नेपाल–भारत नागरिक उड्डयन सहमति : तीनवटा हवाई रुट दुईतर्फी

सुरज कुवँर

काठमाडौँ — भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्ने भएको छ । भारतले काठमाडौंका लागि विराटनगर र जनकपुरको आकाश खुला गरेको छ । महेन्द्रनगर–नयाँ दिल्ली र जनकपुर–पटनाका दुई रुट पनि थप्ने सहमति गरेको छ ।

नेपाल–भारत नागरिक उड्डयन सहमति : तीनवटा हवाई रुट दुईतर्फी

महेन्द्रनगर र जनकपुर रुट भने ‘क्रसबोर्डर उडान’ का लागि मात्र हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिकको बिहीबारदेखि राजधानीमा भएको दुईदिने वार्तामा अन्तर्राष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउने सहमति भएको हो ।

भारतले पूर्वमा विराटनगर, जनकपुर र पश्चिममा महेन्द्रनगरको आकाशबाट विमानलाई नेपाल प्रवेश गर्न दिने

यसअघि काठमाडौंबाट उड्ने ठूला विमान दक्षिण, पश्चिम र पूर्वतर्फ रहेका मुलुक जाँदा महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगर नाकाबाट भारतीय हवाई रुट भएर निस्किन पाउँथे । यी रुट एकतर्फी मात्रै भएकाले ठूला विमान नेपाल छिर्न भने पाउँदैनथे । यी रुटलाई दुईतर्फी बनाउन भारत सहमत भएको हो ।


प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार अब विराटनगर र जनकपुरबाट ठूला जेट विमान प्रवेश गर्न सक्नेछन् तर महेन्द्रनगरबाट क्षेत्रीय उडान भर्ने मझौला विमानले मात्रै प्रवेश गर्न पाउने छन् । ‘दिल्ली हुँदै आउने ठूला विमानलाई महेन्द्रनगरको आकाश भएर प्रवेश गराउन प्रस्ताव गरेका थियौं तर भारतीय पक्षले अहिले साना विमानका लागि मात्रै सहमति जनायो,’ उपमहानिर्देशक पोखरेलले भने ।


यो सहमतिपछि अब नेपालगन्ज पश्चिमका धनगढी र सुर्खेतबाट भारतको दिल्लीलगायत क्षेत्रीय सहरको उडानका लागि बाटो खुला भएको छ । यसअघि काठमाडौंबाट महेन्द्रनगरको आकाश हुँदै दिल्ली तथा मध्यपूर्वी र पश्चिमी मुलुक जाने मात्रै हवाई बाटो थियो । लिमा–६२६ नाम दिइएको यो बाटो दुईतर्फी थिएन । ठूला विमानको दाँजोमा कम उचाइमा उडान गर्ने वायुयानले अब महेन्द्रनगरबाट पश्चिमी मुलुकका क्षेत्रीय सहरमा उडान भर्न सक्ने छन् ।


‘पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि मौजुदा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाइने’ नागरिक उड्डयन प्राधिकरणद्वारा शनिबार जारी विज्ञप्तिमा लेखिएको छ, ‘दुवै पक्षले उडान सुरक्षा मूल्यांकन त्यसका आधारमा लागू गर्ने ।’विराटनगर र जनकपुरबाट प्रवेश हुने विन्दु दुईतर्फी हुने भएको छ । ‘दुवै पक्षबीच भएको सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्यांकनका आधारमा उक्त रुटबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने,’ प्राधिकरणद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।


पूर्वी सहरबाट पनि भारतीय प्रान्त तथा क्षेत्रीय सहरमा उडानका लागि बाटो खुलेको छ । भैरहवास्थित गौतमबुद्ध, पोखरा र निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी उचाइमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानले पश्चिममा नेपालगन्ज र महेन्द्रनगरबाट प्रवेश गर्न पाउने सहमति भएको छ ।


यसबारे भारतीय पक्षले सन् २०१८ सेप्टेम्बरभित्र विस्तृत प्राविधिक मूल्यांकन कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । यो कार्य सम्पन्न भएपछि नयाँ विमानस्थलको हवाई बाटो खुल्नेछ । अहिले भारत हुँदै नेपाल आउने विदेशी एयरलाइन्सले नेपाल प्रवेश गर्नुपरे भारतसँग जोडिएका दुइटा मात्रै विन्दु छन् । कोरिया, मलेसिया, हङकङ, बंगलादेशबाट आउने विमान सिमरा हुँदै प्रवेश गर्छन् । भुटानबाट आउने विमान तुम्लिङटारको आकाशबाट छिर्छन् । उत्तरतर्फ ल्हासाबाट आउने चिनियाँ विमानका लागि एउटा रुट छ । नोनिम नाम दिइएको संखुवासभातर्फको त्यो दुईतर्फी रुट हो ।


ल्हासाबाट आउने र जाने विमानले यो रुट प्रयोग गर्छन् ।काठमाडौंबाट उडेका विमानले भारततर्फ जानुपरे इलाम हुँदै मेची रुट र बंगलादेशलगायत पूर्वी मुलुक जानुपरे विराटनगर रुट प्रयोग गर्नेछन् । त्यसैगरी जनकपुर हुँदै कोलकाता र पटना, सिमरा हुँदै वनारस, भैरहवा हुँदै लखनउ, महेन्द्रनगर हुँदै दिल्ली र त्यसभन्दा परका मुलुक जान्छन् । दुई मुलुकका प्राविधिकले गरेको सम्झौता कार्यान्वयन हुन कम्तीमा एक वर्ष लाग्ने जानकारी उपमहानिर्देशक पोखरेलले दिए ।

प्रकाशित : असार २, २०७५ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?