१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जोडिँदै मेची–काली

मुलुकमै रेल यात्रालाई ‘सपना’ ठानिए पनि मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण तीव्र गतिमा भइरहेको छ । पूर्वपश्चिम राजमार्गकै समानान्तर रेल्वे ट्रयाक खोल्ने काम महोत्तरीको बर्दिवासदेखि सर्लाहीको लालबन्दीसम्म सकिएको छ ।
अजित तिवारी

जनकपुर — महोत्तरीको बर्दिवासस्थित सडक कार्यालयको एउटा भवनमा छ, रेल तथा मेट्रो विकास आयोजनाको कार्यालय । कार्यालयको भित्ताभरि अधिग्रहण गरिने जग्गाको सूचना टाँसिएको छ । कोठाको ढोकामाथि मार्करले मोबाइल नम्बर र मुनि कर्मचारीको नाम लेखिएको छ ।

जोडिँदै मेची–काली

‘फिल्डकै काम बढी भइरहेकाले कार्यालयमा आउने जग्गाधनीलाई सम्पर्क गर्न सजिलो होस् भनेर ढोकामै नाम र नम्बर लेखिदिएका छौं,’ आयोजनाका कर्मचारी कुमार भट्टराईले भने, ‘जग्गा अधिग्रहण र मुआब्जा बाँड्ने काम धमाधम भइरहेको छ ।’

मुलुकलाई जोडेको पूर्वपश्चिम राजमार्गकै समानन्तरमा विद्युतीय रेलमार्गको निर्माण थालिएको छ । ४ वर्षदेखि बर्दिवासबाट पश्चिम ट्रयाक निर्माण थालेको आयोजनाले मेची–महाकाली रेल्वे मार्गका लागि स्टेन्डरगेजको ट्रयाक खोलिरहेको छ । महोत्तरीको बर्दिवासदेखि सर्लाहीको लालबन्दीसम्म २५ किमि रेल्वेको ट्रयाक निर्माण भइसकेको छ ।

मुलुकमै रेलको यात्रालाई ‘सपना’ ठानिए पनि मेची–महाकाली विद्युतीय मार्गको निर्माण तीव्र पारिएको छ । नेपालमा काठ र ढुंगा ओसार्नका लागि न्यारोगेजको दुईवटा रेल सेवा थियो । एउटा, भारतको जयनगरदेखि जनकपुर हुँदै बिजलापुरसम्म । दोस्रो, भीमनगरदेखि कोसी नदीछेउ हुँदै सुनसरीको चतरासम्म रेल गुड्थ्यो । महोत्तरीका बिजलापुरको जंगलबाट काठ र चतरा नजिकको पहाडमा ढुंगा ओसार्न रेल कुदाइएको थियो । भारतमा शासन गरिरहेको तत्कालीन इस्ट–इन्डिया कम्पनीले बनाइदिएको यो दुवै रेलमार्गमा झुन्डिएर यात्रा गर्ने पनि थिए ।

दुई छिमेकी देश भारत र चीनमा रेलको विशाल सञ्जाल छ । रेल चढ्नकै लागि पनि छिमेकी देशको यात्रा गर्ने नेपाली धेरै छन् । नेपालमै रेल कुदाउने ‘सपना’ राजनीति दलका शीर्ष नेतृत्वले देखाएको पनि धेरै भयो । त्यसैले होला, अहिले पनि रेल कुदाउने राजनीतिकर्मीको भाषणलाई जनताले उतिसारो पत्याउँदैनन् । भारतको जयनगर–जनकपुर–बर्दिवास र बर्दिवास–लालबन्दी–वाग्मती करिडोरसम्म रेलमार्गका लागि भइरहेको निर्माणले नेपालीको रेल चढ्ने सपना छिट्टै पूरा हुँदै छ । रेल विभागका इन्जिनियर विनोदकुमार ओझाका अनुसार जयनगरदेखि कुर्थासम्म ५२ किलोमिटर रेलमार्ग अक्टोबर (कात्तिक) मै तयार हुँदैछ । स्लीपर र लिक ओछ्याए मेची–महाकाली रेलमार्गको बर्दिवासदेखि लालबन्दी खण्डमा पनि अक्टोबरमै रेल कुदाउन सम्भव छ ।

नेपालमा निर्माणाधीन रहेको मेची–महाकाली विद्युतीय रेलमार्ग भारतको सीमावर्ती पाँचवटा ठूलो रेल्वे जक्सनसँग जोडिनेछ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेला उनका समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच नेपालका पाँचवटा रुटमा दक्षिण–उत्तर रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार भारत सरकारकै लगानीमा जयनगर–जनकपुर–बर्दिवास ६९ किलोमिटर दक्षिण–उत्तर रेलमार्गको निर्माण जारी छ । पूर्वमा बथनाहा–कटहरी रेलमार्गका लागि ट्रयाक, प्लेटफर्म र हल्ट निर्माण भइसकेको छ । त्यहाँ पनि ट्रयाक ओछ्याउने काम जारी छ ।

