सर्वोच्चको आदेशबिरुद्ध रामेछापमा प्रदर्शन 

टीकाप्रसाद भट्ट

रामेछाप — बीपी राजमार्गमा ठूला ढुवानीका साधन चलाउन रोक लगाएपछि रामेछापमा खाद्यान्नका गोदाम रित्तिएको भन्दै व्यवसायी र सर्वसाधारणले रित्ता थाल ठटाउँदै आइतबार बिहान मन्थलीमा प्रदर्शन गरेका छन् । 

सर्वोच्चको आदेशबिरुद्ध रामेछापमा प्रदर्शन 

सर्वोच्च अदालतको अन्तरिम आदेशले खाद्यान्न ओसारपसार गर्ने बीपी राजमार्गमा मालबाहक गाडी संचालन रोकिएपछि १२ दिन देखि रामेछापमा खाद्यान्न लगायतका सामग्री ढुवानी हुन सकेको छैन । बर्षातका लागि भण्डारण गरेका सामग्री सकिएको व्यवसायीले बताएका छन् ।


तराईबाट पहाड जोड्ने एकमात्र राजमार्गमा सवारी संचालन रोकेपछि गोदाममा सामान थप्न नपाएको व्यवसायीले बताए । गोदाममा राखेका सामान सकिएपछि उनीहरुले आइतबार ‘खान पाउने अधिकार सुनिश्चिता’ को माग गर्दै रित्ता थाल ठटाएर प्रदर्शन गरेका हुन् ।


बजार बन्द गरी प्रदर्शनमा निस्किएका व्यवसायी र सर्वसाधारणले मन्थली बजार परिक्रमा गरेका थिए । स्थानीय देवकोटाचोकमा भएको कोणसभामा व्यवसायीका अगुवाहरुले सर्वोच्चले आदेश नसच्चिए रामेछापबासी भोकभोकै मर्नुपर्ने बताए । जिल्लामा आवश्यक पर्ने करिब ७० प्रतिशत खाद्यान्न वीपी राजमार्ग हुँदै भित्रिने गरेकोमा हाल उक्त मार्ग ठप्प हुँदा त्यसको असर जिल्लामा देखापरेको व्यवसायीहरुको दाबी छ ।


उक्त राजमार्गमा यस अघि ८ टन क्षमताका मालवाहक साधन संचालन हुँदै आएका थिए । ती साधनलाई समेत रोकेपछि ढुवानी ठप्प भएको हो । ४ टन क्षमताका साधनले ओसारेको भरमा जिल्लामा आवश्यक खाद्यान्न र अन्य सामग्रीको माग धान्न कठिनाइ हुने ब्यवसायी बताउँछन् । भूकम्पले भत्काएका संरचनाको पुननिर्माणका लागि साना सवारीमा फलामे छड ल्याउन सकिएको छैन ।


भूबनौंट र साँघुरा घुम्ती भएको जनाउँदै बीपी राजमार्गमा ठूला सवारीसधान संचालनमा रोक लगाउन परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै ठूला साधन संचालन नगर्न आदेश जारी गरेपछि रामेछापमा दिनहुँ आन्दोलन भइरहेको छ । शनिबार ढाकरसहितको जुलुस निकालेका थिए । सोमबार उनीहरुले अर्धनग्न जुलुुस निकाल्ने चेतावनी दिएका छन् ।

प्रकाशित : असार ३, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?