कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ज्यानमारा’ प्रथा

संविधान भन्छ– महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन

सुर्खेत / अछाम — एसईई नतिजाको प्रतीक्षामा बसेकी अछाम, तुर्माखाँद गाउँपालिका–४, जयागाउँकी पार्वती बुढाको सपना पढेर समाजसेवी बन्ने थियो । उनी गाउँमै समाजसेवा गर्दै अपांगता भएका बुवाको स्याहार गर्न चाहन्थिन् । तर, शनिबार राति सर्पले डस्दा उनीसँगै उनको सपना पनि संसारबाट बिदा भयो ।

‘ज्यानमारा’ प्रथा

सपनालाई वियोगान्त बनाउने कारण बन्यो– छाउपडी प्रथा । महिनावारी हुँदा घरभित्र पस्न नमिल्ने कुप्रथाको कारण १८ वर्षीया पार्वती साथी राधिका बुढासँगै छाउगोठमा सुतेकी थिइन् । राति छानाबाट खसेको सर्पले उनको औंलामा विषबमन गर्‍यो । र, उपचार नपाउँदै उनको देह समाप्त भयो ।

छाउगोठ बस्दा किशोरी र वयस्क महिलाको मृत्यु हुने गर्छ । सर्पले डसेर, निसास्सिएर, चिसोले कठ्यांग्रिएर र बलात्कारजस्ता आपराधिक घटना भएर छाउगोठमा बसेकाहरू मृत्युको
मुखमा पुग्छन् । यो प्रथालाई निर्मूल पार्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट जति प्रयास भए पनि सार्थक परिणाम निस्कन सकेको छैन ।

पार्वती एक प्रतिनिधिपात्र हुन्, अछाममा छाउपडी प्रथाकै कारण बर्सेनि थुप्रै महिलाको ज्यान जाने गरेको छ । दसकयता १३ महिलाको मृत्यु भएको महिला तथा बालबालिका कार्यालय र प्रहरीको भनाइ छ । सार्वजनिक नभएका ‘मृत्यु’को संख्या पनि उत्तिकै छ । सुर्खेत, दैलेख, डोटीलगायत जिल्लामा पनि छाउगोठमा मृत्यु हुने महिलाको संख्या कम्ती छैन । शिक्षा र चेतनाको वर्तमान युगमा समेत कर्णाली र ७ नम्बर प्रदेशका ग्रामीण बस्तीमा छाउपडी प्रथा ‘ज्यानमारा रोग’का रूपमा बल्झिइरहेको छ ।

सुर्खेत, बाबियाचौरकी धनसरा नेपालीलाई महिनावारी हुँदा अहिले पनि बहिनीको मृत्युको घटनाले झस्काउँछ । करिब १२ वर्षअघि छाउगोठमा बसेकी उनकी बहिनी पार्वतीलाई सर्पले डसेर मृत्यु भएको थियो । धनसरालाई भने महिनावारी हुँदा छाउगोठ बस्नुपर्ने बाध्यताले छोडेको छैन । ‘नछुने भएका बेला घरभित्र पसेपछि देउता लाग्छ भन्छन्, गाउँघरमा चलिआएको परम्परा मान्नैपर्‍यो,’ उनी विवशता सुनाउँछिन्, ‘समय जति फेरिए पनि हाम्रा दु:ख फेरिएका छैनन् ।’

बाबियाचौरकी पार्वतीको मृत्युको करिब ६ वर्षपछि घाटगाउँमा अर्की पार्वती नेपालीको त्यसैगरी अकालमा ज्यान गयो । छाउगोठमा सुतेका बेला सर्पले डसेपछि उपचार नपाएरै उनको मृत्यु भएको स्थानीय सामाजिक कार्यकर्ता टीकाराम विक बताउँछन् । ‘गाउँघरमा छाउप्रथाका कारण महिलाले दु:खमात्र पाएका छैनन्, ज्यानसमेत गुमाएका छन्,’ उनी भन्छन्, ‘केही घटना बाहिर आए पनि थुप्रै घटना गाउँमै सेलाउने गरेका छन् ।’

अछाम र सुर्खेतका यी तीन पार्वतीजस्तै छाउगोठमा बस्दा विभिन्न कारणले किशोरीदेखि वयस्क महिलाको मृत्यु हुने गर्छ । सर्पले डसेर, निस्सासिएर, चिसोले कठ्यांग्रिएर र बलात्कारजस्ता आपराधिक घटना भएर छाउगोठमा बसेकाहरू मृत्युको मुखमा पुग्छन् । यो प्रथालाई निर्मूल पार्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट जति प्रयास भए पनि सार्थक परिणाम निस्किन सकेको छैन । अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी धर्म–संस्कृति र परम्परासँग जोडिएको प्रथा भएकाले यसको अन्त्य निकै चुनौतीपूर्ण रहेको बताउँछन् । ‘यसको एकमात्र उपचार भनेको नागरिकमा चेतनाको विकास गर्नु नै हो,’ उनी भन्छन्, ‘यसलाई समाजका सबै पक्षले मूलमुद्दा बनाउनुपर्छ ।’