न्युजलपाइगुँडी–काँकडभिट्टा, वीरगन्ज–पथलैया र सुनौली–बुटवल दक्षिण–उत्तर रेलमार्ग निर्माणका भारत पक्षले ढिलाइ गरेको छ । भारत सरकारले नै निर्माण गरिदिने सहमति भएको यी पाँचवटै दक्षिण–उत्तर रेलमार्ग मेची–महाकाली विद्युतीय रेलमार्गसँग जोडिनेछ । रेल्वेको विशाल सञ्जाल रहेको भारतसँग नेपालको रेलमार्ग सिधै जोडिएपछि त्यसको फाइदा दुवै देशलाई हुन्छ । पाँचवटा दक्षिण–उत्तर र पूर्व–पश्चिम गुड्ने सबै रेलमार्ग यात्रुवाहक र मालवाहक दुवै हुनेछ ।

सरकारले आफ्नै लगानीमा मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण थालेको छ । प्रतिकिमि ५० करोड रुपैयाँ खर्चमा रेलमार्गको २५ किलोमिटर ट्रयाक निर्माण भइसकेको छ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म निर्माण भइरहेको दक्षिण–उत्तर रेलमार्ग जोड्निे बिन्दुदेखि मेची–महाकाली रेलमार्गको ट्रयाक निर्माण गरिएको छ ।

महोत्तरीको बर्दिवासदेखि सर्लाहीको लालबन्दीसम्म २५ किलोमिटर ट्रयाक निर्माणको काम ८० प्रतिशत सकेको छ । आयोजनाको बर्दिवासमा रहेको कार्यालयले मुआब्जा वितरण गरेपछि लालबन्दीदेखि वाग्मती नदीसम्मको थप १८ किलोमिटर खण्डमा रेल्वे मार्ग निर्माणको काम थाल्नेछ । रेल आयोजनाका इन्जिनियर विश्व केसीका अनुसार मेची–महाकाली रेल्वे मार्ग पूर्वपश्चिम राजमार्गभन्दा बढीमा ५ किलोमिटर मात्रै दूरीमा रहन्छ । ५० मिटर चौडाइको मेची–महाकाली रेलमार्ग स्टेन्डरगेजको सिंगल ट्रयाक निर्माण गरिँदै छ ।

मेचीको काँकडभिट्टादेखि महाकालीको कञ्चनपुर, गड्डाचौकीसम्म विद्युतीय रेलमार्ग निर्माण गर्नेछ । सरकारले पूर्वको काँकडभिट्टादेखि मध्य नेपालको बुटवलसम्म रेलमार्गको डिजाइन तयार पारेको छ । बुटवलदेखि गड्डाचौकीसम्मको रेलमार्गका लागि डिजाइनको काम भइरहेको इन्जिनियर केसी बताउँछन् । ‘स्टेन्डरगेजको रेलमार्ग निर्माण गरिए पनि भारतको ब्रोडगेजसंग लिंकअप (जोड्न) गर्न समस्या हुँदैन,’ उनले भने, ‘भारतमा १६/३६ एमएमको ब्रोडगेज छ, नेपालको स्टेन्डरगेज १५/३६ एमएमको निर्माण भइरहेको छ ।’

नेपाल सरकारकै ३ अर्ब ३० करोड रुपैयाँ लगानीमा बर्दिवासदेखि लालबन्दीसम्म २५ किलोमिटर रेलमार्गको निर्माण सकिएको छ । २५ किलोमिटर रेलमार्गमा बनाइने ८ वटा पुलको निर्माण पनि सुरु भएको छ । इन्जिनियर केसीका अनुसार रेलमार्गमा निर्माण गरिने पुल र कल्भर्टका लागि छुट्टै ३ अर्ब ६० करोड रुपैयाँ खर्च गरिएको छ । ‘दुईवटा पुलको निर्माण जारी छ, बाँकी ६ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ,’ उनले भने, ‘पुलको निर्माण सकिएलगत्तै स्टेसन र हल्टको काम सुरु हुनेछ ।’ रेलमार्गअन्तर्गतै पर्ने सर्लाहीको लखनदेही र रौतहटको चाँदी खोलामा पनि पुल बनाउन ठेक्का सम्झौता हुँदै छ । रेल तथा मेट्रो विकास आयोजनाले लालबन्दीदेखि वाग्मती खोलासम्म रेल्वे मार्गको काम अगाडि बढाउन जग्गाको अधिग्रहण थालेको छ । १८ किलोमिटरको यो मार्गमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण भइरहेको छ । ‘मुआब्जा बाँडिएलगत्तै अर्को चरणको काम सुरु हुन्छ,’ इन्जिनियर केसीले भने, ‘रेल गुडाउन मिल्ने सबै संरचना बर्दिवासदेखि वाग्मतीसम्म छिट्टै निर्माण हुनेछ ।’

