१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

देउवा झन् कमजोर

प्रमुख तीन भ्रातृसंस्थामा पकड गुम्यो

काठमाडौँ — कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ । हालै सम्पन्न तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै गएको पुष्टि गरेको हो ।

देउवा झन् कमजोर

पार्टीको प्रभावशाली तथा सदस्य संख्या ठूलो भएको भ्रातृसंस्था ट्रेड युनियन कांग्रेसमा देउवाविरोधी खेमा एकलौटी विजयी भएको छ । १७ पदाधिकारीसहित ४१ पदमा शुक्रबार भएको निर्वाचनमा देउवापक्षीय प्यानलबाट एक सदस्य मात्रै निर्वाचित भए । सबै पदाधिकारीसहित अन्य सदस्य संस्थापनइतर पक्षले जितेको छ ।

डेढ महिनायता भएका अधिवेशनमा पार्टीका प्रभावशाली भ्रातृ तथा शुभेच्छुक संस्था नेपाल शिक्षक संघ र निजामती कर्मचारी संघसमेत देउवाले आफ्नो पक्षमा राख्न सकेनन् । जबकि यी तीनवटै भ्रातृसंस्थामा यसअघि बहुमतसहित देउवा पक्षको नेतृत्व थियो । तीनवटै भ्रातृसंस्था संस्थापनइतर पक्षले जितेपछि देउवालाई ठूलो झड्का मात्रै लागेको छैन, कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दासमेत बलियो बन्दै गएको छ । कांग्रेस नेता रामशरण महत तीनवटा भ्रातृसंस्थाको निर्वाचनले पार्टी नेतृत्वको लोकप्रियता घटेको र नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मुद्दा स्थापित भएको बताउँछन् ।

‘पार्टीको ठूलो पंक्ति शेरबहादुरजीको पक्षमा देखिन्न । शेरबहादुरजीकै पक्षमा रहेका राम्रा र असल मान्छेसमेत नेतृत्वको छविकै कारण बाहिर पर्ने स्थिति उत्पन्न भएको छ,’ महतले भने, ‘माथिल्लो तहका कार्यकर्ता र नेतालाई आफ्नो पक्षमा पार्न सके पनि तल्लो तहका लाखौं कार्यकर्ताको पंक्ति नेतृत्वको विपक्षमा देखिएको छ । अहिले भ्रातृसंस्थामा भएको निर्वाचन परिणाम नेतृत्वप्रतिको असन्तुष्टिकै प्रमाण हो ।’

तर देउवानिकट केन्द्रीय सदस्य एनपी साउद भ्रातृसंस्थामा पराजित हुँदैमा नेतृत्वको लोकप्रियता खुम्चने र नेतृत्व परिवर्तनको मुद्दा बलियो बन्ने कुरा अस्वीकार गर्छन् । ‘भ्रातृसंस्थाको निर्वाचन परिणाम पार्टीभित्रको शक्ति सन्तुलन र शक्ति संरचनासँग जोडिँदैन,’ उनले भने, ‘कमजोरी भएको भए विद्यमान भ्रातृसंस्थाकै निवर्तमान सभापतिको कमजोरी हुन्छ । पार्टी नेतृत्वसँग जोडिने विषय होइन ।’ नेतृत्व परिवर्तनको मुद्दा मुखरित गर्दै आएका युवा नेता गगन थापा भने अहिलेको भ्रातृसंस्थाको निर्वाचन सामान्य नभएर विशेष परिवेशमा भएको ठान्छन् । ‘यो निर्वाचन सामान्य अवस्थाको नभएर विशिष्ट अवस्थामा भएकाले यसको परिणामलाई पार्टी नेतृत्वसँगको सहमति र असहमतिका रूपमा बुझ्नुपर्छ,’ थापाले भने, ‘तीनवटा भ्रातृसंस्थाको अधिवेशनको परिणामले ठूलो पंक्ति नेतृत्व परिवर्तनको पक्षमा छ भन्ने स्पष्ट अभिव्यक्ति दिएको छ ।’