तुलनात्मक रूपमा दैलेख चेतनशील जिल्लामा चिनिन्छ । तर, त्यहाँ पनि महिलालाई छाउपडी प्रथाको पीडाले छोडेको छैन । दुई वर्षअघि दैलेखको लैनचौरगाउँ निवासी २२ वर्षीया तुलसा शाही यही प्रथाको सिकार भइन् । घरदेखि केही टाढाको गोठमा सुतिरहेकी उनलाई विषालु सर्पले डस्दा मृत्यु भयो ।

अर्थहीन अभियान
केही वर्षअघि पश्चिम सुर्खेतका साथै अछाम र दैलेखका विभिन्न ग्रामीण बस्तीमा छाउपडी प्रथाविरोधी अभियान चल्यो । सो क्रममा थुप्रै छाउगोठ भत्काइए । अछामका १० स्थानीयतहमा रहेका ९१ मध्ये ३१ वटा वडा त छाउपडीगोडमुक्त घोषणा भइसकेका छन् । यही प्रथाका कारण महिलाको ज्यान जानेक्रम भने अझै रोकिएको छैन । छाउपडी प्रथा उन्मूलन अभियानमा सक्रिय अधिकारकर्मी पशुपति कुँवर गैरसरकारी संघसंस्थाले जति अभियान चलाए पनि मान्छेको मानसिकता परिवर्तन नहुँदासम्म यसको अन्त्य असम्भव हुने बताउँछिन् । ‘घोषणा अभियानहरू हचुवाका भरमा चलिरहेका छन्, यसमा समाजका अगुवाकै सहयोग छैन,’ उनी भन्छिन्, ‘सबै मिलेर समाजको तल्लो तहसम्म चेतना फैलाउनुपर्छ ।’


पश्चिम सुर्खेतका विभिन्न गाउँमा समेत अभियानका क्रममा छाउगोठ भत्काउने क्रम जोडतोडका साथ चल्यो । तर, विडम्बना ! गैससले आफ्नो अभियान छोडेर फर्केलगत्तै धमाधम छाउगोठ ठडिन थाले । ‘सस्तो लोकप्रियताका लागि एनजीओसँगै मिलेर थुप्रै स्थानीय महिलाले पनि आफ्ना छाउगोठ भत्काए,’ दैलेख, राकमका प्रकाश शाहीले भने, ‘तर संघसंस्थाको कार्यक्रम सकिनेबित्तिकै तिनै महिलाहरू भत्केका छाउगोठ पुनर्निर्माण गर्न थाले ।’ गैससहरू दिगो परिवर्तनभन्दा क्षणिक परिणाम पाउने कार्यमा लाग्दा यस्तो अवस्था देखिएको उनले बताए ।

अछाममा त छाउपडी प्रथा अन्त्यका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाबाट हुने खर्चसमेत ‘बेहिसाब’ छ । कुनै पनि निकायसँग कहाँ, कति, कुन शीर्षकमा खर्च भयो भन्ने यकिन तथ्यांक पाउन मुस्किल छ । अभियानको नाममा गोष्ठी, अन्तक्र्रिया गरेर प्रतिवेदन पेस गरी बजेट सक्ने काम भएको स्थानीय आरोप लगाउँछन् । ग्रामीण क्षेत्रमा महिनावारी हुँदा घरदेखि अलग्गै बस्नका लागि बनाइएको कटेरोलाई छाउगोठ भन्ने गरिन्छ । यस्तो बेला घरभित्र पस्दा देउता लाग्ने, अशुभ हुनेजस्ता अन्धविश्वासले छाउप्रथालाई पश्रय दिएको स्थानीय बताउँछन् ।

नेपालको संविधानको धारा ३८ मा ‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन’ भनिएको छ । तर, महिलाले छाउपडी प्रथाकै कारण विभेद र शारीरिक तथा मानसिक पीडामात्र होइन, ज्यानसमेत गुमाइरहेका छन् । सुर्खेतमा कार्यरत अधिवक्ता दुर्गाप्रसाद सापकोटा राज्यले संवैधानिक रूपमै गरेको व्यवस्थालाई कडा कानुन र आवश्यक बन्दोबस्त मिलाई कार्यान्वयन गर्नुपर्ने बताउँछन् । उनका अनुसार भदौ १ देखि लागू हुने देवानी र फौजदारी संहितामा छाउपडीलाई निषेध गरी अपराधीकरण गरिएको छ । ‘छाउपडीलगायत मानव सभ्यतालाई पछि धकेल्ने कुप्रथा अन्त्य गर्नु सबैको दायित्व हो,’ उनी भन्छन्, ‘यसका लागि राज्य अरूभन्दा बढी जिम्मेवार हुन आवश्यक छ ।’

