३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मानसरोवर जान रसुवागढी

रसुवा — कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि रसुवागढी नाका सस्तो र सहज बन्दै गएको छ । यसै कारण यो नाका भएर मानसरोवर जाने भारतीय तीर्थयात्री बढेका छन् । अहिले यो नाकाबाट पर्यटकलाई मानसरोवर लैजाने १५ वटाजति ट्राभल र ट्रेकिङ एजेन्सी छन् ।

मानसरोवर जान रसुवागढी

हुम्लाको हिल्साभन्दा रसुवागढी नाकाबाट जाँदा प्रतिव्यक्ति ६५ हजार रुपैयाँजति सस्तो पर्ने अल्पाइन कैलाश ट्रेकका प्रबन्ध निर्देशक प्रदीप पण्डितले बताए । उनले भने, ‘सस्तो र सहज हुने भएकाले तीर्थयात्रीलाई रसुवागढी नाकाबाटै लैजान थालेका छौं ।’ काठमाडौंबाट नेपालगन्ज, सिमकोट, हिल्सा हुँदै मानसरोवर पुगेर फर्किंदा ११ दिन लाग्छ । प्रतिव्यक्ति २ लाख ७५ हजारसम्म खर्च हुन्छ । ‘रसुवागढी नाका हुँदै मानसरोवर पुगेर १४ दिनमा फर्किन सकिन्छ,’ पण्डितले भने, ‘प्याकेजमा एक जना बराबर करिब २ लाख १० हजार लाग्छ ।’ मानसरोवर जाने मुख्य सिजन मेदेखि सेप्टेम्बरसम्म हो ।

यो सिजनमा मे महिनाको १२ तारिखदेखि जुन १३ सम्म २ हजार १ सय २५ जना भारतीय तीर्थयात्री रसुवागढी नाका हुँदै मानसरोवर गएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मनोजकुमार पोखरेलले जानकारी दिए । ‘यहाँबाट मानसरोवर जानेको संख्या क्रमिक रूपमा वृद्धि हुँदै गएको छ,’ उनले भने । यसअघि मानसरोवर जान मुख्यगरी सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका प्रयोग हुँदै आएको थियो ।

भूकम्पले तातोपानी नाका बन्द भएपछि हिल्सा बढी चल्तीमा थियो । २०७४ भदौ १४ अगाडि तेस्रो मुलुकका नागरिकलाई रसुवागढी नाकाबाट आउजाउ गर्न अनुमति थिएन । चीन सरकारले रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिकका लागि पनि खुला भएको हो । रसुवागढी नाकाबाट मानसरोवर ६ सय ५० किलोमिटरजति दूरीमा पर्छ ।

प्रकाशित : असार ३, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?