पूर्वपश्चिम राजमार्गनजिकै रेल्वे मार्गको स्टेसन र हल्ट निर्माण गरिने आयोजनाले जनाएको छ । ‘मेची–महाकाली रेल्वे मार्गको मुख्य स्टेसनहरू राजमार्गनजिकै बनाइनेछ,’ आयोजनाका प्राविधिक अजय यादवले भने, ‘रेल्वे मार्गलाई राजमार्गकै समानन्तरमा कुदाइनेछ ।’ मेची–महाकाली विद्युतीय रेल्वे मार्गको हरेक १० किलोमिटरमा यात्रु चढ्ने र ओर्लिने स्टेसन र हल्ट बनाइनेछ । यादवका अनुसार धेरैजसो ठाउँमा रेलको क्रसिङका लागि जक्सनसमेत निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गको सबैभन्दा नजिक १ र टाढामा ५ किलोमिटर पर मात्रै रेल्वे मार्ग निर्माण भइरहेको छ । विद्युतीय रेल्वे मार्ग ओछ्याउन पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा समस्या देखिएपछि बाराको सिमरा पुग्नुपर्ने मेची–महाकाली रेल्वे मार्गलाई निजगढबाटै हेटौंडा रि–रुट गरिने भएको छ । आयोजनाका अनुसार निजगढ–हेटौंडा–चितवन रेलमार्गका लागि डीपीआर (विस्तृत अध्ययन) भइसकेको छ ।

राजमार्ग छुँदै रेलमार्ग
भारतको ५ वटा रेल्वे मार्गसँग जोडिने नेपालको मेची–महाकाली रेल्वे सञ्जालका लागि जयनगर–जनकपुर खण्डमा स्लिपर र ट्रयाक ओछ्याउन थालिएको छ । निर्माणाधीन उत्तर–दक्षिण रेल्वे मार्गको ट्रयाक बर्दिवाससम्म ओछ्याएपछि पूर्वपश्चिम राजमार्ग भारतीय रेल्वे सञ्जालसँग जोडिनेछ । भारत सरकारले नै निर्माण गरिरहेको जयनगर–जनकपुर–बर्दिवास ६९ किलोमिटर रेल्वे मार्गको दुई खण्डको काम ८० प्रतिशत सकिएको छ । भारतीय रेल्वेको ठूलो जक्सन जयनगरसँग जोड्न नेपालमा निर्माण भइरहेको ६९ किलोमिटर रेल्वे मार्गअन्तर्गत ५२ किलोमिटरमा स्लिपर र ट्रयाक ओछ्याइँदै छ ।

३४ किलोमिटरको पहिलो खण्ड जयनगरदेखि कुर्थासम्मको रेलमार्गको सिभिल कन्ट्रक्सनको काम अक्टोबर (कात्तिक) सम्ममा सक्ने भारतीय निर्माण कम्पनीले जनाएको छ । रेल्वे विभागका इन्जिनियर ओझाका अनुसार १८ किलोमिटरको दोस्रो खण्ड कुर्थादेखि भंगहासम्म रेल्वे मार्गको सबै निर्माण सकिए पनि स्लिपर र ट्रयाक ओछ्याउन बाँकी छ । ‘रेल्वेमार्ग निर्माणको करिब ८० प्रतिशत काम सकिएको छ,’ इन्जिनियर ओझाले भने, ‘कहींकतै अवरोध र समस्या नहुँदा निर्माणले गति लिएको छ ।’

करिब ५२ किलोमिटर रेल्वे मार्गमा पुल, कल्भर्ट, स्टेसन भवन, प्लेटफर्म, स्टाफ क्वाटरको निर्माण भइसकेको छ । ६९ किलोमिटरको रेल्वे मार्गमा १ सय १२ वटा पुल र कल्भर्ट निर्माण गर्नुपर्छ । ८० देखि १ सय ३० मिटर फराकिलो बनाइएको यो रेल्वे मार्ग भने ब्रोडगेज हो । १९९४ मा भारत सरकारले नै निर्माण गरेको जयनगर–बिजलपुरा ५१ किलोमिटरको न्यारोगेज रेल्वे मार्गलाई ब्रोडगेजमा परिणत गरिएको छ ।

रेल्वे विभागले भंगहादेखि बर्दिवाससम्मको १७ किलोमिटर रेल्वे मार्गका लागि जग्गा अधिग्रहण गरेर भारतीय पक्षलाई हस्तान्तरण गर्न बाँकी छ । १७ किलोमिटरमा जग्गा अधिग्रहणका लागि रेल विभागले प्रक्रिया अगाडि बढाएको छ । सन् २०१० मा भारत सरकारले ५ सय ४८ करोड भारतीय रुपैयाँमा जयनगर(बर्दिवास रेल्वे मार्ग निर्माणका लागि इरकान इन्टरनेसनललाई ठेक्का दिएको छ ।

प्रकाशित : असार २, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?