यद्यपि, यो प्रथाको निरन्तरतामा घरपरिवार र समाज बढी जिम्मेवार देखिएका छन् । शिक्षित व्यक्ति र प्रथाविरुद्धका अभियानकर्ताहरू नै घरभित्र छाउपडीविरुद्ध बोल्न सक्दैनन् । छाउपडी प्रथाका कारण मृत्यु हुँदासमेत उनीहरू घटनालाई अन्यत्रै मोडछन् । पार्वती बुढाको मृत्यु यसको ज्वलन्त उदाहरण हो । घरपरिवार र समाजले अन्य कारणबाट मृत्यु भएको भन्दै ढाकछोप गर्न खोजे पनि वास्तविकता सार्वजनिक भएपछि चार दिनपछि शव उत्खनन गरी पोस्टमार्टम गरिएको छ । सुरुमा जनप्रतिनिधिले समेत छाउगोठमा बसेका कारण मृत्यु भएको तथ्य स्विकारेका थिएनन् ।

अछाममा १० वर्षमा १३ महिलाको मृत्यु भएको छ । अधिकांश घटना सर्पले डसेर, निसास्सिएर, चिसोले कठ्यांग्रिएर, आगोले पोलेर भएका छन् । मृतकहरू निम्न छन्– पार्वती बुढा (२०७५ जेठ २७, तुर्माखाँद), गौरी बुढा (२०७४ पुस २३, तुर्माखाँद), रोशनी तिरुवा (२०७३ पुस ३, गाज्रा), डम्मरा उपाध्याय (२०७३ मंसिर ४, तिमिल्सैन), शर्मिला भुल (२०६९ पुस ४, रिडिकोट), लक्ष्मी बुुढा (२०६८ माघ १९, ढकारी), झुमादेवी शाही (२०६८ माघ १, बारला), डिक्रादेवी ढकाल (२०६७ साउन ४, वीरपथ), रतनदेवी विक (२०६३ माघ, पायल), झुप्री ढोली (२०६७ फागुन ९, पायल), पार्वती दमाई (२०६५ भदौ ९, पायल), हंसा जैसी (२०६४ असाढ २१, नाडा) र हंसदेवी जोशी (२०६६, रानीवन) ।

छाउगोठ छाडे महिलाले

कालिकोट– १४ वर्षको उमेरमा पहिलोपटक छाउ (महिनावारी) भएपछि गोठमा बस्न सुरु गरेकी थिर्पु, चुलाकोटकी ३५ वर्षीया रुगु विश्वकर्मा फागुनदेखि छाउगोठ छाडेर घर बस्न थालिन् । गोठमा बस्दा सधैं सर्पले टोक्छ कि भन्ने डर हुने रुगुले अचेल घर बस्न पाएपछि ढुक्कले सुत्न पाएकी छन् ।

‘छुइ पालो (महिनावारीको समय) आएपछि सुत्नकै डर हुन्थ्यो,’ १२ वर्षको उमेरमा विवाह गरेर चार छोरा र तीन छोरी जन्माएकी रुगुले भनिन््, ‘घरमा सुत्दा देउता रिसाउँछन् भन्ने गलत रै’छ ।’ गोठ छाडेर घर बस्दा देउता रिसाउँछन्, घरपरिवार र आफैं बिरामी परिन्छ भन्ने सुनेकी रुगुले फागुनमा गाउँटोलमा भेला भएका अन्य महिलासँगै महिनावारीका बेला पनि घरमै बस्ने प्रतिबद्धता गरेकी थिइन् ।

छाउगोठमा बस्दा पाँच वर्षअघि गोठमै सर्प आएपछि आगो बालेर भगाएको सुनाउने सोही गाउँकी सम्फु विकले पनि छाउगोठ छाडेकी छन् । ‘पहिले बुढा (पति) पनि घरमै बस्छु भन्दा कराउँथे,’ २७ वर्षीया सम्फुले भनिन्, ‘घरमा बस्दा पनि केही नभएपछि अहिले गोठमा बस्न छाडें ।’

रुगु र सम्फु मात्र होइनन्, चुलाकोटका सबै महिलाले छाउगोठ त्यागेका छन् । उनीहरूले महिनावारी भएपछि तीन, पाँच र सात दिनमा नुुहाउने पनि गर्छन् । घर परिवारसँगै बसेर एउटै भान्सामा खाना खान्छन् । देउता पनि कसैलाई नलागेको उनीहरूको भनाइ छ ।

प्रकाशित : असार २, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?