साउद नेतृत्वको प्रभाव हेर्न पार्टी र संसदीय फाँट नियाल्नुपर्ने बताउँछन् । ‘संसदीय दलमा व्यापक बहुमतका साथ शेरबहादुर देउवा निर्वाचित हुनुभयो, पार्टीमा पनि निर्वाचित सभापति हो,’ उनले भने, ‘मूल संरचना पार्टीको संसदीय फाँट । पार्टीको आन्तरिक फोरममा नेतृत्व परिवर्तनको मुद्दा औपचारिक रूपमा अहिलेसम्म उठेको छैन । उठ्न सकेको पनि छैन ।’

देउवा पार्टी र सरकारको दुवै मोर्चामा असफल भएको तर्क संस्थापनइतर पक्षको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजित भएपछि सभापति देउवाले त्यसको नैतिक जिम्मेवारी लिनसमेत अस्वीकार गर्दै आएका छन् । यसै विषयमा केन्द्रीय कार्यसमितिको बैठक दुई सातासम्म चलेको थियो ।

बैठकमा देउवाले नैतिक जिम्मेवारीसमेत लिन अस्वीकार गरेपछि निर्वाचन हारको जिम्मेवारी पूर्ण केन्द्रीय कार्यसमितिले लिएको थियो । पछिल्लो पटक प्रतिपक्षीय भूमिकामा समेत कांग्रेस कमजोर देखिएको छ । युवा नेता थापाका अनुसार निर्वाचन हारेपछि नेतृत्वको प्रस्तुतिले पार्टीलाई कमजोर बनाउने काम गरेको छ । ‘निर्वाचन भनेको एउटा चरण हो । पहिला पनि पार्टी हारेको हो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले हारेको पार्टीलाई सम्हालेर ल्याउनुभयो तर अहिले त्यस्तो देखिएन,’ उनले भने, ‘निर्वाचन हारे पनि जस्तो खालको प्रस्तुति देखिन थाल्यो, त्यसले यो नेतृत्वबाट पार्टीलाई अघि बढाउन सकिँदैन भन्ने निष्कर्षमा ठूलो तप्का पुगेको छ ।’

देउवाले गत बुधबार ट्रेड युनियन कांग्रेसको उद्घाटन सत्रमा ९२ वर्षका नेता मलेसियाका प्रधानमन्त्री भएको उदाहरण दिँदै आफू नेतृत्वबाट नहट्ने बताएका थिए । नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका नेतालाई १४ औं महाधिवेशनमा पनि आफैं उम्मेदवार हुने संकेत उनले दिएका छन् । उनको अभिव्यक्तिले पार्टीको पछिल्ला पुस्तालाई निराश बनाएको कांग्रेस नेताहरूको बुझाइ छ ।

‘बाहिरी समाजसँग देउवाको कुनै चिन्ता देखिएन । सरकार सञ्चालनमा समेत उनले विवादास्पद निर्णयहरू गरे, जसले पार्टीकै ठूलो जनमत उनको विपक्षमा देखियो,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘कहिले सात पटक प्रधानमन्त्री हुन्छु भन्ने त कहिले ९०/९२ वर्षसम्म पार्टीभित्र मै हुँ भन्ने भनाइले पनि देउवाविरोधी जनमत हावी बन्दै गएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भ्रातृसंस्थाहरूको निर्वाचनले पार्टीलाई जीवन्त बनाउने काम गरेको बताउँछन् । ‘भ्रातृसंस्थाका अधिवेशन हुन थालेका छन्, यसले पार्टीलाई जीवन्तता दिने हो,’ शर्माले भने, ‘यो र ऊ पक्ष भन्नुभन्दा पनि पार्टीको जागरणमा यसलाई उपयोग गर्नुपर्छ ।’

प्रकाशित : असार ३, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?