२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतीय धूले आँधीका कण नेपाल छिरेपछि भयो 'हिले वर्षा' !

धूलोका कण हानिकारकः विज्ञ

काठमाडौँ — भारतको राजस्थान, लखनऊ, उत्तरप्रदेशको धूले आँधी (डस्ट स्ट्रम) का कणहरु नेपाली वायुमण्डलमा छरिएपछि धमिलो वर्षा भएको विशेषज्ञहरुले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार राजस्थान, दिल्ली र लखनउमा केही दिनदेखि बेगले धुले आँधी आएको र उत्तर प्रदेश हुँदै नेपालको दक्षिणतिर प्रवेश गरेको वायुमा आँधीका कण फैलिएकाले वर्षा धमिलो भएको हो ।

भारतीय धूले आँधीका कण नेपाल छिरेपछि भयो 'हिले वर्षा' !

‘भारतीय हुरीसँगै नेपाल प्रवेश गर्ने वायुले धूलो हाम्रो वायुमण्डलमा ल्यायो,’ पौडेलले कान्तिपुरसित भने, ‘धूलोले भरिएको वायुमण्डलमा वर्षा भएपछि माटो मिसिएर वर्षा हुन पुग्यो ।’ हाम्रोतिर उपल्लो वायुमण्डलमा दक्षिण-पश्चिम वायु चलेको थियो । त्यहीबीचमा भारततिरबाटसमेत वायु थपिएपछि आँखाले देख्न नसकिने कणको मात्रा नेपालतिर आएको उनले उल्लेख गरे ।


‘त्यहाँ (भारत) बाट आएको हल्का तैरिने खालको कणहरु हावाले बोकेर लेरायो,’ उनले थपे, ‘हामीकहाँ बादल बनिरहेको थियो । त्यो धूलो पानीसँग मिसियो अनि मैंलो खालको वर्षा भयो ।’ उनका अनुसार यस्तो समस्या झापादेखि कञ्चनपुरसम्मै छ । अध्ययनले ती कण चिल्लोखालको पाइएको बताए । ‘छाम्दा चिल्लोपना पाइएकाले ती कण हानिकारक छन् भन्ने पुष्टि हुन्छ,’ उनले भने ।


तराईका जिल्लासहित काठमाडौंमा पनि शुक्रवार रातिदेखि त्यस्तो समस्या देखिएको छ । आकाशबाटै धमिलो वर्षा भएको भनी सम्प्रेषण भएका समाचारको महाशाखाका विशेषज्ञहरुले खण्डन गरेका छन् । ‘विगतमा हिउँद याममा यस्तो धूलो आउँथ्यो,’ पौडेलले भने, ‘अहिले मनसुनमा आयो ।’


हिउँद याममा पनि धूलो र धुवा बढी आउँदा नेपाली वायुमण्डल दिउँसै अध्यारो हुने गरेको थियो । भारततिरबाट धुलोका कण आउने क्रम घट्दै गएको छ । ‘वर्षा भइरह्यो भने ती कणले केही असर गर्दैन,’ उनले भने ।

प्रकाशित : असार २, २०७५ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?