निर्माणका लागि १५ कम्पनीको प्रस्ताव
वर्षामा पनि काम निरन्तर

काठमाडौँ — तराई काठमाडौं जोड्ने द्रुतमार्ग (एक्सप्रेस वे)को विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन छ कम्पनी पहिलो चरणमा सूचीकृत भएका छन । एक नेपाली कम्पनीसहित १७ कम्पनीले डीपीआर तयार गर्न प्रस्ताव हालेका थिए । फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले यसको डीपीआर बनाउन साढे तीन महिनाको समय राखेर प्रस्ताव माग गरेको थियो ।

द्रुतमार्गको डीपीआर तयार गर्न पहिलो चरणमा छ कम्पनी चयन

छिमेकीद्वय भारत र चीनका साथै स्विजरल्याण्ड, दक्षिण कोरिया र जापानका कम्पनी पहिलो चरणामा छानिएका छन । चीनका दुई कम्पनी छन् । एउटा हङकङ र अर्को गोन्जाओ बेस कम्पनी चीनको छ । उनीहरुले अगामी ३५ दिनभित्र आफ्नो आशयपत्र सेनामा बुझाउनेछन् । सेनाको इन्जिनियरिङ विभागको प्राविधिक समितिले अध्ययन गरेर डीपीआर तयार पार्नका लागि राम्रो र कम बजेट प्रस्ताव गर्ने आशयपत्रवाला कम्पनी छान्नेछ । जसले गर्दा त्यो आशयपत्रमा कसले कस्तो बनाउछ भन्नेमा नै यसको निर्णय हुनेछ ।


एसियाली विकास बैंकले तयार गरेको अध्ययन प्रतिवेदन र सेनाको आफ्नो इन्जिनियरिङ अध्ययनका आधारमा द्रुत मार्गको काम अघि बढेको छ । अहिले डाँडा काट्ने, रेटेनिङ वाल र ड्रेन बनाउने, अस्थायी पुल राख्ने काम भइरहेको छ । २८ ठेकेदार कम्पनीमध्ये २२ वटाले यी काम अघि बढाइरहेका छन । चार कम्पनीले उपकरण उपलब्ध गराउनेछन् । दुई कम्पनीले खोकनामा देखा परेको विवादको कारण काम अघि बढाउन पाएका छैनन ।


भारतीय कम्पनीले आफूले तयार गरेको डीपीआरको अत्याधिक रकम ६४ करोड माग गरेपछि नेपाली सेनाले आफैले डीपीआर तयार गरेर काम पूरा गर्न नयाँ प्रक्रिया सुरु गरेको हो । भारतीय कम्पनीले पनि एसियाली विकास बैंकको अध्ययन अनुरुप नै डीपीआर तयार गरेकाले त्यही अनुरुप डीपीआर बनाउन तीन महिना काफी रहने निश्कर्ष सेनाको छ । सेनाको प्राविधिक टोलीले डीपीआरको अध्ययन गरेर २० करोडसम्म त्यसको आवश्यक भाग मात्र खरिद गर्ने जनाएपछि भारतीय कम्पनीले दिन अस्वीकार गर्‍यो ।


उच्चस्तरीय समन्वय समितिको अध्ययन अनुसार निर्णयमा पुगेको सेनाले जनाएको थियो । सेनाले त्यतिबेला आफैले डीपीआर तयार गर्दा पनि २० करोड नलाग्ने बताएको थियो । त्यो भन्दा कम रकममा नै नया डीपीआर बन्नु पर्ने धारणा सेनाका अधिकारीहरुको छ । दु्रत मार्ग चार बर्षमा सम्पन्न गर्ने जिम्मेवारी पाएको सेनाले सरकारले नीति तथा कार्यक्रममार्फत एक बर्ष अवधि थपिएपछि सेना उत्साहित भएको छ ।


सेनाले बाटो चौडा गर्नेलगायतको काम गरिरहेको छ । अहिले वर्षाको समयमा पनि काम भइरहको उल्लेख गर्दै सेनाका प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले भने, ‘अब डीपीआर तयार हुने र कामले थप गति लिदै जाने छ । अहिले १० स्थानबाट काम भइरहेको छ । सेनाले बर्षायाम भनेर काम कम गरेको छैन । यसमा ठेकेदार कम्पनीले पनि काममा कन्जुस्याई गरेका छैनन् । यी कामसँगै अब डीपीआरको काम समेत अघि बढनेछ’ उनले भने । यसअलावा उक्त सडक तयार गर्न सुरुङ पछिको ६२ वटा पुल निर्माणको लागि १५ कम्पनीले प्रस्ताव हालेका छन् । यसमा पनि आशयपत्र लिएर छनौट गर्दै समय सीमा तोकेर कामको जिम्मेवारी दिइनेछ ।


७६ किलोमिटरको उक्त द्रुत मार्गमा तीन किलोमिटर सुरुङ रहनेछ । उक्त सुरुङले पुलको संख्यासमेत घटाएको छ । पहिले सुरुङ छोटो रहेकोमा अहिले बढाएर पुलको संख्या घटाइएको हो । यो सडकले कान्ति राजपथलाई समेत छल्ने छ । यसले द्रुत मार्गको लम्बाई समेत घट्नेछ । काठमाडौंलाई तराईसँग जोड्ने रणनीतिक महत्वको सडकका रूपमा रहेको एक्सप्रेस वेलाई सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा अघि सारेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सेनालाई निर्माणको जिम्मेवारी २०७४ बैशाख २३ मा दिएको हो । सेनाले नै यसको ट्रयाक खोल्ने काम गरेकाले यसको बाँकी निर्माणको जिम्मासमेत उसैलाई दिइएको हो ।

प्रकाशित : असार १, २०७५ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?